सरकारले बनाएको समिति तत्काल खारेज गर्न रास्वपाको माग

कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्न खोजेको आरोप

मंगलबार, १० असार, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरण छानबिन ढिसमिस पार्न कमजोर समिति बनाएको भन्दै पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा गठित समिति खारेज गर्न माग गरेको छ।

पार्टी प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनको मर्मविपरीत, कर्मकाण्डी र नागरिकको आँखामा छारो हाल्ने गरी स्वार्थप्रेरित समिति बनाएको टिप्पणी गरेका छन्। ठुला नेता र उच्चपदस्थ कर्मचारीसमेत तानिन सक्ने सम्भावनाका कारण कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्न खोजेको रास्वपाको आरोप छ।

‘भिजिट भिसा प्रकरणमा ठुला भनिएका नेता र उच्चपदस्थ कर्मचारीसमेत तानिन सक्ने सम्भावनाका कारण स्वार्थवश कमजोर समिति बनाएर छानबिन ढिसमिस पार्ने सरकारको उद्देश्यप्रति खबरदारी गर्दै गठित समिति तत्काल खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

भिजिट भिसा प्रकरण सामान्य प्रशासनिक त्रुटि नभएको जिकिर गर्दै रास्पवाले गृहमन्त्रीको परोक्ष संलग्नताको आशंका र प्रत्यक्ष संरक्षणको प्रारम्भिक प्रमाण देखिएको जनाएको छ।

‘छानबिनको कार्यादेशसमेत नदिई सरकारको बफादार आदेशपालक र शक्तिका सदावहार समर्थकको नेतृत्व र छानबिन गरिनुपर्ने मन्त्रालयहरूकै उच्चपदस्थ कर्मचारीको संलग्नतामा समिति बनाइनु समस्याको दीर्घकालीन समाधान खोज्न होइन, सम्भावित दोषी उम्क्याउन हो भन्ने हाम्रो ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।

सुझावित समाचार