राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ—बिहुँ खण्ड समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीले आलटाल गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाउँदै लामो समयदेखि निर्माणाधीन लोकमार्ग पटक–पटक म्याद थप्ने र ठेक्का तोडिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि कामले गति नलिएको भन्दै ठप्प पार्ने चेतावनीसमेत दिएका छन्।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडकखण्ड विगत ३० वर्षयता अत्यन्तै जोखिमपूर्ण यात्राको मार्ग बन्दै आएको र पटक–पटक निर्माण व्यवसायीको म्याद थप गर्ने अनि काम नहुने खालका गतिविधिले र निर्माण व्यवसायीलाई सम्झौता रद्द गरी अर्को ठेक्का लगाउँदा पनि निर्माण व्यवसायीले समयभित्र काम सम्पन्न गर्ने लक्षण नदेखिनुले बागलुङ घोडाबाँधे क्षेत्रका जनतालाई सधैँभरि हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहिरहने र यस खण्ड भएर यात्रा गर्ने यात्रीहरूले सधैँ जोखिमपूर्ण यात्रा गरिरहनुपर्ने बाध्यता रहिआएको उल्लेख गरिएको छ ।
भौतिक प्रगति १२–१५ प्रतिशत मात्र
निर्माण व्यवसायीले यस खण्डको बजेट निकासा गरी अन्यन्त्र काम गर्ने परिपाटीले यो सडकको काम हुन नसकेको स्थानीयको भनाइ छ । मध्यपहाडी लोकमार्ग पर्वत शाखा अफिसको जानकारीअनुसार हालसम्म बयलडाँडा–घोडाबाँधे खण्डमा भौतिक प्रगति १२–१५ प्रतिशत मात्र रहेको र ०८१ असारमा सम्झौता गरी ०८३ असारमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको रिजाल तामाङ भगवती जे.भी.ले यही गतिमा काम गर्दै जाने हो भने काम सम्पन्न गर्न अझै आठ वर्ष लाग्ने देखिएकाले यो गतिले समयमा काम सम्पन्न हुन नसक्ने भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
कामको रफ्तार बढाउनका लागि कार्यतालिका बनाएर सोहीअनुसार अगाडि बढ्नुपर्ने र बागलुङ–बयलडाँडा खण्डको पाँचौँपटकसम्म समय थप गर्दा पनि काम सम्पन्न हुन नसकेकाले उक्त खण्डको ठेकेदारलाई तुरुन्त काम सम्पन्न गर्न लगाउनुपर्ने उनीहरूको माग छ। बिहुँवासीले यही ०८२ कात्तिक मसान्तसम्ममा सम्पूर्ण खण्डको खाल्डाखुल्डी पुरी सबबेस गर्नुपर्ने, आगामी असार मसान्तसम्म सक्ने गरी ठेकेदारले कामको प्रतिशतको रूपमा तालिका प्रस्तुत गर्नुपर्ने र सोहीबमोजिम काम अगाडि बढाउनुपर्ने माग गरेका छन् ।
मध्यपहाडी लोकमार्ग बिहुँखण्ड पूर्ण रूपमा बन्द गराउने चेतावनी
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित क्षेत्रको जनप्रतिनिधि, स्थानीय, मध्यपहाडी लोकमार्गका इन्जिनियरहरू सम्मिलित एउटा अनुगमन समिति गठन गरी मासिक रूपमा कामको प्रगति समीक्षा गर्नुपर्ने, मध्यपहाडी लोकमार्गवरिपरिका घरहरूमा धुलोले बस्न नसक्ने भएको हुँदा सडकमा दैनिक पानी छर्ने व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरेका छन् । यी मागहरूलाई बेवास्ता गरिएमा वा कार्यान्वयन नभएमा यही मंसिर १ गतेदेखि मध्यपहाडी लोकमार्ग बिहुँखण्ड पूर्ण रूपमा बन्द गराउने साथै बन्दको वेलामा हुन सक्ने परिस्थितिको जवाफदेही सम्बन्धित निकाय हुनुपर्ने चेतावनीसमेत दिइएको छ ।
काठेखोला गाउँपालिका ५ र ६ बिहुँवासीको तर्फबाट वडाध्यक्ष ज्ञामनाथ कँडेल र वृहस्पति कँडेलले उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका थिए । हिजोको दिनमा स्थानीयको पैसा खाएको ठेकेदारले काम नगरेपछि तोडिएको ठेक्कापछि आएको ठेकेदारले पनि काम नगरेको काठेखोला– ५ का वडाध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘पहिलेकै ठेकेदारले समयमै काम गरोस् भनेर स्थानीयले पैसासमेत दिएका थिए, तर उसले काम गरेन, ठेक्का तोडियो, अहिले नयाँ आएको ठेकेदारको पनि चाला उस्तै छ,’ उनले भने, ‘यसले गर्दा गाउँमा स्थानीय एकदमै आक्रोशित छन् । आउने असारसम्म सक्नुपर्ने काममा जम्मा १२ प्रतिशत भौतिक प्रगति हुनु निकै दुःखद छ ।’
काठेखोला– ६ का वडाध्यक्ष वृहस्पति कँडेलले अब पनि स्थानीय गरेको माग पूरा गर्ने गरी काम अगाडि नबढेमा परिस्थिति जटिल हुने बताए । ‘हामीले सडक निर्माण छिटो होस् भनेर सहजीकरण गर्दै आएका छौँ, त्यहाँका नागरिकले धेरै दुःख पाएका छन्,’ उनले भने, ‘अब पनि समयमै काम सक्ने गरी कार्यतालिका प्रस्तुत गरी त्यसअनुसार काम भएन भने परिस्थिति जटिल हुन्छ । आन्दोलनमा लोकमार्ग ठप्प हुन्छ । त्यसपछि के–के हुन्छ हामी भन्न सक्दैनौँ ।’ असारमा सक्नुपर्ने सडकमा अहिले जम्मा चारजना कामदार खटाएर रमिता देखाउने काम गरेको उनीहरूको स्थानीयको भनाइ छ ।