नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार चौथो हार व्यहोरेको छ। बुधबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ४ विकेटले पराजित भयो।
शृंखलामा नेपाल अमेरिका र युएईसँग दुबै खेलमा पराजित भयो। अमेरिकासँग १०६ र ४ विकेटले पराजित नेपाल युएईसँग पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो।
आजको हारपछि नेपाल २० खेलमा १२ अंक जोड्दै आठ टिम सहभागी लिगमा सातौं स्थानमा छ। २० खेलमा १० अंक जोडेको युएई पुछारमा छ। अमेरिका २४ खेलमा ३६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। यो लिगबाट शीर्ष ३ स्थानमा रहने टोलीले अर्को चार वर्षलाई एकदिवसीय मान्यता जोगाउने छ।
शृंखलाको चौथो तथा अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३९ रनको योगफल तयार गरेको थियो। प्रत्युत्तरमा युएईले ४९ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो।
युएईको लागि मोहम्मद साहदादले १२३ बलमा सर्वाधिक ९६ रन बनाए। उनले ६ चौका र ३ छक्का हिर्काए। त्यस्तै मोहम्मद वासिमले ७३ बलमा ७६ रन बनाउँदा सोहइव खानले २९ रन बनाए। वासिम र साहदादले १४० बलमा १४७ रनको साझेदारी गर्दै युएईको जितको आधार तय गरेका थिए।
नेपालका करण केसीले तीन तथा नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए। दीपेन्दसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल विकेटविहीन रहे।
यसअघि पहिलो इनिङ्समा नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउँदा कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाएका थिए।
दोस्रो विकेटका लागि भीम र आसिफबिच ७४ रनको साझेदारी भएको थियो। युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई तथा जाहिद अलीले एक विकेट लिए।