घना बस्तीले घेरिएको नेपाल आयल निगमको धनगढीस्थित डिपो अन्यत्र सार्न स्थानीयले माग गरेका छन् । धनगढी उपमहानगरपालिका– ३, चटकपुरमा रहेको डिपोवरिपरिका स्थानीयले डिपो स्थानान्तरणको प्रक्रिया तत्काल सुरु नगरे दबाबमूलक आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।
डिपोले बस्ती जोखिममा परेको हुँदा अन्यत्र सार्नुपर्ने माग गर्दै स्थानीयले निगमको प्रादेशिक कार्यालय धनगढीमा ज्ञापनपत्र बुझाएका छन् । डिपोका कारण आफूहरू त्रासमा बस्नु परिरहेको उनीहरूको गुनासो छ । ‘डिपोसँग जोडिएका बस्ती अति जोखिममा छन् । दुर्घटनावश आगलागीको घटना भए ठुलो क्षति हुने देखिन्छ,’ शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाले भने, ‘डरैडरले बस्नु परिरहेको छ ।’
निगमको पर्खालसँगै दर्जनौँ घर जोडिएका छन् । डिपोनजिक बस्तीसँगै विद्यालय, आँखा अस्पताललगायत व्यापारिक भवनहरू छन् । इन्धन भण्डारण गर्ने डिपो बस्तीनजिक हुँदा आगलागीलगायतको जोखिम रहेको ओझाले बताए । ज्ञापनपत्र बुझाउँदै स्थानीयले १५ दिनभित्र माग सुनुवाइको प्रक्रिया अगाडि नबढाए दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओझाले दुई वर्षदेखि डिपो स्थानान्तरणको प्रक्रिया सुरु गरिएको भनिए पनि अहिलेसम्म परिणाम नआएको बताए ।
शुभकामना टोलमा मात्र ८७ वटा घर रहेको स्थानीयले बताएका छन् । इन्धन भण्डारण गरिएका ठुलाठुला ट्यांक नजिकै भएकोले घरमा आगो बाल्न पनि डराउनुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । डिपोअगाडिको ६ लेन सडकमा दैनिक सयौँ सवारीसाधन गुड्छन् । सडकमा ठुलो दुर्घटना भए निगमसमेत जोखिममा पर्ने देखिन्छ ।
वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले डिपोका कारण बस्ती जोखिममा रहेकाले यसलाई जतिसक्दो चाँडो बस्ती नभएको ठाउँमा सार्नुपर्ने बताए । धनगढी उपमहानगरको नगर सभाले पनि निगमको डिपो सार्नुपर्ने निर्णय गरिसकेको उल्लेख गर्दै उनले डिपो सार्न स्थानीय तहले आवश्यक सहयोग गर्ने बताए ।
निगमको डिपोमा १५ लाख ९० हजार लिटर डिजल, आठ लाख ३० हजार लिटर पेट्रोल र ७० हजार लिटर मट्टीतेल भण्डारण गर्ने क्षमता छ । डिपोको इन्धन राख्ने ट्यांकीबाट करिब १५–२० मिटरको दूरीसम्ममा घरहरू छन् । डिपो स्थापना हुँदा वरिपरि बस्ती नरहे पनि बिस्तारै बस्ती विस्तार भएको वडाध्यक्ष ऐरले बताए ।
निगमको भण्डारण क्षमता विस्तारसहित डिपो स्थापनाका लागि जग्गाको खोजी गर्दै आएको छ । निगमको प्रादेशिक कार्यालय धनगढीका प्रमुख हरिदत्त जोशीले डिपो स्थानान्तरणका लागि जग्गा पाइनसकेको बताए । ‘केन्द्रकै टिमले जग्गा खोजिरहेको हो, पाइएको छैन,’ जोशीले भने, ‘स्थानीयले बुझाएको ज्ञापनपत्र केन्द्रमा पठाएका छौँ ।’ निगमले कञ्चनपुरको पुनर्वास र कैलालीको हरैयामा डिपो स्थापनाका लागि जग्गा हेरेको थियो ।