भ्रष्टाचार र महँगी बढेको भन्दै पाल्पाका सात दलले गराए सरकारको ध्यानाकर्षण

शुक्रबार, १७ साउन, २०८२
डिजिटल संस्करण

जिल्लामा क्रियाशील सात राजनीतिक दलले भ्रष्टाचार, अनियमितता, महँगी र कुशासनले पाल्पा पनि आक्रान्त भएको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीमार्फत दलका प्रतिनिधिहरूले १० बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन्।

पत्रमा यातायात व्यवस्था सेवा कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला मालपोत कार्यालयलगायत सरकारी कार्यालयहरूमा घुसविना काम नहुने गरेको, कृषि ज्ञान केन्द्रले अनुगमनका क्रममा मनपरी गरेको, जिल्लाका सरकारी कार्यालयहरूमा सत्तारूढ दलको हस्तक्षेप रहेको, कच्ची सडकहरूको स्तरोन्नति हुन नसकेको, चाडपर्वको समयमा वस्तुको कृत्रिम अभाव, मूल्य वृद्धि र म्याद गुज्रिएका सामानको बिक्री–वितरण हुने गरेका, जिल्लाका योजनामा बजेट नपरेकाजस्ता विषय समावेश छन्।

ध्यानाकर्षणपत्रमा नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति र नेकपाका पाल्पा प्रतिनिधिहरूको हस्ताक्षर छ। ध्यानाकर्षणपत्र लिँदै प्रजिअ सुवेदीले जिल्लामा गर्न सकिने कामका सवालमा सहजीकरण गरिरहेको बताउँदै दलहरूको ध्यानाकर्षणले सजग गराएको बताए।

सुझावित समाचार