जेन–जी आन्दोलनका कारण यातायात व्यवस्था विभागमातहतका संरचनामा भएको क्षतिपछि रोकिएको सवारी लाइसेन्स सेवा आंशिक रूपमा खुला गरिएको छ । विभागले आइतबार सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ । सम्भवतः सोमबारदेखि उपत्यकाका कार्यालयहरूले नयाँ लाइसेन्सको आवेदन खुलाउनेछन् ।
विभागका सूचना प्रविधि शाखा प्रमुख (निर्देशक) केशव खतिवडाले पहिलो चरणमा काठमाडौं उपत्यकाका चार कार्यालय (एकान्तकुना, राधेराधे, चाबहिल र सानो भ¥याङ)बाट आंशिक सेवा सुरु भएको बताए । उनले आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने जनाएका छन् ।
विभागको सूचनाअनुसार हाललाई नयाँ लाइसेन्सका लागि आवेदन दिने र पुरानो लाइसेन्स नवीकरण गर्न पाउने सेवा सुरु भएको छ । यसबाहेक सवारी दर्ता र नवीकरणका साथै राजस्व भुक्तानीको सेवासमेत सुरु भएको विभागले जनाएको छ । विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन ।
‘कात्तिक १६ देखि काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट विद्युतीय सवारीचालक अनुमतिपत्र र सवारी दर्ता सेवा आंशिक रूपमा सञ्चालन भएको व्यहोरा जानकारी गराउँछौँ,’ विभागको सूचनामा छ, ‘अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारीचालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्नका लागि प्रणाली परीक्षणको कार्य भइरहेको हुँदा क्रमशः अन्य कार्यालयहरूबाट समेत छिट्टै प्रणाली सञ्चालन गरिने व्यहोरो जानकारीका लागि अनुरोध छ ।’
२३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा मीनभवनस्थित कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण विभागको सर्भर पूर्ण क्षति भएको थियो । साथै, लाइसेन्स छाप्ने मास प्रिन्टर पनि क्षतिग्रस्त भएको छ । त्यसपछि विभागले २९ भदौदेखि लाइसेन्सको छपाइ तथा वितरणसम्बन्धी सेवा अनिश्चितकालीन रूपमा बन्द भएको जनाएको थियो ।
अब लाइसेन्स सुरक्षण मुद्रण केन्द्रले छाप्ने, अहिलेभन्दा १०० रुपैयाँ सस्तो पर्ने
जेन–जी आन्दोलनका वेला लाइसेन्स छाप्ने मास प्रिन्टर क्षतिग्रस्त भएपछि विभागले अब सरकारी स्वामित्वको सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छाप्ने भएको छ । निर्देशक खतिवडाका अनुसार लाइसेन्स छपाइका लागि विभाग र केन्द्रबिच बिहीबार सम्झौता भएको छ ।
उनका अनुसार सम्भवतः अब नियमित रूपमा केन्द्रले नै लाइसेन्स छाप्नेछ । यसअघि विभागले विदेशी कम्पनीसँग लाइसेन्सको कार्ड छाप्ने गरेको थियो । पछि ती कार्डमा विभागले आफूसँग भएको मास प्रिन्टरमार्फत चालकको विवरण राखेर छापी वितरण गर्दै आएको थियो।
विभागले सरकार टु सरकार (जिटुजी) मोडलमा लाइसेन्स छाप्ने गरी केन्द्रसँग सम्झौता गर्दा लागत मूल्य पनि घट्ने भएको छ । केन्द्रले लाइसेन्स छाप्दा अहिलेभन्दा १००.१० रुपैयाँ सस्तो पर्ने विभागले जनाएको छ । अहिले एउटा लाइसेन्न छपाइ खर्च २.२५ डलर (आइतबारको विनिमयदर प्रतिडलर १४२.३३ अनुसार ३२०.२४२५ रुपैयाँ) थियो । केन्द्रमा छाप्दा एउटा लाइसेन्सको खर्च २२०.१४ रुपैयाँ आउनेछ । निर्देशक खतिवडाका अनुसार करबाहेक १९५.१७ रुपैयाँ र १३ प्रतिशत भ्याटसहित २२०.१४ रुपैयाँमा लाइसेन्स छाप्न सकिने गरी सम्झौता भएको छ ।
विभागले उपलब्ध गराएको सवारीचालकको विवरणअनुसार केन्द्र्रले भने लाइसेन्स छपाइ गर्नेछ । यसका लागि चाहिने कच्चा पदार्थका साथै कार्डदेखि सुरक्षणका फिचर्स बनाउनेलगायतका काम केन्द्रले गर्नेछ । ०८१ मा आएको सुरक्षण मुद्रणसम्बन्धी ऐनमा सरकारी सुरक्षण प्रिन्ट केन्द्रबाटै छाप्नुपर्ने व्यवस्था छ । त्यसमा लाइसेन्स पनि केन्द्रबाटै छाप्नुपर्ने व्यवस्था छ । त्यसअनुसार पनि विभागलाई केन्द्रबाटै लाइसेन्स छाप्नुपर्ने कानुनी दबाब थियो । अहिले विषम परिस्थितिमा विभाग सोही केन्द्रबाटै लाइसेन्स छाप्ने निर्णयमा पुगेको हो ।
२५ लाख चालक लाइसेन्सको पखाईमा, ६ महिनामा १२ लाख छाप्ने सम्झौता
विभागका अनुसार हाल २५ लाख चालक लाइसेन्सको पर्खाइमा छन् भने केन्द्रले ६ महिनामा १२ लाख छाप्ने गरी सम्झौता भएको छ । सुरक्षण मुद्रण केन्द्रले बनेपाको सूचना प्रविधि पार्कमा रहेको आफ्नो मास प्रिन्टरबाट दैनिक २५–३० हजार लाइसेन्स छाप्न सकिने बताइएको छ ।
‘आवश्यक तयारी भएपछि केन्द्रबाट दैनिक २५–३० हजार लाइसेन्स छाप्न सकिन्छ । अहिले करिब २५ लाख चालक लाइसेन्सको पर्खाइमा छन् । तर, अहिले हामीसँग १२ लाख लाइसेन्स छाप्न पुग्ने बजेट छ । तसर्थ, ६ महिनामा १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता भएको छ,’ उनले भने, ‘यद्यपि, तीन महिनाभित्रै १२ लाख लाइसेन्स छाप्न सकिने देखिन्छ । आवश्यक बजेट व्यवस्था गरेर बाँकी लाइसेन्स छाप्ने प्रक्रिया पनि अघि बढ्छ । अब पहिलाजस्तो लाइसेन्सकै लागि वर्षाैँ कुर्ने अवस्था अन्त्य हुन्छ ।’
उनका अनुसार केन्द्रले एक महिनाभित्र लाइसेन्स छपाइका लागि आवश्यक तयारी गर्नेछ । यद्यपि, अब हप्ता दिनमा आकस्मिक सेवाका लागि दैनिक पाँच सय लाइसेन्स छाप्ने गरी पनि सम्झौता भएको छ ।
यातायात व्यवस्था विभागका सूचना प्रविधि शाखा प्रमुख केशव खतिवडा भन्छन्– आवश्यक तयारी भएपछि सुरक्षण मुद्रण केन्द्रबाट दैनिक २५–३० हजार लाइसेन्स छाप्न सकिन्छ । अहिले करिब २५ लाख चालक लाइसेन्सको पर्खाइमा छन् । तर, अहिले हामीसँग १२ लाख लाइसेन्स छाप्न पुग्ने बजेट छ । तसर्थ, ६ महिनामा १२ लाख लाइसेन्स छाप्ने गरी सम्झौता भएको छ । यद्यपि, तीन महिनाभित्रै १२ लाख लाइसेन्स छाप्न सकिने देखिन्छ । आवश्यक बजेट व्यवस्था गरेर बाँकी लाइसेन्स छाप्ने प्रक्रिया पनि अघि बढ्छ । अब पहिलाजस्तो लाइसेन्सकै लागि वर्षाैँ कुर्ने अवस्था अन्त्य हुन्छ ।
नयाँ लाइसेन्समा चिप्स नहुने, पाँच तहको क्युआर
विभागका अनुसार केन्द्रबाट छापिने लाइसेन्स पनि स्मार्ट कार्ड नै हो । तर, यसमा पहिलेजस्तो चिप्स प्रयोग हुनेछैन, चिप्सको ठाउँमा सुरक्षा विशेषता (सेक्युरिटी फिचर्स) थपिएको क्युआर कोड रहनेछ ।अहिले प्रयोग भइरहेको लाइसेन्समा १८ वटा सुरक्षा फिचर्स थिए । नयाँ लाइसेन्समा तीमध्ये चार हटाइनेछन् र १४ वटा थपिनेछन् । यसो गर्दा नयाँ लाइसेन्समा २८ वटा सुरक्षा फिचर्स हुनेछन् । लाइसेन्सको अगाडिको भागमा सबै २८ फिचर्स तथा पछाडिको भागमा तीमध्येका १० फिचर्स पनि रहनेछन् । सुरक्षा फिचर्स मुद्रण केन्द्रकै विज्ञ कमिटीले निर्धारण गरेको हो ।
विभागका अनुसार पहिलो तहको क्युआर सामान्य मोबाइलबाट स्क्यान गर्न सकिनेछ, जसमा चालक, उनका बुबा र बाजेको नाम तथा ठेगाना रहनेछ । यस्तै, दोस्रो तहको क्युआर ट्राफिक प्रहरीको विशेष डिभाइसबाट मात्र स्क्यान गर्न मिल्ने हुनेछ, यसमा लाइसेन्स जारी मिति, चालकको ब्लड ग्रुपलगायत विवरण रहनेछ ।
यसबाहेक तेस्रो तहको क्युआरमा लाइसेन्स जारी गर्ने अधिकारीको नाम, हस्ताक्षर, म्यादसम्बन्धी विवरण र ट्राफिक कारबाहीका अभिलेख रहनेछ । चौथो तहको क्युआरमा यातायात कार्यालयको ‘एडमिन’लाई मात्र पहुँच हुनेछ । यसमा आवेदन मिति, ट्रायल मिति, पास–फेल विवरण, लाइसेन्सको वर्गलगायत विवरण रहनेछ । पाँचौँ तहको क्युआरमा अहिलेका लागि ‘खाली’ छ, जसमा भविष्यमा आवश्यक सेवा–सुविधा थपिनेछ । यसैबिच, नयाँ कार्डमा १० वर्षसम्मको ग्यारेन्टी दिइनेछ । यस अवधिमा कार्ड भाँचिने, रंग फिका हुनेजस्ता उत्पादनजन्य समस्या आएमा केन्द्रले निःशुल्क नयाँ कार्ड छापेर दिने बताइएको छ ।