त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ६० किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउने र चिनियाँ नागरिकसहित एक दर्जन व्यक्तिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीबाट अवैध रूपमा आर्जित सम्पत्ति वैध देखाउने प्रयत्न गरेको ठहर गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
विभागका अनुसार आरोपितहरूले तस्करीमार्फत आर्जित सम्पत्ति प्रयोग गरी दुई अर्ब रुपैयाँभन्दा बढी रकम शुद्धीकरण गरेको प्रमाण भेटिएको छ । तस्करीमा संलग्नमाथि प्रहरीद्वारा मुद्दा चलाइसकेपछि सम्पत्ति शुद्धीकरण विभागले छुट्टै अनुसन्धान थालेको थियो । करिब दुई वर्षको अनुसन्धानपछि विभागले मुद्दा अदालतमा पेस गरेको हो ।
२ साउन ०८० मा विमानस्थलमार्फत ६० किलो सुन तस्करी भएको घटना सार्वजनिक भएको थियो । राजस्व अनुसन्धान विभागले त्यसवेलै सुनसहित संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिएर छानबिन थालेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न दिलीप भुजेलसहितविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गर्न १६ असोज ०८० मा विभागमा पत्राचार गरेको थियो । भुजेल अवैध रूपमा सुन भन्सार चोरीपैठारी, नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुर तथा संगठित अपराधसमेतको मुद्दाका प्रतिवादी हुन् । यसपछि विभागले उनीविरुद्ध छानबिन थालेको थियो ।
तस्करीमा संलग्नउपर सम्बद्ध कसुरमा अभियोजन भएको मुद्दाको प्रकृति, बरामद भएको दसी एवं वित्तीय कारोबारको विश्लेषणबाट प्राप्त तथ्य एवं कम्पनीको जायजेथाका साथै प्रतिवादीका नाममा चलअचल सम्पत्तिसमेतको विश्लेषण विभागले गरेको थियो ।
प्रतिवादीमध्येका जीवन चलाउनेका नाममा विभिन्न ३२ कित्ताको जग्गा देखिएको छ । जसको मूल्य १५ करोड ३० लाख ५१ हजार रुपैयाँ रहेकोमा जग्गा खरिद गर्दा रजिस्ट्रेसन दस्तुरबापत कुल ४५ लाख ९५ हजारसहित १५ करोड ७६ लाख ४६ हजार रुपैयाँ हुन आउने विभागको हिसाब छ । चलाउने सञ्चालक रहेको मस्टा ग्रुुप प्रालिको चुक्ता पुँजी १५ करोड रहेको देखिएको छ । सामानको मौज्दात रकम ६ करोड ६४ लाख ४६ हजार, लिन बाँकी रकम ७४ करोड ५१ लाख १३ हजार, प्रालिको नाममा रहेको जग्गाको मूल्य ३० करोड ९८ लाख ७५ हजार र घरको मूल्य ५४ लाख २३ हजार रुपैयाँ रहेको आरोपपत्रमा उल्लेख छ । लाभग्राही स्वामित्व (बेनिफिसियल ओनरसिप)को रूपमा उपयोग गरेको सम्पत्ति कसुरबाट प्राप्त गरेको घरजग्गाको खरिद मूल्य दुई करोड रुपैयाँ र ती घरजग्गा खरिद गर्दा नौ लाखको रजिस्ट्रेसन दस्तुर तिरेको देखिएको छ । सबै गरेर एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ रुपैयाँ देखिएको छ ।
यसका अतिरिक्त विदेशबाट अवैध तरिकाले आयात गरेको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको प्रतितोला मूल्य एक लाख १२ हजार पाँच सयका दरले ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ हुन आउने हिसाब विभागको छ । त्यसैगरी हिमालयन बैंकमा कसुरबाट प्राप्त जोरजम्मा गरी कारोबारसमेतबाट नि:सर्ग गरेको रकम तीन करोड ५२ लाख रुपैयाँ देखिएको छ । सबै गरेर कुल दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ रुपैयाँको बिगो हिसाब विभागले निकालेको छ । यो रकम सम्पत्ति शुद्धीकरण भएको विभागको दाबी छ । यसैलाई बिगो कायम गरेर चलाउनेलाई विभागले प्रतिवादी कायम गरेको छ । चलाउने सम्पर्कमा नदेखिएको भन्दै फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।
अलेक्स भन्ने याओ पुचेङ, अलि भन्ने लि वेन त्सुङ, रोगर भन्ने लि नेङकाई, डिङ सेग फा, टाँसी भन्ने थुप्तिङ छिरिङ, हर्कराज राई र लि चछ्याङका हकमा विदेशबाट अवैध तरिकाले आयात गरिएको ६० किलो ७१६ ग्राम सुनको तत्कालीन अवस्थाको मूल्यका हिसाबमा आउने ५८ करोड ५६ लाख नौ हजार ५६८ रुपैयाँ संयुक्त बिगो कायम गरिएको छ । प्रतिवादी चिनियाँमध्ये अधिकांश नेपालको जेलमा रहे पनि दुई महिनाअघिको जेन–जी आन्दोलनमा जेल ‘ब्रेक’ हुँदा धेरै भागेका देखिएको छ ।
दावा छिरिङ, दिलीप भुजेल, सुमन खरेल र भोला साह सोनालाई मतियार र कानुनी व्यक्तिका रूपमा मस्टा ग्रुपसमेतलाई कुल एक अर्ब २७ करोड ६८ लाख ५७ हजार ९४७ रुपैयाँ बिगो कामय गरी मुद्दा दायर भएको छ ।