प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायका प्रमुख र राजदूतसँग छलफल थालेकी छिन्। शुक्रबार प्रधानमन्त्रीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा कूटनीतिक निकायका प्रमुख र नेपालका लागि विदेशी राजदूतहरूसमक्ष नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी हुन्।
जेन–जी आन्दोलनपछि गहिरो राजनीतिक परिवर्तनको महत्त्वपूर्ण समयमा वर्तमान अन्तरिम सरकार गठन भएको उल्लेख गर्दै कार्कीले जेन–जी आन्दोलनले सार्वजनिक जीवनमा इमानदारीको जनचाहनालाई प्रतिबिम्बित गरेको बताइन्।
‘नयाँ संविधान अंगीकार गरेयता हाम्रो उपलब्धि सीमित छन्, तर यस आन्दोलनले हामीलाई चुनौती दिएको छ, अब निष्क्रियताको कुनै ठाउँ छैन। हामीले जनताको वैध आकांक्षाहरू पूरा गर्न फेरि समर्पित हुनैपर्छ,’ उनले भनिन्।
आगामी फागुन २१ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र र निष्पक्ष चुनाव गराउने अन्तरिम सरकारको एक मात्र जनादेश रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताइन्।
सरकारको सम्पूर्ण ध्यान र राज्यको स्रोतसाधन विश्वसनीय निर्वाचनको वातावरण बनाउन केन्द्रित रहेको प्रस्ट पार्दै उनले सबै राजनीतिक दल र सरोकारवालाहरूसँग संवाद गरिरहेको बताइन्।