लोपोन्मुख वनकरिया समुदायको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित सुरु गरिएको होमस्टे संरचना पनि जीर्ण अवस्थामा
लोपोन्मुख वनकरिया समुदायको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको वनकरिया होमस्टे अहिले संकटमा परेको छ । मकवानपुरको मनहरी गाउँपालिका– ४, मुसेधापस्थित वनकरिया बस्तीमा निर्माण गरिएको होमस्टे प्रयोगविहीन त छ नै, जीर्णसमेत बनेको छ ।
साढे तीन वर्षअघि मनहरी गाउँपालिकाको आठ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको उक्त होमस्टे संरचना कमजोर बन्दै जाँदा अहिले जीर्ण अवस्थामा पुगेको हो । पर्यटक नआएकै कारण लामो समयदेखि प्रयोगमा नआउँदा संरचना कमजोर बन्दै गएको स्थानीय बताउँछन् । बाँसले बारिएको संरचना चिरा–चिरा पर्न थालेपछि होमस्टेमा अहिले बस्न सक्ने अवस्थामा छैन ।
वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बसेको घरलाई स्तरवृद्धि गरी दुईकोठे होमस्टे बनाइएको थियो । व्यावसायिक रूपमा सञ्चालन गर्ने गरी उक्त होमस्टे निर्माण गरिएको थियो । तर, पर्यटक नआउँदा प्रयोगविहीन बन्दै गएको होमस्टे अहिले पूर्ण रूपमा जीर्ण बनेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताइन् ।
‘वनकरिया बस्तीलाई पर्यटकीय गन्तव्य बनाउने सोचका साथ होमस्टे सञ्चालनमा ल्याइएको थियो । तर, पर्यटकको अभावमा होमस्टे सोचेअनुरूप सञ्चालनमा ल्याउन सकिएन,’ उनले भनिन्, ‘पर्यटक नै भएनन्, पर्यटक नभएपछि पैसा भएन र होमस्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सकिएन ।’ बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेको उक्त होमस्टे मनहरी गाउँपालिकाले लोपोन्मुख समुदाय वनकरियाको जीवनस्तर उकास्ने सोचका साथ सञ्चालनमा ल्याएको थियो ।
होमस्टे सञ्चालनसँगै त्यसको दिगोपन र व्यवस्थापनमा ध्यान दिन नसक्दा वनकरिया समुदायको आशा धराशायी अवस्थामा पुगेको छ । अहिले दिउँसो बस्ती घुम्न आउने पाहुनालाई खाना खुवाउने व्यवस्था भए पनि राति वास बस्न सक्ने अवस्था नरहेको वनकरियाकी अगुवा सन्तोषी बताउँछिन् ।
नेपालमै लोपोन्मुख वनकरिया समुदायको बस्ती हेर्न र उनीहरूको रहनसहन बुझ्न आउनेलाई बस्न सहज होस् भन्ने उद्देश्यले होमस्टे निर्माण गरिएको हो । होमस्टेले वनकरिया बस्तीको झल्को दिने गरी निर्माण गरिएको थियो । साथै, उक्त बस्तीमा उत्पादन भएको तरकारी, अन्न, फलफूल, सँगैको खोलाको माछा, त्यहीँको घट्टमा पिसेको पिठोका परिकार खुवाउने लक्ष्यका साथ होमस्टे निर्माण गरिएको थियो । तर, पर्यटक नहुँदा यो सुनसान बनेको छ ।