व्यवसायीको गोदामबाट सरकारी अनुदानको मल बरामद

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

सिराहाको गोलबजार पानीट्यांकीनजिक व्यवसायीले गोदाममा लुकाएर राखेको एक सय ५४ बोरा सरकारी अनुदानको मल बरामद भएको छ । कृषि सहकारी संस्थाबाहेक अन्यले बिक्री गर्ने अनुमतिसमेत नरहेको सरकारी अनुदानको मल बिज भण्डारले महँगो मूल्यमा बेचिरहेको गुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय सिराहाको संयुक्त अनुगमन टोलीले बुधबार फेला पारेको हो । 

व्यवसायीले गोदाममा लुकाएको कृषि सामग्री कम्पनीबाट वितरित ९६ बोरा डिएपी, ३६ बोरा युरिया र ६ बोरा पोटास बरामद गरेको जिल्ला प्रशासन कार्यालय सिराहाका शाखा अधिकृत अनिलकुमार यादवले जानकारी दिए । ‘मल बरामद भएको घरमा महिला मात्र भेटिएकाले कसको भन्ने बताउन सकिनन्,’ उनले भने । उनका अनुसार बरामद भएको मल कृषि सामग्रीको लहान शाखामा ल्याएर गोदाम सिल गरिएको छ । 

मल बरामद भएको गोदाम घरधनी सम्पर्कमा नआए पनि कौशल महतोले लुकाएर राखेको स्थानीयले बताए ।धमिनीस्थाननजिक सिल गरिएको गोदाम भने उनकै दाजु विनोद महतोको रहेको एक स्थानीयले बताए । तेस्रो मुलुकबाट आयात गरिएको डिएपी प्रतिबोरा (५० किलो) औसत खरिद मूल्य पाँच हजार नौ सय ४८ रुपैयाँमा सरकारले तीन हजार सात सय ४८ रुपैयाँ अनुदान दिई औसत दुई हजार दुई सय ७२ रुपैयाँ ५० पैसामा स्थानीय सहकारी, कृषि सहकारीलाई बिक्री गरिनुपर्ने व्यवस्था छ । तर, स्थानीय जनप्रतिनिधिको मिलेमतोमा एग्रोभेटमार्फत कालाबजारी भएको किसानहरूको गुनासो छ ।

See More On

सुझावित समाचार