जेन–जी विद्रोहबाट अपदस्थ ओलीमा फेरि प्रधानमन्त्रीको महत्वाकांक्षा

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनबाट सत्ताच्युत भएको डेढ महिना नपुग्दै एमाले अध्यक्ष केपी ओलीले पुन: प्रधानमन्त्री बन्ने महत्वाकांक्षा देखाएका छन् । आसन्न २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने नीति अंगीकार गर्दै आएका ओलीले आफू देशका लागि निरन्तर सक्रिय रहेको कारण जनताले फेरि प्रधानमन्त्रीका रूपमा चयन गर्ने दाबी गरेका हुन् । ओलीले अहिलेको आवश्यकता भन्दै पार्टी नेतृत्व पनि नछाड्ने स्पष्ट सन्देश दिए ।

एमाले केन्द्रीय कमिटी बैठक सकिएको दुई दिनपछि आइतबार सम्पादकहरूसँगको संवादमा ओलीले देशका लागि सत्यनिष्ठा र समर्पण भावले काम गरेकाले प्रधानमन्त्रीमा पुनर्स्थापित हुन सक्ने औँल्याएका हुन् । जनताले आदेश गरे आफू प्रधानमन्त्री हुनैपर्ने ओलीको भनाइ छ ।

‘रातभर पनि देशकै काममा समर्पित हुने मान्छे, फेरि प्रधानमन्त्री नहोस् भनेर पूजा गर्न मन लाग्नेले पूजा गर्दा हुन्छ, त्यसमा आपत्ति छैन । मलाई प्रधानमन्त्री हुनु नै छैन । तर, यदि जनताले भन्यो भने सम्पादकले भनेको मान्ने कि मतदाताले भनेको मान्ने ? त्यति वेला त मैले मतदाताकै आदेश मान्नुपर्ने हुन्छ । त्यसकारण तपाईंहरूले अहंकार, दम्भ आदि–इत्यादि मान्छे त जस्ताको तस्तै छ नभन्नुहोला,’ ओलीले तत्काल सक्रिय राजनीतिबाट टाढा नहुने सन्देश दिँदै भने ।

ओलीले जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको आयोगसमक्ष उपस्थित नहुने स्पष्ट गरेका छन् । ‘केपी ओली प्रशोधित माइन्डबाट काम गर्छ । सोझो भएको भन्दै जसले जहाँ आयोग बनाउँछ, जसले जहाँ सोध्दै जान्छ, त्यहाँ लुरुलुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन,’ ओलीले भने, ‘कोही पनि कुनै भ्रममा नपर्नुहोस्– आफैँलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’

ओलीले २३ र २४ भदौको गोलीकाण्डको जिम्मा नलिने बताए । घटनालाई आफूले तीन भागमा हेर्ने गरेको र आदेशसमेत नदिएको भन्दै घुसपैठका कारण मात्र गोली चलेको जिकिर उनले गरे । २२ भदौको बेलुकी सुरक्षा समितिको बैठकमा सुरक्षा प्रमुखहरूले १० हजारसम्म विद्यार्थी जम्मा भए पनि जुलुस शान्तिपूर्ण हुने आफूलाई ब्रिफिङ भएको ओलीले दाबी गरे ।

संसद् भवनअगाडिसम्म जुलुस लगिएकैले मुठभेड भएर गोली चल्ने परिस्थिति आएपछि अर्को अध्याय सुरु भएको ओलीको भनाइ थियो । ‘मैले सुनेँ– गोली चल्यो । शान्तिपूर्ण आन्दोलनमा किन गोली चल्यो भनेर गृहमन्त्रीलाई सोधेँ । रबरको गोली चलेको जवाफ आयो,’ उनले भने ।

See More On

सुझावित समाचार