विवादमा वैदेशिक रोजगार बिमा पुल : तोकिएको अनुपातमा व्यवसाय बाँडफाँट गर्न चार बिमा कम्पनीको आनाकानी

म्यादी जीवन बिमाको व्यवसाय र दायित्व तोकिएको अनुपातमा १५ कम्पनीले बाँड्नुपर्ने व्यवस्था, तर चार कम्पनीले टेरेनन्

आइतबार, १९ साउन, २०८२
डिजिटल संस्करण

चार जीवन बिमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमाको व्यवसाय बाँडफाँट गर्न अटेर गरेका छन् । नेपाल बिमा प्राधिकरणले कम्पनीहरूलाई तोकिएको अनुपातमा व्यवसाय बाँड्ने गरी म्यादी जीवन बिमा सञ्चालनका लागि सामूहिक बिमा कोष (पुल)को व्यवस्था गरेको थियो । तर, सोही व्यवस्थाअनुसारको व्यवसाय बाँड्न चार कम्पनीले आनाकानी गरेका हुन् ।

सरकारबाट निर्देशित तथा अनिवार्य गरिएको म्यादी बिमालाई १ साउन ०८१ देखि नै लागू हुने गरी सामूहिक बिमा कोष (पुल)मार्फत सञ्चालन गर्ने गरी प्राधिकरणले गत भदौमा निर्देशन जारी गरेको थियो । पुलमा आबद्ध कम्पनीलाई तोकिएको अनुपातमा व्यवसाय बाँड्ने व्यवस्था गरिएको थियो । तर, सन नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले उक्त व्यवस्थाको अवज्ञा गर्दै व्यवसाय बाँड्न आनाकानी गरेका हुन् ।

सुरुमा उक्त कोष नेपालमा सञ्चालनमा रहेका पुनर्बिमा कम्पनीहरूले संयुक्त रूपमा सञ्चालन गर्ने व्यवस्था थियो । हाल नेपालमा सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्स र निजी क्षेत्रको हिमालयन रि–इन्स्योरेन्स गरेर दुई पुुनर्बिमा कम्पनी छन् । तर, यिनीहरूले संयुक्त रूपमा कोष सञ्चालन गर्न सकेनन् । त्यसपछि प्राधिकरणले गत ५ वैशाखमा निर्देशन संशोधन गर्दै प्रत्येक पुनर्बिमा कम्पनीले पत्येक चार वर्षका लागि कोष प्रबन्धकका रूपमा काम गर्ने व्यवस्था गर्यो । १२ वैशाखमा हिमालयन रि–इन्स्योरेन्सलाई चार वर्षका लागि कोष प्रबन्धक बनाइयो । सोही मितिभन्दा अघि अर्थात् गत आवको १ साउनदेखि वैशाख पहिलो सातासम्मको व्यवसाय बाँडफाँट गर्न चार कम्पनीले आनाकानी गरेका हुन् । यो विवाद अहिले नेपाल बिमा प्राधिकरणमा पुगिसकेको छ ।

वैदेशिक रोजगारीमा जानेको अनिवार्य रूपमा म्यादी जीवन बिमा गर्नुपर्ने हुन्छ । गत आवको नौ महिनामा मात्रै वैदेशिक रोजगार बिमाबाट कुल दुई अर्ब ५८ करोड ७३ लाख रुपैयाँ बिमाशुल्क संकलन भएको छ, त्यसमा झन्डै ७० प्रतिशत व्यवसाय उक्त चार कम्पनीसँग रहेको प्राधिकरणको तथ्यांक छ । तोकिएको अनुपातमा व्यवसाय बाँडफाँट गर्दा आफूले संकलन गरेको व्यवसाय गुम्ने भएपछि उनीहरूले यसमा आनाकानी गर्दै आएको प्राधिकरणका एक अधिकारीले बताए । 

पुलमा मेट लाइफ र एलआइसीबाहेक १२ जीवन बिमा कम्पनी र तीन लघु जीवन बिमा कम्पनी आबद्ध छन् । उनीहरूले यस्तो बिमालेख बिक्री गरेर कोषमै जम्मा गर्नुपर्ने र तोकिएको अनुपातमा त्यसको व्यवसाय तथा दायित्व वितरण पेस गर्ने भनिएको छ । विगतमा गरिएको व्यवसायका आधारमा उनीहरूलाई व्यवसाय हिस्सा तोकिएको थियो । गत आवमा सन नेपाल लाइफलाई १४ प्रतिशत र अन्य कम्पनीलाई ४.६० देखि ९.९५ प्रतिशतको दरमा व्यवसाय दिने भनिएको थियो । यो पुलको विरुद्ध सर्वोच्चमा रिटसमेत परिसकेको छ ।

अहिले व्यवसाय बाँडफाँट गर्न आनाकानी गरेका सन नेपाल लाइफलाई १४ प्रतिशत, नेपाल लाइफलाई ९.९५ प्रतिशत, एसियन लाइफलाई ६.१७ प्रतिशत र नेपाल लाइफलाई ६.६४ प्रतिशत दिने भनिएको थियो । तर, उनीहरूले यस्तो व्यवसाय बाँडफाँट गर्न आनाकानी गर्दै आएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा कम्पनीहरूबिच समझदारी गराउने प्रयास भइरहेको बताए । यसमा छिट्टै सहमति हुने उनले बताए । यस्तै, नेपाल बिमक संघका अध्यक्ष पोषकराज पौडेलले पनि सहमतिका लागि प्रयास भइरहेको बताए । एक सातामा सहमतिमा पुग्ने उनले बताए ।

कुन कम्पनीले कति हिस्सा पाउँछन् ? 
गत आव ०८१/८२ मा १५ कम्पनीलाई न्यूनतम ४.६० प्रतिशतको दरमा ६९ प्रतिशत व्यवसाय बाँड्नुपर्नेछ । बाँकी ३१ प्रतिशत भने विगतको योगदानका धारमा विभिन्न कम्पनीलाई तोकिएको अनुपातमा थप वितरण गरिनेछ । चालू आव ०८२/८३ मा सबै कम्पनीलाई न्यूनतम ५.७० प्रतिशतको अनुपातमा ८५.५० प्रतिशत व्यवसाय बाँडफाँट गरिनेछ । बाँकी १४.५० प्रतिशत व्यवसाय भने विभिन्न कम्पनीलाई तोकिएको दरमा थप वितरण गरिनेछ । आगामी आव ०८३/८४ कोषमा आबद्ध सबै कम्पनीलाई बराबर अनुपातमा व्यवसाय बाँडिनेछ । त्यस आवदेखि प्रतिकम्पनी ६.६७ प्रतिशतको अनुपातमा व्यवसाय बाँडिनेछ । वैदेशिक रोजगारमा पर्ने दाबीको दायित्व पनि सोही अनुपातमा बाँडफाँट हुनेछ ।

साढे तीन अर्बबराबरको व्यवसाय 
नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्या उच्च छ । गत आवमा मात्रै आठ लाख ३९ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तर, वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुनेलगायतका जोखिम बढेपछि यस्तो बिमा अनिवार्य गरिएको थियो । यो बिमा कम्पनीहरूका लागि सुनिश्चित व्यवसाय हो । यसमा वार्षिक साढे तीन अर्ब रुपैयाँभन्दा माथिको व्यवसाय हुने गर्छ । यसलाई पुलमार्फत सञ्चालन गर्ने र पुलमा आबद्ध कम्पनीहरूलाई तोकिएको अनुपातमा व्यवसाय बाँड्ने व्यवस्था गरिएको छ ।

किन भयो विवाद ? 
हिमालयन रि–इन्स्योरेन्सलाई कोष प्रबन्धक बनाएपछिको अवधिमा कुनै विवाद देखिएको छैन । त्यसभन्दा अघिको अवधिको हकमा मात्रै समस्या भएको प्राधिकरण स्रोतले जनाएको छ । कोष प्रबन्धक नभएको बहानामा उक्त व्यवसाय आफूले नै पचाउने उनीहरूको दाउ थियो । ‘प्राधिकरणले जसले जति व्यवसाय गरे पनि कोषमा जम्मा गर्ने र तोकिएको अनुपातमा बाँडफाँट गर्ने भनेको हो,’ स्रोतले भन्यो, ‘तर, धेरै व्यापार गरेका चार कम्पनीले कोष प्रबन्धक नियुक्ति हुनुभन्दा अघिको अवधिको व्यवसाय बाँड्न आनाकानी गरेका छन् ।’ 

See More On

सुझावित समाचार