जेन–जी आन्दोलनमा ध्वंसको असर : टेन्टभित्रैबाट विराटनगर महानगरको त्रैमासिक समीक्षा गोष्ठी

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा आगजनी र तोडफोडले क्षति पुगेको भवन बस्न मिल्ने गरी अझै पुनर्निर्माण नभइसकेकाले विराटनगर महानगरपालिकाले टेन्टबाटै चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा गरेको छ ।  

जेन–जी आन्दोलनमा क्षति पुगेको मुख्य  र सहायक भवन अझै बस्न मिल्ने गरी पुनर्निर्माण नभइसकेकाले विराटनगर महानगरले चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासिक समीक्षा गोष्ठी आइतबार टेन्टभित्रै सञ्चालन गरेको हो ।  

पहिलो त्रैमासिक गोष्ठीमा विराटनगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल, वडाध्यक्षहरू महाशाखा र शाखाका प्रमुखहरूको सहभागिता थियो । गोष्ठीमा चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा महानगरबाट भएका कार्यप्रगति प्रस्तुत गरिएको थियो । 

पहिलो त्रैमासिक समीक्षा गोष्ठीमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतम, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौला, स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादव, भौतिक पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापा, आर्थिक प्रशासन महाशाखाका प्रमुख सञ्जीव भट्टराई, शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगाना, कानुन शाखाकी प्रमुख शारदा थपलियाले आ–आफ्ना शाखा र महाशाखाले गरेका कामको विवरण प्रस्तुत गरेका थिए । त्यस्तै, सामाजिक विकास महाशाखाकी प्रमुख मञ्जु लोहनी, भण्डारण शाखा प्रमुख अजय साह, विपत् तथा वातावरण शाखा र सूचना शाखाकी प्रमुख कमला निरौला, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले पनि आफ्नो महाशाखा र शाखाले साउनदेखि असोज मसान्तसम्म गरेका कार्यप्रगति प्रस्तुत गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए । 

विराटनगर महानगरले चालू वर्षको असोज मसान्तसम्म आन्तरिकतर्फ ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ राजस्व संकलन गरेको छ । तीन महिना अवधिमा ३५ वटा व्यवसाय दर्ता भए भने ३५ वटा खारेज भए । तीन हजार ५५ वटा व्यवसाय नवीकरण भए ।  

जेन–जी आन्दोलनका क्रममा महानगरको प्रशासनिक भवनसहित वडा नम्बर १ देखि १२ र १९ नम्बर वडामा आगजनी गरिएको थियो । जसका कारण सेवा प्रवाहमा समस्या देखिँदै आएको छ । स्थान अभावकै कारण विराटनगर महानगरले अझै टेन्टबाटै सेवा सञ्चालन गर्दै आएको छ ।  
 

सुझावित समाचार