नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा एमालेले चाँडै देखाइदिने बताएका छन्।
प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको संवाद कार्यक्रममा महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा पार्टीको ११औँ महाधिवेशन गर्न लागेको बताउँदै महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठुलो सभा गर्ने घोषणा गरे।
‘मंसिर २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठुलो जनसभा हामी काठमाडौंमा आयोजना गर्दै छौँ, हामी देखाउन चाहन्छौँ जनता कसको साथमा छन्, जनता कहिल्यै पनि हत्या, हिंसाको साथमा हुँदैनन्,’ उनले भने।
युवाहरू हरेक राजनीतिक दलमा जोडिएका बताउँदै पोखरेलले सबैभन्दा धेरै नवपुस्ता एमालेसँग भएको बताए। नेकपा एमाले तीन पुस्ताको संयोजनबाट बनेको पार्टी भएको बताउँदै उनले आगामी महाधिवेशनमा आउने प्रतिनिधिमा युवाको क्लस्टर नै तोकेको स्पष्ट पारे।