माओवादी अध्यक्ष प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह

मंगलबार, २४ असार, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘प्राकृतिक विपतकाे विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु ।’

अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन् । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा सरकारले उच्च सतर्कता अपनाउन र विपत् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याएका छन् ।

उनले भनेका छन्, ‘म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघसंस्था र नागरिकहरूलाई यो संकटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछु ।’

See More On

सुझावित समाचार