तत्कालीन गृहमन्त्री लेखक पनि दिन थाले ‘उपदेश’
- आन्दोलनमा बर्बर दमन गरेको भन्दै पक्राउ गरेर कारबाही गर्न लेखकविरुद्ध प्रहरीमा छ उजुरी, पासपोर्ट रोक्का गरेर उपत्यकाबाहिर जान सरकारको रोक, जाँचबुझ आयोग बयान लिने तयारीमा
गत २३ र २४ भदौको जेन–जी आन्दोलनमा बर्बर दमन गर्ने आदेश दिएको भन्दै पक्राउ गरेर कारबाही गर्नुपर्ने माग भइरहेका वेला तत्कालीन गृहमन्त्री रमेश लेखक भने ‘सरकारले कसैप्रति आग्रह–पूर्वाग्रह र प्रतिशोध राख्न नहुने’ भन्दै ‘उपदेश’ दिन थालेका छन् । सरकारले लेखकसँगै तत्कालीन प्रधानमन्त्री केपी ओलीको पासपोर्ट रोक्का गर्दै अनुमतिविना काठमाडौंबाहिर जान रोकेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग उनीहरूसँग बयान लिने तयारीमा छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै लेखकले सरकार र जाँचबुझ आयोगले कानुनी मान्यताभित्र रहेका काम गर्नुपर्ने बताए । आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि उठेर कार्यसम्पादन गर्नुपर्ने उनको आग्रह छ । २३ भदौमा प्रहरीको गोलीबाट १९ जनाको हत्या भएसँगै राजीनामा दिएका लेखक पहिलोपटक सार्वजनिक भएका हुन् ।
‘अहिले प्रतिशोध राख्ने समय छैन । लोकतान्त्रिक मूल्य–पद्धतिबाट देशलाई ठिक ठाउँमा पुर्याउनुपर्छ,’ लेखकले भने, ‘सरकार, आयोग र राजनीतिक दलहरूले हाम्रा लोकतान्त्रिक मूल्य–पद्धतिमा बसेर मुलुकको संविधान र कानुनबमोजिम कार्यसम्पादन गर्नुपर्छ । कानुनी शासनको मान्यताभित्र आफ्ना काम अघि बढाउन आग्रह गर्छु ।’
लेखकले तत्कालीन राजनीतिक नेतृत्वले आन्दोलनमा गोली चलाउन आदेश नदिएको दाबी पनि गरे । ‘२३ भदौमा मैले गृहमन्त्रीबाट राजीनामा गरिसकेको थिएँ । दु:खदायी घटना भए । आन्दोलनमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको विषय उठेका छन्,’ राजनीतिक नेतृत्वको प्रतिरक्षा गर्दै उनले भने, ‘यी विषयहरूमा म भन्न चाहन्छु– यो प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गर्ने विषय होइन । त्यस्तो खालको बल प्रयोग गर्ने आदेश प्रधानमन्त्री र मेरोतर्फबाट भएको छैन ।’ उनले आन्दोलनमा बल प्रयोगको आदेश नदिएको जिकिर पटकपटक गरे ।
आन्दोलनमा घुसपैठ भएको दाबी पनि लेखकले गरे । तर, कसले गर्यो भन्ने स्पष्ट गरेनन् । घुसपैठबारे आफूसँग केही सूचना रहेको र सम्बन्धित निकाय (प्रहरी प्रशासन वा जाँचबुझ आयोग)मा जानकारी गराउने उनको भनाइ छ । ‘जेन–जी आन्दोलनमा घुसपैठ भएको मैले मात्रै भनेको छैन । जेन–जीको नेतृत्व गरेका भाइबहिनीले पनि त्यसवेलै भन्नुभएको छ । सञ्चारमाध्यमले पनि जानकारी दिएकै छ,’ उनले भने, ‘यो यथार्थमै सत्य देखियो । यसबारे मैले पाएको जानकारी सम्बन्धित निकायमा भन्नेछु । तपाईंहरू (सञ्चारमाध्यम)लाई पनि भन्नेछु ।’
जेन–जीले महत्वपूर्ण माग राखेको, तर प्रदर्शनमा घुसपैठ हुँदा पीडादायी र दु:खद घटना भएको उनको टिप्पणी छ । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध देशभरका युवा सडकमा उत्रिँदा २३ भदौ गृहमन्त्री लेखक भने देशको अवस्थाको पूरै बेवास्ता गरेर एक संसदीय समितिमा ढुक्कले बसेका थिए । राजधानीसहितका प्रमुख सहरमा तनाव बढ्दासमेत उनले तत्कालै सुरक्षा स्थितिमा प्रत्यक्ष कमान्ड सम्हाल्न आवश्यक ठानेनन् । जब, आन्दोलन बानेश्वरस्थित संसद् भवनतर्फ बढन थाल्यो, त्यसपछि बल्ल उनी समिति बैठकबाट बाहिरिएका थिए ।