साढे दुई करोड नाघे फोरजीका ग्राहक

एक वर्षमै थपिए ३० लाख फोरजी प्रयोगकर्ता

आइतबार, १२ साउन, २०८२
डिजिटल संस्करण

नेपालमा चौथो पुस्ताको मोबाइल सेवा (फोरजी)का ग्राहक संख्या साढे दुई करोड नाघेको छ । दूरसञ्चार प्राधिकरणका अनुसार सिमकार्ड बिक्रीका आधारमा फोरजीका ग्राहक (प्रयोगकर्ता) दुई करोड ५४ लाख ८२ हजार ६ सय ४७ पुगेका हुन् ।

प्राधिकरणको गत जेठ मसान्तसम्मको प्रतिवेदनअनुसार फोरजी सेवा खरिद गर्ने नेपाल टेलिकमका ग्राहक संख्या एक करोड ३८ लाख ९५ हजार दुई सय २२ पुगेका छन् । त्यसैगरी, एनसेलका फोरजी ग्राहक एक करोड १५ लाख ८७ हजार चार सय २५ पुगेका हुन् । एकै व्यक्तिले एकभन्दा बढी सिम लिने भएकाले नेपालको कुल जनसंख्याभन्दा बढी फोरजीका ग्राहक–प्रयोगकर्ता देखिन्छन् । 

नेपालमा १७ पुस ०७३ देखि फोरजी सेवा सुरु भएको हो । त्यसयता सेवाप्रदायक एनसेल र नेपाल टेलिकमले फोरजीको नेटवर्क विस्तार र ग्राहक वृद्धिलाई तीव्रता दिए । पछिल्लो एक वर्षमै फोरजीका ग्राहक ३० लाखले बढेको प्राधिकरणको तथ्यांक छ । सिम–सेवा बिक्रीका आधारमा गत वर्षको जेठसम्ममा फोरजी प्रयोगकर्ता दुई करोड २४ लाख ७२ हजार थिए । 

चौथो पुस्तको मोबाइल सेवा (फोरजी–एलटिई) तीव्र गतिको वायरलेस प्रविधि हो । यस प्रविधिमा आधारित भएर एलटिई, वाइम्याक्सलगायत सेवा सञ्चालन गर्न सकिन्छ । खासगरी फोरजीको प्रयोगबाट प्रत्यक्ष भिडियो कल गर्न, द्रुत गतिमा इन्टरनेट चलाउन, ठुला–ठुला फाइल डाउनलोड तथा अपलोड गर्न सहज बनाउँछ । विश्व बजारमा फोरजी सन् २००९ देखि नै सुरु भएको हो । नेपालमा भने १७ पुस ०७३ देखि सुरु भएको हो । 

प्राधिकरणका अनुसार गत जेठ मसान्तसम्ममा कुल इन्टरनेट प्रयोगकर्ता तीन करोड ४२ लाख १७ हजार पुगिसकेका छन् । यसमध्ये दुई करोड ६३ लाख ५२ हजारले मोबाइल ब्रोडब्यान्ड चलाउने गरेका छन् । कुल इन्टरनेटमा मोबाइल ब्रोडब्यान्डको हिस्सा ८९.१ प्रतिशत, फिक्स्ड ब्रोडब्यान्डको १०.७५ प्रतिशत र फिक्स्ड वायरलेसको ०.१० प्रतिशत प्रयोगकर्ता रहेका छन् । 

प्राधिकरणका अनुसार समीक्षा अवधिसम्ममा भ्वाइसतर्फ (टेलिफोन तथा मोबाइल)का ग्राहक दुई करोड ९६ लाख ६९ हजार पुगिसकेका छन् । यसमध्ये नेपाल टेलिकमका एक करोड ५६ लाख र एनसेलका एक करोड ४० लाख ग्राहक रहेका छन् । 
 

See More On

सुझावित समाचार