रुपन्देहीमा प्रहरीले २३ लाखबराबरको अवैध मदिरादेखि मोबाइलका डिस्प्लेलगायतका सामान बरामद गरेको छ । प्रहरी टोलीले २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा ती सामान बरामद गरेको हो । भन्सार छली चोरी–पैठारी गरेको अन्दाजी २२ लाख ८८ हजार दुई सय २८ रुपैयाँबराबरको सामान आइतबार आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिप्रकाले जनाएको छ ।
जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रोहिणी गाउँपालिका वडा नं २ मैनिहवाबाट उलन लेडिज कुर्ता ८० पिस, बच्चाको मोजा ४८ जोर, बच्चाको टोपी १० पिस, बच्चाको ट्राउजर सेट १५ जोर, बच्चाको हुडी २४ सेट, जेन्स मोजा ३२ जोर बरामद गरेको छ । यी सामानको मूल्य एक लाख २५ हजार आठ सय अनुमान गरिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका शंखनगरमा भारतीय नम्बर प्लेटको कारको पछाडि सिटमुनि लुकाइछिपाइ बिलबिजक नभएका विभिन्न सामान बरामद गरेको छ । प्रहरीका अनुसार ती सामान कारसहित अन्दाजी मूल्य १८ लाख ४० हजार दुई सय २८ रहेको छ । यहाँ बरामद गरिएका सामानहरूमा ल्यापटप, पहेँलो रङको धातुबाट बनेको जस्तो देखिने गाई आकारको मूर्ति पाँच थान, विभिन्न नामका मदिराका नौ बोतल, विभिन्न मोबाइलका डिस्प्लेका प्याकेटलगायत रहेका छन् ।
त्यस्तै, प्रहरी चौकी शिवपुर गोनाहा र प्रहरी चौकी मर्यादपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले मायादेवी गाउँपालिका वडा नं ५ गोनाहाबाट लु.२२प १२५७ नं मोटरसाइकल, उलन लेडिज सुट ६० पिस, उनी सल १० पिस, ४ रोल काँचो कपडा, लेडिज बाक्लो उलन सुट १२ पिस, काँचो कपडा ३६ मिटर बरामद गरेको छ । यी सामानको मूल्य अन्दाजी तीन लाख २२ हजार दुई सय रहेको प्रहरीले जनाएको छ ।