ऋण काढेर खर्च धान्ने प्रवृत्तिमा भएन सुधार : तीन महिनामा थपियो एक खर्ब ऋण

खर्चको तुलनामा राजस्व संकलन नभएपछि सरकारलाई ऋणकै भर, साउनदेखि असोजसम्म भएको तीन खर्ब ६४ अर्ब खर्च धान्न ९० अर्ब आन्तरिक ऋण संकलन, १० अर्ब ८४ करोड विदेशी ऋण पनि थपियो

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

लक्ष्यअनुसार राजस्व संकलनमा सुधार नभएपछि खर्च धान्न सरकारले ठुलो मात्रामा आन्तरिक ऋण उठाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो तीन महिनामा (साउन–असोज) एक खर्ब ८४ करोड रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो अवधिमा आन्तरिक ऋण मात्रै ९० अर्ब उठाएइको छ, जुन तीन महिनाको कुल सार्वजनिक ऋणमध्ये ८९.२४ प्रतिशत हिस्सा हो । 

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा राजस्व संकलन वृद्धिदर भने ०.३२ प्रतिशत मात्रै छ । तीन महिनामा दुई खर्ब ४९ अर्ब पाँच करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । जबकी, यो अवधिमा सरकारले तीन खर्ब ६४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । खर्च धान्न राजस्वले नपुग्ने भएपछि सरकार आन्तरिक ऋणकै भर परेको हो । यो अवधिमा १० अर्ब ८४ करोड मात्रै विदेशी ऋण उठाउन सकिएको कार्यालयले जानकारी दिएको छ । 

सरकारले जेन–जी आन्दोलनपछिको पुनर्निर्माण र २१ फागुनमा हुने निर्वाचनका लागि खर्च जोहोको उपाय लगाइरहेको छ । हालसम्म एक खर्ब १९ अर्ब रुपैयाँ बजेट रोक्का गरिसकेको छ । तर, पर्याप्त स्रोत जुटाउन नसक्ने हो भने खर्च धान्न मुस्किल पर्ने जोखिम छ । 

सरकारले तीन महिनामा लिएको एक खर्ब ८४ करोड ऋणबाट पुरानो ऋणको किस्ता बापत ९० अर्ब ५० करोड भुक्तानी गरेको छ । जसकारण अहिले लिएको नयाँ ऋणको अधिकांश हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमै खर्च भइरहेको देखिन्छ । 

असोज मसान्तसम्म ऋणको साँवाबापत मात्रै ८० अर्ब १५ करोड भुक्तानी हुँदा १० अर्ब ३५ करोड विदेशी ऋणको भुक्तानीमै खर्च भएको छ । त्यसबाहेक ४० अर्ब २६ करोड रुपैयाँ विदेशी विनिमयमा आएको उतारचढावका कारण व्ययभार थपिएको कार्यालयले जनाएको छ । ब्याजसहित हिसाब गर्दा सरकारले यो तीन महिनामा एक खर्ब नौ अर्ब ८९ करोड रकम भुक्तानीमा खर्च भएको छ । आन्तरिक र विदेशी ऋणमा ब्याजबापत सरकारले १९ अर्ब ६८ करोड खर्च गरेको छ । 

कुल ऋण दायित्व २७ खर्ब २४ अर्ब, जिडिपीको ४४.६१%
असोज मसान्तसम्म देशको कुल ऋण दायित्व २७ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४४.६१ प्रतिशत हो । त्यस्तै, आन्तरिक ऋणको दायित्व १२ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको छ । यो जिडिपीको २०.९३ प्रतिशत हो । बाह्य ऋण दायित्व १४ खर्ब ४६ अर्ब कायम छ । यो जिडिपीको २३.६९ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले खर्च धान्न पाँच खर्ब ९५ अर्ब ऋण उठाउने लक्ष्य लिएको छ । हालसम्म लक्ष्यको १६.९३ प्रतिशत उठेको छ । यो वर्ष तीन खर्ब ६२ अर्बको आन्तरिक ऋण र दुई खर्ब ३३ अर्बको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ । 

गत आवमा सञ्चित कोष एक खर्ब ९६ अर्ब घाटामा
गत आव ०८१/८२ मा संघीय सरकारको सञ्चित कोष (आय–व्ययको समष्टि) एक खर्ब ९६ अर्ब रुपैयाँ ऋणात्मक रहेको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयले गत आवको एकीकृत विवरण तथा प्रतिवेदन तयार गरी अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखा परीक्षकको कार्यालयमा पेस गरेको प्रतिवेदनमा सञ्चित कोष घाटामा रहेको देखिएको हो । 

सञ्चित कोषसँगै नगद अवस्था पनि ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ । यद्यपि, विभिन्न कोषहरूको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, ०७६ को दफा २९ बमोजिम आर्थिक वर्ष ०८१/८२ को सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अर्थमन्त्री खनालसमक्ष पेस गरेको कार्यालयले जनाएको छ । 

See More On

सुझावित समाचार