भोटेकोशीकाे बाढीले २५० मेगावाटका सात विद्युत् परियोजनाको उत्पादन बन्द

बिहिबार, २६ असार, २०८२
डिजिटल संस्करण

भोटेकोशी नदीमा आएको बाढीले जलविद्युत् परियोजना तथा पूर्वाधार क्षतिग्रस्त भएपछि २५०.५० मेगावाट विद्युत् उत्पादन ठप्प भएको छ । बाढीका कारण २३१ मेगावाटका पाँचवटा जलविद्युत् परियोजना बन्द भएको तथा सबस्टेसनमा क्षतिग्रस्त हुँदा सामान्य अवस्थामै रहेका साढे १९ मेगावाटका दुई आयोजनाको उत्पादन बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीले १११ मेगावाटको रुसुवागढी जलविद्युत् परियोजनाको हेडवक्र्स पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । १० वर्ष लगाएर विद्युत् प्राधिकरणले निर्माण गरेको यो परियोजना गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको ६ महिनामै यो परियोजना बाढीबाट प्रभावित भएको छ ।  यसैगरी, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको टेलरेसबाट पानी छिरेको छ । ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजनाको ड्यामसाइटको दुईवटा गेट क्षतिग्रस्त भएको छ । बाढीबाट प्रभावित यी तीनैवटा आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको छ । 

यस्तै, ड्यामसाइटमा ढुंगामुढा आएर थ्रुपिएपछि २४ मेगावाटको त्रिशुली जलविद्युत् परियोजना र १४ मेगावाटको देवीघाट जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । खोलाले धार परिवर्तन गरेर त्रिशूली ३ बी हब सबस्टेसनभित्र छिरेर १३२ कभी को ‘बेय’ लगायतका संरचनामा क्षति पुर्याएको छ । यसबाट विद्युत् प्रवाह गरिने १४.५ मेगावाटको मैलुङ र पाँच मेगावाटको बुद्धभूमि जलविद्युत् परियोजना पनि बन्द गरिएको छ । उक्त दुई परियोजनालाई बाढीले कुनै क्षति पुर्याएको छैन । तर, त्यसको विद्युत् प्रवाह हुने सवस्टेसन प्रभावित भएपछि सामान्य अवस्थामा रहेको उक्त दुई परियोजनाको विद्यु्त् उत्पादन बन्द गरिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । आर्थिक रुपमा क्षतिको विवरण आउन भने बाँकी छ । 

सुझावित समाचार