नेपाल पुलिस क्लबले सोमबार पहिलो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि जितेको छ । दुधे रंगशालामा सोमबार भएको फाइनलमा पुलिसले अर्को विभागीय टोली एपिएफमाथि १–० को जित निकाली उपाधि चुमेको हो । जितसँगै पुलिसले १० लाख १० हजार र उपविजेता एपिएफले पाँच लाख रुपैयाँ पाएका छन् । पुलिसलाई उपाधि दिलाउन स्ट्राइकर मीना देउवा निर्णायक गोल गरेकी थिइन् । खेलको २२औँ मिनेटमा मीनाले पुलिसलाई १–० को अग्रता दिलाइन् । रेखा पौडेलले डिबक्सबाट गरेको प्रहार गरेको बल एपिएफकी डिफेन्डर सजनी थोकरबाट रिबाउन्स भएको थियो । सोही बललाई डिबक्सभित्र रहेकी मीनाले सहजै गोल गरिन् । फाइनलमा थप गोल नहुँदा उनकै गोल निर्णायक बन्यो ।
पुलिसका लागि यो जित उपाधि मात्र नभएर नयाँ इतिहास बन्न पुग्यो । पुलिसले नेपाली महिला फुटबलमा अपराजित रहेको एपिएफलाई चार वर्षपछि पहिलोपटक हराउन सफल भयो । गत वर्ष भएको राष्ट्रिय महिला लिगको पहिलो चरणमा एपिएफलाई पुलिसले बराबरीमा रोकेको थियो । ०७९ वैशाखमा कैलालीको धनगढीमा भएको प्रथम राष्ट्रिय मुख्यमन्त्री महिला गोल्डकपमा पुलिसले एपिएफलाई १–० ले पराजित गर्दै उपाधि उचालेको थियो । त्यसपछि पुलिसले एपिएफलाई हराउन सकेको थिएन ।
गत वर्ष माघमा भएको राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई पराजित गरेको थियो । त्यसअघि लिगको पहिलो चरणको खेलमा पुलिसँग बराबरी खेलेको एपिएफले दोस्रो चरणका दुवै खेलमा पुलिसलाई पराजित गरेको थियो । त्यसपछि भएको मकवानपुरको शहीद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप, लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता, बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता प्रतियोगितामा पुलिसलाई उपाधि उचाल्न एपिएफ बाधक बनेको थियो । त्यस्तै, गत वर्ष फागुनमा इलाममा भएको महिला गोल्डकप, गत भदौमा सिमराहमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता र चितवनमा भएको महिला फुटबल प्रतियोगितामा एपिएफले पुलिसलाई समिफाइनलमा रोकेको थियो । एक वर्षमा भएको यतिका प्रतियोगिताको हारको बदला लिँदै पुलिसले झापामा उपाधि जितेको हो ।
सोमबार भएको फाइनल खेलमा डिफेन्समा भएको सानो गल्तीमा पुलिसले गोल गर्दै एपिएफमाथि जित निकालेको हो । खेलभरि एपिएफले पुलिसलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा घरेलु प्रतियोगितामा पछिल्ला केही वर्षमा पहिलो पटक हारको अनुभव गर्न पुग्यो । सुरुवाती ११ मा सबै राष्ट्रिय महिला टिमका सदस्यसहित बेञ्चमा समेत केही राष्ट्रिय खेलाडी राखेर मैदानमा उत्रिएको एपिएफले पुलिसविरुद्ध नतिजा निकाल्न सकेन । उसले पाएको अवसरसमेत सदुपयोग गर्न नसक्दा एपिएफको अपराजित यात्रामाथि पुलिस बाधक बन्न पुग्यो ।
फाइनल खेलको प्लेयर अफ द म्याच हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
प्रतियोगिताकी सर्वोकृष्ट खेलाडी पुलिसकी मीना
केही समय अघि मात्र राष्ट्रिय महिला टिममा डेब्यु गरेकी पुलिसकी मीना देउवाले झापामा उत्कृष्ट प्रदर्शन गरिन् । उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता पनि हुन् । उनले प्रतियोगिताभर ७ गोल गरिन् । सर्वाधिक गोलकर्ताको उपाधिबापत उनले नगद २५ हजार रुपैयाँ पाइन् । उनी सर्वाधिक गोलकर्ता मात्र हैन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत बन्न सफल भइन् ।
सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै उनले नगद १ लाख ५० हजारसमेत प्राप्त गरिन् । यस्तै, प्रतियोगिताकी उत्कृष्ट गोलकिपर पुलिसकी उषा नाथ, उत्कृष्ट डिफेन्डर एपिएफकी मनमाया दमाई, उत्कृष्ट मिडफिल्डर एपिएफकी रेनुका नगरकोटी, उत्कृष्ट फरवार्ड एपिएफकी कप्तान अनिता बस्नेत, उत्कृष्ट प्रशिक्षक पुलिसका भोला सिलवाल र उदयमान खेलाडी आर्मीकी जेनिफर राना मगर बने । सबै विधागत पुरस्कार विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
व्यवस्थापनमा चुक्यो आयोजक
झापा महिला गोल्डकप आयोजक समितिले झापाको यो महिला गोल्डकपलाई सफल मान्दै आएको छ । सर्वाधिक पुरस्कार राशीको गोल्डकप दाबी गर्ने आयोजकले दर्शकको साथ पनि राम्रै पाएको छ । तर, दोस्रो सेमिफाइनदेखि भने अत्यधिक दर्शकको भिडले खेल सञ्चालनमा नै समस्या उत्पन्न हुँदै आएको छ । दोस्रो सेमिफाइनल र फाइनलमा भने व्यवस्थापनमा आयोजक चुकेको देखिन्छ । मैदानमा तारजाली नगर्दा दर्शक सीधै मैदानसम्म पुग्न सक्ने अवस्था थियो । फाइनलसम्म आइपुग्दा पनि आयोजकले यसको व्यवस्थापन गर्न सकेन । जसका कारण फाइनल खेलमा दर्शक अत्यधिक आउँदा रेफ्री अञ्जना राईलाई खेल खेलाउन हम्मेहम्मे प¥यो । दर्शकहरु टेक्निकल एरियासम्म नै पुग्दा खेल सुरुवात गर्न रेफ्री राईले करिब १५ मिनेट समय लगाइन् । बिचमा समेत पटकपटक खेल रोक्नुपर्ने अवस्था आयो । एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले व्यवस्थापन गर्न नसक्दा कर्नर र थ्रोइङा लागि खेलाडीले नै दर्शक हटाउनुपर्ने अवस्था आएको बताए । ‘अरू व्यवस्थापन चाहिँ धेरै राम्रो थियो । तर, ठाउँको व्यवस्थापन राम्रो हुन सकेन । टेक्निकल एरियासम्म नै मान्छेको भीड थियो । यसरी त खेल नै हुँदैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘मैदानमा दर्शक जान नसक्ने गरी बार लगाउनुपथ्र्यो । आगामी दिनमा यसलाई सुधार गर्नुपर्छ । सेक्युरिटी गाइडलाइन्स अपनाउनुपर्छ ।’
उपाधि विजेता पुलिसकाा प्रशिक्षक भोला सिलवालले आगामी दिनमा आयोजकले यस्ता गल्ती सुधार गर्नुपर्ने बताए । ‘यसरी त खेल नै हुँदैन । दर्शकको भीड टेक्निकल एरियासम्म हुँदा डर चाहिँ थियो । तर, दर्शक भलाद्मी भएर बस्नुभयो । यस्ता कुरा चाहिँ सुरुमै प्रोटोकल अपनाउनुपर्छ,’ उनले भने, ‘दर्शक उर्लिएको भए त कसैले रोक्न सक्ने अवस्था थिएन ।’
एपिएफलाई जित्ने धोको पूरा भयो ः भोला सिलवाल, प्रशिक्षक, नेपाल पुलिस क्बल
एपिएफजस्तो टिमलाई हराउनु हाम्रो लागि गर्वको कुरा नै हो । प्रतियोगिताको उपाधि जित्दा खुसी लागेको छ । हाम्रो कम्प्याक्ट टिम भएकोले यसपटक जित्नेमा मलाई विश्वास थियो । जित्छु जस्तो चाहिँ सुरुदेखि नै लागेको थियो । खेलाडीले मिहिनेत गरेर देखाए । यो जितको श्रेय खेलाडीलाई जान्छ । मेरो विभागलाई जान्छ । खेलाडीको मिहिनेतले सफलता हात परेको हो । मैले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि एपिएफलाई जित्ने धोको थियो । पूरा भएको छ । एकपटक जितेपछि त्यसले निरन्तरता पाउँछ भन्ने लागेको थियो । अबका दिनमा पनि जित्छौँ भन्ने आशा जागेको छ ।
पुलिस राम्रो टिम थियो: जीवेशकुमार पाण्डे, प्रशिक्षक, एपिएफ
फाइनल खेलमा हामीले योजनाअनुसार खेल्न सकेनौँ । हाम्रो अलिक तालमेल मिल्न सकेन । पाएका मौकालाई पनि सदुपयोग गर्न सकेनौँ । खेलाडीले दिएको जिम्मेवारी पूरा गर्न सकेनन् । हामीसँग सबै खेडी राम्रो थिए । हाम्रो डिफेन्समा भएको गल्तीले गोल खान पुग्यौँ । पुलिस टिम पनि राम्रो थियो । पुलिसले अर्गनाइज भएर राम्रो खेल खेल्यो । खेलमा हारजीत हुन्छ । त्यसलाई स्वीकार गरेर आगामी प्रतियोगितामा सुधार गरेर खेल्ने छौँ ।