बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध

विनयी खोलामा नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि १४ असारमा मात्र सञ्चालनमा आउने

शनिबार, ७ असार, २०८२
डिजिटल संस्करण
बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध

बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा सडक अवरुद्ध भएपछि फसेका गाडी

मनसुन सक्रिय भएसँगै पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्ड हरेक दिन अवरुद्ध हुन थालेपछि प्रहरी प्रशासनले वैकल्पिक रुटबाट सवारीसाधन चलाउन सुझाएका छन् । नवलपरासीको दाउन्ने र दुम्कीबास क्षेत्रमा पछिल्ला चारै दिन सडक अवरुद्ध हुने र खुल्ने भइरहेको छ । बिहीबार साँझ केही समय यातायात सञ्चालनमा आए पनि रातिबाट फेरि अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (पूर्व)का प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए । विनयी खोलामा बस फसेपछि बिहीबार राति ११ बजेदेखि सडक अवरुद्ध भएको हो भने दाउन्नेमा हिलो र चिप्लो भएपछि शुक्रबार बिहानदेखि अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले तत्काल सडक खुल्ने अवस्था नरहेको बताए । ‘विनयी खोलामा पानीको वहाब घटेको छैन । त्यही भएर डाइभर्सन बनाउन सकिएको छैन,’ उनले भने, ‘दाउन्नेमा पनि बाटो हिलो र चिप्लो छ । गाडी उकालोमा उक्लन सक्ने अवस्था छैन ।’ 

निर्माणाधीन सडक हरेक दिन अवरुद्ध हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सूचना नै जारी गरी ११३ किलोमिटर दूरीको बुटवल–नारायणगढ सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ । विनयी खोलामा नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि १४ असारमा मात्र सञ्चालनमा आउनेछ । तैपनि दाउन्नेखण्ड सहज नभएकाले यो बर्खाभर नै यात्रा सहज हुनेछैन । 

कालीगण्डकी करिडोरमा पनि समस्या 
बुटवल–नारायणगढ सडकखण्ड लगातार बन्द भएपछि वैकल्पिक मार्गका रूपमा चलाइएको कालीगण्डकी करिडोरमा पनि समस्या आउन थालेको छ । गैँडाकोटदेखि पाल्पाको रामपुर हुँदै बुटवलसम्म पुग्न सहज हुने बाटो कालीगण्डकी करिडोरमा पनि सडक अवरुद्ध हुन थालेको छ । गैँडाकोटमा पर्ने तरंगे खोलामा बिहीबार राति चार घण्टा सडक अवरुद्ध भएको स्थानीय यमबहादुर श्रेष्ठले बताए । सवारीसाधन जाममा पर्न थालेका छन् । 

विनयी खोलामा मध्यराति बस फस्यो, यात्रुको सकुशल उद्धार
नारायणगढ–बुटवल खण्डको नवलपरासीको विनयी खोलाको पुल गत पुसमा भासिँदा डाइभर्सन गरेर गाडी गुडाइँदै आएको छ । बुधबार राति बगाएको डाइभर्सन बिहीबार बनाएर यातायात नियमित गरिएको थियो । तर, काठमाडौंबाट दाङका लागि छुटेको भे.१ख ४०८५ नम्बरको बस बिहीबार राति ११ बजेतिर खोलामा फस्यो ।

खोलाको बिचभागमा फसेको बसका ३८ यात्रुलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले डेढ घण्टा लगाएर सुकुशल उद्धार गरेको छ । जेसिबीको बकेटमा राखेर र क्रेनबाट यात्रुलाई खोला पार गराइएको नवलपरासी (पूर्व) का प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । उद्धारको करिब १० मिनेटमा बस खोलाले बगाएको थियो । खोलाले बगाएको बस शुक्रबार बिहान पाँच सय मिटर तल फेला परेको छ । 

बिपी राजमार्गमा राति गाडी गुडाउन रोक 
बिपी राजमार्गमा १५ दिन राति सवारीसाधन चलाउन रोक लगाइएको छ । शनिबारबाट लागू हुने गरी साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन चलाउन रोक लगाइएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीको अन्तरजिल्ला समन्वय समितिको शुक्रबारको बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी सवारी चलाउन रोक लगाएको हो । ‘मनसुन सक्रिय छ, वर्षाका कारण विपत्को अवस्था आउन सक्ने जोखिम रहेकाले बिपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड रातिका लागि बन्द गरिएको हो,’ उनले भने । भोटेकोशी, सुनकोशी र रोशी नदीमा पानीको बहाव बढिरहेको छ । गत वर्ष मध्यअसोजको बाढीले बिपी राजमार्गको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक क्षति गरेको थियो । नौ किलोमिटर सडक बगेको छ । 

सुझावित समाचार