निर्जीवन बिमा कम्पनीहरूले जेन–जी आन्दोलनमा भएको क्षतिको दाबीको भुक्तानी चाँडै गर्ने प्रतिबद्धता गरेका छन् । क्षतिको यथार्थ विवरणसहित दाबीका लागि प्रक्रियामा आउन आग्रह गर्दै उनीहरूले छिटो भुक्तानी गर्ने बताएका हुन् ।
नेपाल निर्जीवन बिमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ । बिमा गरेका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन संघले आग्रहसमेत गरेको छ ।
संघका अध्यक्ष राजेन्द्र मल्लले बिमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बिमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन् । साथै, बिमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।
०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बिमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बिमा कम्पनीहरूको सक्रियता सकारात्मक र आशाजनक देखिएको अध्यक्ष मल्लले बताए ।
वर्तमान अवस्थामा बिमाको महत्व झनै बढेको सन्दर्भमा, बिमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बिमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जनाएको छ । बिमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणका आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने संघले स्पष्ट पारेको छ ।