एनआरएनए अध्यक्ष केसी र प्रधानमन्त्री कार्कीबिच भेट

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर उक्त प्रतिबद्धता जनाएको हो।

विश्वभरिका गैरआवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै अध्यक्ष डा. केसीले आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गरे। पुनर्निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न संघ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको उनको भनाइ थियो।

केसीले भने, ‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले मातृभूमिलाई आर्थिक रूपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन्। उनीहरूको पुँजी, सिप, अनुभव र ज्ञानलाई संस्थागत ढंगले प्रयोग गर्न सकिने व्यवस्था  मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुनेछ।’

जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणको लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गरिन्। पुनर्निर्माणका लागि नेपाली र गैरआवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उनले स्पष्ट पारिन्। उनले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन आग्रह गरिन्।

भेटमा अध्यक्ष डा. केसीले ‘एकपटकको नेपाली सदैव नेपाली’ भन्ने मूल उद्देश्यअनुरूप संविधान संशोधनमार्फत गैरआवासीय नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गरे। यस्तै, अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सुनिश्चित गर्नसमेत अनुरोध गरे। साथै, उनले गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारीसमेत गराएका थिए।

प्रधानमन्त्री कार्कीले संघको मताधिकारलगायत अन्य मागलाई सकारात्मक रूपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाइने आश्वासन दिइन्।

See More On

सुझावित समाचार