आर्थिक वर्ष ०८१/८२ मा सुर्खेतमा ४२३ सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा २९ जना पुरुष छन् जसमध्ये १२ जना चालक, एक बालक, ६ जना महिला र तीनजना बालिका रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ। आर्थिक वर्ष ०८०/८१ मा सुर्खेत जिल्लाभर ६७३ वटा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु, एक हजार १८४ घाइते भएका थिए भने आर्थिक वर्ष ०८१/८२ मा जिल्लाभर ४२३ वटा सवारी दुर्घटनामा परी ३८ जनाको मृत्यु, ९३६ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।
‘जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरण गर्नुको साथै राजस्व र ट्राफिक सचेतनामूलक कार्यक्रममा उल्लेखनीय वृद्धि गरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष ०८०/८१ मा ट्राफिक नियम उल्लंघन गर्ने १५ हजार ८४२ सवारी साधनहरूलाई कारबाही गरी एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो ।’
आर्थिक वर्ष ०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने १७ हजार १५१ सवारीसाधनहरूलाई कारबाही गरी एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ जुन आर्थिक वर्ष ०८०/८१ को तुलनामा २९ लाख १५ हजार पाँचले वृद्धि भएको प्रहरी निरीक्षक सुनारले बताए । आर्थिक वर्ष ०८१/८२ मा दुई हजार ५३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट एक लाख १३ हजार १०२ सवारीचालक, सहचालक र पैदल यात्रीहरू लाभान्वित भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।
कारबाहीमा परेका सवारीसाधनमध्ये ६ हजार ७५० मोटरसाइकल, जिप, कार, भ्यान तीन हजार ७२, ट्रक–टिपर, दुई हजार ८६१, अटो टेम्पो दुई हजार २५, बस तथा मिनीबस, एक हजार ६१४ र ८२९ ट्याक्टर रहेका छन्। जसमध्ये मोटरसाइकलबाट ५४ लाख २६ हजार, जिप, कार, भ्यानबाट २३ लाख ४६ हजार पाँच, ट्रक–टिपरबाट २७ लाख ६० हजार, अटो टेम्पोबाट १९ लाख २४ हजार पाँच, बस तथा मिनीबसबाट १४ लाख ४४ हजार पाँच सय र ट्याक्टरबाट ६ लाख १३ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक सुनारले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटना न्यूनीकरण गर्नका लागि क्याम्पस, विद्यालय, पैदल यात्री, चालक, सहचालक, सवारीधनीलक्षित दुई हजार ५३४ वटा ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको, लागुपदार्थ सेवन र मापसे चेकजाँचमा कडाइ, राडर गनको प्रयोग गरी गति नियन्त्रण गरेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
त्यस्तै, विभिन्न निकायहरूसँग समन्वयमा गरी ८८६ वटा रोड फर्निचरहरू राखेको छ । ओभर लोड नियन्त्रण गर्न २०६ वटा अतिरिक्त सिट निकालेको र मोडिफाई गरी चर्को आवाजमा चलाउने ८४ वटा सवारीसाधन नियन्त्रण गरी कारबाहीको दायरामा ल्याएको ट्राफिक कार्यालयले जनाएको छ ।