पुरानै ठेक्काबाट बिपी राजमार्गको पुनर्निर्माण

आइतबार, २६ असोज, २०८२
डिजिटल संस्करण
  • १७–१९ असोजको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण पुरानै ठेक्कामा थप्ने तयारी, ठेकेदारलाई भेरिएसनको सुविधा

गत १७–१९ असोजको बाढीले थप क्षतिग्रस्त भएको बिपी राजमार्गका विभिन्न खण्डको पुनर्निर्माण पुरानै ठेक्काअन्तर्गत गरिने भएको छ । १७, १८ र १९ असोजको वर्षासँगै आएको बाढीपहिरोबाट उक्त राजमार्गको काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा गरेर चार किलोमिटर सडक बगाएको थियो । त्यसमा अधिकांश वैकल्पिक (डाइभर्सन) र आंशिक स्थायी सडक छन् ।

डाइभर्सन सडक बनाएर शुक्रबार साँझदेखि बिपी राजमार्गमा सवारी आगमन खुला गरिएको छ । तर, त्यहाँ स्थायी रूपमै सडक पुनर्निर्माण गर्न पुरानै ठेक्काअन्तर्गत अघि बढाउने तयारीमा सडक विभाग छ ।

विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सुपरिटेन्डिड इन्जिनियर शुभराज न्यौपानेले पुरानै ठेक्काअन्तर्गत बिपी राजमार्गको पुनर्निर्माण अघि बढ्ने बताए । बिपी राजमार्ग मधेश र कोशी प्रदेशलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो र उपयुक्त राजमार्ग हो । एक सय ६० किमि लामो बिपी राजमार्ग जापानको २६ अर्ब यान आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको थियो । ०५३/५४ देखि सुरु भएको यसको निर्माण ०७२ सालमा सम्पन्न भएको थियो, जुन सडक गत वर्ष ०८१ को असोज १०–१२ मा रोशी खोलामा आएको बाढीले पनि प्रभावित भएको थियो । एक वर्षमै उक्त सडक बाढीले थप प्रभावित बनाए पनि क्षति भने धेरै नभएको विभागको भनाइ छ ।

गत वर्षको बाढीले काभ्रेपलाञ्चोकको रोशीदेखि सिन्धुलीको नेपालथोकसम्मका विभिन्न ठाउँमा गरी १३ किलोमिटर सडकखण्ड क्षतिग्रस्त बनाएको थियो । त्यसमा ८.५ किमि सडकको नामोनिसान नै थिएन । गत वर्षको बाढीले प्रभावित भएपछि अस्थायी डाइभर्सन नै बनाएर सडक सञ्चालनमा ल्याइएको थियो । गत आवको बाढीबाट प्रभावित भएको सहित गरेर झन्डै ३० किमि सडक पुनर्निर्माण तथा मर्मत गर्नुपर्ने भएको थियो । 

त्यसको पुनर्निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको छ । नेपालले पुनर्निर्माण गर्नेतर्फ चार प्याकेजअन्तर्गत तीन प्याकेजको ठेक्का सम्झौता यसअघि नै भइसकेको छ । 

भकुन्डेबेँसीदेखि चारसयबेँसीसम्म ११ किमि लामो सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । चारसयबेँसीदेखि डालाबेँसीसम्मको नौ किमि लामो सडक बनाउन भने खानी–कमलजित–एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ । काभ्रे जिल्लामा पर्ने यो खण्डको पुनर्निर्माणका लागि गत असारमै ठेक्का सम्झौता भएको थियो । 

सिन्धुली जिल्लामा पर्ने बर्खेखोलादेखि नेपालथोकसम्मको पाँच किमि लामो सडक पुनर्निर्माण गर्न भने खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ५५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । गत असारमै यसको ठेक्का सम्झौता भएको हो । दुई वर्षमा काम सक्ने गरी यी तीन ठेक्का सम्झौता भएका छन् । यद्यपि, काम सुरु भइसकेको अवस्था भने छैन । 

यता सिन्धुली–काभ्रेपलाञ्चोक सीमा क्षेत्र बर्खेखोलादेखि काभ्रेपलाञ्चोकको डल्लाबेँसीसम्मको खण्ड भने जापानले पुनर्निर्माण गर्ने भनेको थियो । त्यसमा पछि जापानले पिप्लेदेखि बर्खेखोलासम्मको ३.२ किमि लामो सडक पुनर्निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको छ । जापानले अस्वीकार गरेको पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किमि लामो सडकको पुनर्निर्माणको प्रक्रिया भने विभागले अघि बढाएको छ, अहिले त्यसमा ठेकेदार कम्पनी छनोट गर्ने मूल्यांकनको काम भइरहेको छ । त्यो अवस्थामा यसपालिको बाढीले पुन: त्यो सडक क्षतिग्रस्त बनाएको हो । काभे्र र सिन्धुलीका विभिन्न १३ ठाउँमा गरेर चार किलोमिटर लामो सडक बगाएको थियो । त्यसमा अधिकांश वैकल्पिक (डाइभर्सन) र आंशिक स्थायी सडक छन् ।

विभागका अनुसार यसपालिको बाढीले गत आवको बाढीपछि निर्माण गरिएको अस्थायी सडक नै बगाएको छ । यद्यपि, बालुवा क्षेत्रमा झन्डै दुई सय मिटर सडक बाढीले क्षतिग्रस्त भएको छ । यसैगरी कालढुंगामा २५ मिटर, डाप्चा पुलमा २० मिटर र माथिल्लो मम्तीमा २० मिटर स्थायी सडक क्षतिग्रस्त भएको छ । बाढीले गरेको नयाँ क्षति करिब यिनै हुन् । यीबाहेक बाढीले क्षतिग्रस्त बनाएको खण्ड गत वर्षको बाढीले क्षतिग्रस्त बनाएको ठाउँ र त्यहाँ निर्माण गरिएको अस्थायी सडक हो । स्थायी रूपमा सडक निर्माणको काम सुरु नहुँदै यो वर्ष बाढी आई सडक थप प्रभावित भएको हो । तसर्थ, पुरानै ठेक्काअन्तर्गत पुनर्निर्माणको काम गर्न सकिने विभागका सुपरिटेन्डिड इन्जिनियर न्यौपानले बताए । 

‘गत वर्षको बाढीपहिरोले जुन ठाउँको सडक क्षतिग्रस्त गराएको थियो, यसपालिको बाढीपहिरोले पनि त्यही खण्डमा क्षति पुर्‍याएको छ । त्यसमा पनि अधिकांश अस्थायी सडक अर्थात् डाइभर्सन छन् । बाढीले केही ठाउँमा मात्रै स्थायी सडक बगाएको छ,’ उनले भने, ‘तर, त्यो पनि पुनर्निर्माणका लागि अघि बढाएको ठेक्काको खण्डभित्रै पर्छन् । तसर्थ, बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माण पुरानै ठेक्काअन्तर्गत अघि बढाउन सकिन्छ । आवश्यक अध्ययन गरी थप प्रक्रिया पूरा गरेर अहिलेको बाढीबाट क्षतिग्रस्त भएको सडकको पुनर्निर्माण पनि पुरानै ठेक्कामार्फत अघि बढाउँछौँ ।’

विभागले त्यस क्षेत्रको साढे ३० किमि सडकको पुनर्निर्माणको प्रक्रिया यसअघि नै अघि बढाएको छ । त्यसको डिजाइनसमेत बनिसकेको छ । अहिले बाढीले पनि त्यही खण्डभित्रका सडक प्रभावित बनाएको हो । 

‘डिजाइन बनिसकेको छ । अब एकपटक क्षगिग्रस्त सडकको अध्ययन तथा अवलोकन गर्छाैँ । त्यसका आधारमा डिजाइन परिमार्जन गर्छाैँ,’ न्यौपानेले भने, ‘त्यसपछि त्यहीअनुसार पुनर्निर्माणको काम गर्न ठेकेदार कम्पनीलाई भन्छौँ । पुरानै ठेक्काबाट काम गर्ने हाम्रो योजना हो ।’ 

सडक विभागका प्रवक्ता श्यामबहादुर खड्काले पनि पुरानै ठेक्काबाट पुनर्निर्माण अघि बढ्ने बताए । ‘बाढीले डाइभर्सन सडक नै बगाएको हो । स्थायी सडकमा क्षति पुगेको छैन । यो बाढीले पुरानो ठेक्कालाई केही असर गर्छ । तर, भेरिएसनको सुविधा दिएर पुरानै ठेक्काबाट काम लगाउने तयारीमा छौँ,’ उनले भने, ‘पुरानो ठेक्काबाट काम गर्ने भन्दैमा रकम पनि पुरानो हुँदैन । यसबाट सिर्जना दायित्वबापत भेरिएसनको सुविधा दिन्छौँ ।’ पछिल्लो वस्तु परिस्थितिलाई दृष्टिगत गर्दै पुरानो ठेक्का सम्झौतामा आवश्यकताअनुसार संशोधन गर्न सकिने उनले बताए । 

‘कुन–कुन ठाउँमा क्षति भएको छ । त्यसको सूची तयार गर्छाैैँ । ठेक्का सम्झौता गर्दा र अहिलेको अवस्था फरक छ । अब कहाँ–कहाँ के के गर्नुपर्छ, त्यो हेर्छाैँ,’ उनले भने, ‘सोहीअनुसार पुरानो ठेक्का सम्झौता पनि संशोधन हुन सक्छ । भेरिएसनको सुविधा पनि दिन सक्छौँ ।’ जापानले जिम्मा लिएको खण्डअन्तर्गत भने जापानले नै पुनर्निर्माण गर्नेछ ।

सुझावित समाचार