दुई सय रोहिंग्याको नेपाली कागजात छानबिन हुँदै

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

करिब दुई सयजना म्यान्मारका रोहिंग्याले नेपाली राहदानी लिई साउदी अरबमा काम गर्न गएको विषयमा छानबिन सुरु भएको छ । साउदी अरबस्थित नेपाली दूतावास र साउदी सरकारको समन्वयमा यसबारे सत्य जाँच प्रक्रिया थालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘म्यान्मारका रोहिंग्याहरूले नेपाली राहदानी लिएर साउदी अरब गएको भन्ने विषयमा सत्य जाँच गर्ने प्रक्रिया सुरु भइसकेको छ । यो चाँडै तार्किक निष्कर्षमा पुग्नेछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राई, अध्यागमन अधिकारी तथा खाडी मुलुकमा कार्यरत नेपाली राजदूतबिच यसबारे भिडियो छलफल भएको थियो । त्यसक्रममा म्यान्मारका रोहिंग्या समुदायका दुई सयजनाले नेपाली राहदानी लिएर यात्रा गरेको जानकारीमा आएपछि यसबारे छानबिन सुरु भएको हो । ‘निजहरूको राहदानी, नागरिकतालगायत अन्य कागजातको सत्यता स्थापित गर्ने प्रक्रियामा रहेको छ,’ परराष्ट्र प्रवक्ता क्षेत्रीले भने । 

परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागको अनुरोधसमेतलाई ध्यान दिई खासगरी भिजिट भिसामा अन्य मुलुकमा गई वैदेशिक रोजगारीमा संलग्न हुने नेपालीको विषयमा छलफल गरेको जनाएको छ । भिजिट भिसाको वर्तमान अवस्था, यसरी रोजगारीमा संलग्न हुने प्रवृत्ति, यसबाट आइपर्ने चुनौती तथा जोखिमहरू, अध्यागमन नियमन सम्बन्धमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिका विषयमा परराष्ट्रसचिव राईको उपस्थितिमा विदेशस्थित नौवटा नेपाली नियोगसँग छलफल भएको थियो । 

‘वैदेशिक रोजगारीमा जाने प्रायः सबै नेपालीको उमेर १८–४० वर्षको हुने र हालै मुलुकमा भएको आन्दोलनको मुख्य मागलाई ध्यानमा राखी भिजिट भिसाको प्रक्रियालाई सरलीकृत र व्यवस्थित गर्न श्रम आप्रवासन व्यवस्थापन र अध्यागमन नियमनका क्षेत्रमा गरिनुपर्ने सुधारका विषयमा अन्तक्र्रिया गरिएको थियो,’ परराष्ट्रले बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि एकीकृत सूचना प्रणालीको उपयोग तथा तथ्यांक आदानप्रदान, अन्तरमन्त्रालय/अन्तरनिकाय समन्वय, द्रुत प्रतिकार्य टोलीको व्यवस्था, आपत्कालीन उद्धार कोषको स्थापना, भिजिट भिसामा जान बिमा गर्न सकिने सम्भावना, सम्बन्धित मुलुकको अध्यागमन निकायसँग पहुँच तथा समन्वयबारे छलफल भएको थियो ।’

मानव तस्करी नियन्त्रण र संलग्नलाई कारबाही, नियन्त्रित यात्रा अनुमति लागू गर्न सकिने सम्भावना, उद्धार तथा फिर्तीका लागि विभिन्न मुलुकसँग सम्झौता/समझदारी गर्ने सम्भावना, संस्थागत क्षमता अभिवृद्धि गर्ने, भिजिट भिसामा जानेको तथ्यांक आदानप्रदान प्रणाली लागू गर्नेलगायत विषयमा पनि छलफल भएको थियो । भिजिट भिसामा गई रोजगारीमा संलग्न हुनेमा भाषा तथा कामसम्बन्धी तालिमको अभाव र यसबाट सिर्जित समस्या, नियोगहरूमा विद्यमान कर्मचारी तथा बजेट अभावलाई सम्बोधन गर्नुपर्ने विषयमा गम्भीर छलफल भएको परराष्ट्रले जनाएको छ । 

सुझावित समाचार