सिराहाको मिर्चैया नगरपालिका– ७, जीवाटोलबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो देखिने लागुऔषध बिक्री–वितरण गरिरहेको अवस्थामा स्थानीय दुई युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो देखिने लागुऔषध बिक्री–वितरण गरिरहेको गोप्य सूचनाको आधारमा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार साँझ दुई युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिर्चैया– ७ घर भएका करिब २६ वर्षीय सन्तोष साह र करिब ३५ वर्षीय दीपेन्द्रकुमार मण्डल रहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार पक्राउ गरिएकाहरूलाई सोधपुछपछि मण्डलको घरमा खानतलासी गर्दा घरको पहिलो तलाको भान्सामा राखिएको रेफ्रिजेरेटरमा लुकाएको दुई ग्राम ६४० मिलिग्राम लागुऔषध, डिजिटल तराजु, दुई थान मोबाइल बरामद भएको छ । उनीहरूलाई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिराहा प्रहरीले सो साताको आइतबारदेखि बुधबारसम्म मिर्चैयासहित कर्जन्हा र लहानबाट गरी ६ जनालाई ब्राउनसुगरजस्तो देखिने लागुऔषध र अन्य लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गोलबजार– ८, चोहर्वाबाट मंगलबार राति गोलबजार– १० घर भएका करिब २० वर्षीय रूपेश सिंह सानो कालो प्लास्टिकको पोकामा लुकाएर राखेको प्लास्टिकबाहेक दुई ग्राम १३० मिलिग्राम खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ परेका थिए । त्यसअघि गत आइतबार राति लहान र कर्जन्हाबाट खैरोहिरोइनजस्तो देखिने पदार्थ र अन्य लागुऔषधसहित चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।