माओवादी केन्द्रीय समिति भंग, मंसिरमा विशेष महाधिवेशन

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति, पूर्वपदाधिकारीको सचिवालय बन्यो

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

माओवादीले मंसिरमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णयसहित केन्द्रीय समिति भंग गरेको छ । काठमाडौंको प्रज्ञा भवनमा बसेको केन्द्रीय समितिको दुईदिने बैठकले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको हो । विशेष महाधिवेशनको मिति पार्टीको सचिवालयले तोक्नेछ । प्रचण्डले विधिसम्मत तरिकाबाट आफू नेतृत्व छाड्न तयार रहेको बैठकमा बताए ।

माओवादीले सबै तहमा जेन–जी (युवा)लाई अधिकतम प्रतिनिधित्व गराउने पनि निर्णय गरेको छ । ‘म अब पार्टी अध्यक्ष छैन, संयोजक भएँ,’ प्रचण्डले बैठकपछि सञ्चारकर्मीसँग भने । पार्टीका पूर्वपदाधिकारीको सचिवालयलाई केन्द्रीय समितिले आपत्कालीन अवस्थामा निर्णय लिने अधिकार दिएको छ । बैठकमा कृष्णबहादुर महराबाहेक निवर्तमान पदाधिकारी र समूहका नेताहरूले पाँच–पाँच मिनेट बोलेका थिए भने संयोक प्रचण्डले बैठकमा उठेका प्रश्नको जबाफसहित एक घण्टा सम्बोधन गरेका थिए । ‘अहिले नै कुनै निश्चित विधिविना प्रचण्डले नेतृत्व छाड्नुहुन्न भन्ने स्पिरिटमा सबैले धारणा राख्नुभयो । अध्यक्षले पनि आगामी विशेष महाधिवेशनबाट कसले छाड्ने, को रहने भन्ने कुराको निक्र्यौल गरौँ भन्नुभयो । यसमा सबैको समर्थन रह्यो,’ बैठकपछि माओवादी नेता देवेन्द्र पौडेलले भने ।

माओवादी नेता विनोद पहाडीका अनुसार केन्द्रीय समितिले नै विशेष महाविधेशनको मिति तोक्नुपर्ने माग उठेको थियो । ‘पूर्वपदाधिकारी रहने सचिवालयले परिस्थितिको अध्ययन गरेर मंसिर मसान्तभन्दा पर नजाने गरी विशेष महाधिवशेनको मिति तोक्छौँ भन्ने अध्यक्षको प्रस्ताव आएपछि सबैबाट समर्थन भयो,’ पहाडीले भने । 

बिहीबार बैठक सुरु हुने वेलासम्म पार्टीको विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन भन्ने टुंगो थिएन ।‘महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने पनि टुंगो थिएन । चुनावअघि नै विशेष महाधिवेशन गर्ने र पार्टी वैचारिक रूपमा एक भएर चुनावमा जानुपर्छ भन्नेमा केन्द्रीय समितिमा एक मत कायम भयो,’ पहाडीले भने । संयोजक प्रचण्डले वामपन्थी, प्रगतिशील तथा माओवादी धारासँग सम्बन्धित समूहहरूसँग एकताका लागि प्रयास हुँदै आएको उल्लेख गर्दै विशेष महाधिवेशनलाई एकता विशेष महाधिवेशनका रूपमा आयोजना पनि गर्न सकिने बताएका थिए । 

नेता नारायणकाजी श्रेष्ठले पार्टीमा लोकतान्त्रिक अभ्यासको बाटो खुला राख्नुपर्नेमा जोड दिएका थिए । उनले नेतृत्वलाई देवत्वकरण नगर्न र युवापुस्तालाई बाटो खोल्न पनि सुझाव दिएका थिए । ‘म पार्टीको वरिष्ठ उपाध्यक्ष स्वतः कार्यवाहक भइहाल्छु । मलाई आजै चाहिएको होइन । तर, नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ भन्ने मात्रै हो,’ श्रेष्ठलाई उद्धृत गर्दै नेता पहाडीले भने । 

अर्का नेता जनार्दन शर्माले पार्टी विधिअनुसार चल्नुपर्ने धारणा दुई वर्षदेखि राख्दै आएको उल्लेख गरे । ‘मैले अध्यक्षलाई अहिले नै अपदस्त गरेर जाऔँ भन्न खोजेको होइन, समयमै रूपान्तरणको विधि बनाएर जान सकियो भने नयाँ पुस्तामा पनि पार्टीप्रति आकर्षण हुन्छ भन्न खोजेको हुँ । छलफल र बहस अघि बढाएर मैले पार्टी र नेतृत्वलाई सहयोग नै गरेको हुँ, असहयोग होइन,’ शर्माले बैठकमा भनेका थिए । 

बैठकमा श्रेष्ठ र शर्माबाहेक अधिकांश नेताले अहिले नै प्रचण्डले नेतृत्व छाड्दा माओवादीलाई मात्र नभएर अहिलेको व्यवस्थालाई नै संकट आउन सक्ने बताएका थिए । ‘अहिले माओवादीलाई मात्र होइन, सबै पार्टीलाई संकट छ । लोकतान्त्रिक गणतन्त्रमाथि चौतर्फी आक्रमण भएका वेला यसअघि परिवर्तन र दुईपटक निर्वाचनको नेतृत्व गरेका पार्टी नेतृत्वले अहिले पद त्याग गर्नु उपयुक्त हुँदैन, उहाँलाई त्यसरी दबाब दिनु पनि उपयुक्त हुँदैन भन्ने सबैको जोड रह्यो,’ माओवादी नेता पौडेलले भने । 

यही भावका आधारमा संयोजक प्रचण्डको प्रस्ताव पारित भएको उनले बताए । ‘कार्यवाहक दिएर छाड्ने कुरा भएन । तर, निवर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माको राजनीतिक प्रस्तावलाई पार्टीको सम्पत्ति मानेर महाधिवेशनसम्म छलफल गर्दै जाने भन्नेमा पार्टीमा एक मत कायम रह्यो,’ पौडेलले भने । 

पार्टीपंक्ति निर्वाचनकेन्द्रित भएर अघि बढ्नुपर्छ : प्रचण्ड
प्रचण्डले बैठकलाई सम्बोधन गर्दै तोकिएकै समय (२१ फागुन)मा प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । अब पार्टीपंक्ति निर्वाचनकेन्द्रित भएर अघि बढ्नुपर्ने पनि उनले उल्लेख गरेका छन् । ‘जेन–जी आन्दोलन र त्यसलगत्तै भएका आगजनी, तोडफोडलगायतका घटनापछि उत्पन्न असहज परिस्थितिमा हाम्रो प्रयासले संविधान र यो राजनीतिक व्यवस्था बचेको छ । संविधानको जगमा यो व्यवस्थाका त्रुटि कमजोरी सच्याएर अघि जानुपर्छ । यसका लागि तोकिएको मितिमा चुनाव हुनुपर्छ । वडादेखि माथिसम्म चुनाव प्रचारप्रसारमा केन्द्रित हुनुपर्छ,’ प्रचण्डलाई उद्धृत गर्दै नेता नेता विनोद पहाडीले बताए ।

प्रचण्डले अहिलेको राजनीतिक उपलब्धि खोस्न देशी–विदेशी षड्यन्त्र भइरहेको, संविधान र राजनीतिक व्यवस्था समाप्त पार्न अझै षड्यन्त्र भइरहेको भूमिका बाँधेर चुनावमार्फत परिस्थितिलाई संविधानको ट्र्याकमा ल्याउनुपर्ने बताएका थिए । 

‘मैले संविधानमा टेकेर जानुपर्छ, संसद्को हत्या नगरौँ, संसद् चलाएर संविधानका बुँदा सच्याऔँ, जेन–जीको भावना समेटेर सुशीला कार्कीजीकै नेतृत्वमा सरकार गठन गरौँ भनेको थिएँ, तर यो लागू भएन,’ प्रचण्डले बैठकमा भने, ‘तर, राष्ट्रपति संस्था बच्यो, राष्ट्रिय सभा बच्यो । आवश्यकताका सिद्धान्तका आधारमा यो सरकार गठन भएकोमा समर्थन गरेका हौँ । तर, हामीले संसद् विघटनको समर्थन गरेका छैनौँ । अब जनमतबाट हामीलाई भाग्ने छुट छैन । सरकारको कदमलाई निगरानी गर्दै ताजा जनमतबाट मुलुकलाई संविधानको ट्र्याकमा लैजानुपर्छ । यसमा हामीले नै सबैभन्दा बढी भूमिका खेल्नुपर्छ ।’

माओवादी बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिविरुद्ध संघर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउनेसमेत निर्णय गरेको छ । 

गणेश शाह निष्क्रिय, सक्रिय नहुने घोषणा
माओवादीका निवर्तमान सचिव गणेश शाहले जेन–जी आन्दोलनपछि पार्टीमा सक्रिय नहुने घोषणा गरेका छन् । उनी यसबिचमा माओवादीको स्थायी समिति र केन्द्रीय समिति बैठकमा सहभागी भएनन् । उनले जेन–जी आन्दोलनको म्यान्डेटअनुसार अब आफ्नो समय गएको निष्कर्षसहित निष्क्रिय बसेको बताए । ‘मैले पार्टी सदस्यता नै त्यागेको छैन, त्यसबाहेक सबै छाडेँ । अब म विज्ञान र परराष्ट्र सम्बन्धका बारेमा अध्ययन गर्न लागेँ । ७५ वर्ष उमेर भयो । अब जेन–जी आन्दोलनको म्यान्डेटअनुसार म सक्रिय हुन मिल्दैन भन्नेमा पुगेँ,’ शाहले नयाँ पत्रिकासँग भने, ‘अब म कुनै पनि बैठकमा सहभागी हुँदिनँ भनेको छु ।’

सुझावित समाचार