रक्षा बम नेतृत्वको नेपाल जेन–जी फ्रन्टले साँखु क्षेत्रमा मतदाता सचेतना तथा मतदाता नामावली दर्तासम्बन्धी अभियान सञ्चालन गरेको छ। अभियानको नेतृत्व फ्रन्टकी सदस्य अमृता बनले गरेकी छिन्।
बनसहितको जेन–जी फ्रन्टको टोलीले घरघर पुग्दै नागरिकहरूलाई मतदाता दर्ताको महत्त्व र अनलाइनबाट समेत विवरण दर्ता गरी बायोमेट्रिक्सका लागि एपोइन्टमेन्ट लिन सकिने प्रक्रियाबारे जानकारी गराएको हो।
मतदाता दर्ता केवल एउटा प्रक्रिया मात्र नभई नागरिकको अधिकार र जिम्मेवारी दुवै भएकाले जेन–जी विद्रोहको म्यान्डेटलाई ब्यालेटमा प्रकट गराउन मतदाता सचेतना अभियान सञ्चालन गरिएको बनले बताइन्।
अभियानका क्रममा ठुलो संख्यामा मतदाता परिचयपत्र नभएका नागरिकहरूसँग भेट भएको र उनीहरूलाई तत्काल दर्ता गर्न आग्रह गरिएको उनले बताइन्। जेन–जी फ्रन्टले यो अभियानलाई देशभर विस्तार गर्ने योजना बनाएको छ।