नेपाल प्रहरीमा पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (स्टाफ कलेज) सुरु भएको छ । गृहमन्त्री रमेश लेखकले कोर्सको उद्घाटन आइतबार गरेका हुन् । स्टाफ कलेज गरेका प्रहरी अधिकृतलाई मात्र नेतृत्व तहमा लैजाने उद्देश्यले कोर्स सुरु गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरी बलमा पहिलेदेखि नै यो कोर्स लागू भइसकेको छ ।
संसद्मा विचाराधीन प्रहरी ऐनको विधेयकमा स्टाफ कलेज नगर्ने अधिकृतलाई एसएसपीभन्दा माथिल्लो तहमा बढुवा नगरिने उल्लेख छ । यसले क्षमतावान् व्यक्ति मात्र प्रहरी नेतृत्वमा पुग्ने भएकाले स्टाफ कलेजलाई नेपाल प्रहरीमा कोसेढुंगाका रूपमा लिइएको छ ।
कोर्सको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीका लागि ऐतिहासिक दिन भएको बताए । ‘यो कोर्स नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउन सहयोगसिद्ध हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘सफल नेतृत्व चयनका लागि यसले सकारात्मक परिवर्तन ल्याउनेछ ।’
कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरीले विशेष गरी आर्टिफिसिएल इन्टिलिजेन्स र उन्नत प्रविधिबाट प्रभावित चुनौतीको सामना गरिरहेको उल्लेख गरे । उनले यस्ता चुनौतीको सामना गर्न सक्षम एवं भावी नेतृत्व तयार गर्न कोर्स तयार गरिएको बताए । भविष्यमा सक्षम र नैतिकवान् प्रहरी नेतृत्वका लागि महत्वपूर्ण यात्राको सुरुवात भएको उनको भनाइ छ ।
नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी सुदीप गिरीले धेरै वर्षको प्रयासपछि यो कोर्स कार्यान्वयनमा गएको र यसले प्रहरीको नेतृत्व विकास र आधुनिक पुलिसिङका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
१७ जना मात्र उत्तीर्ण
प्रहरीको स्टाफ कलेजको पहिलो ब्याचमा १७ जना प्रहरी अधिकृत मात्र उत्तीर्ण भएका छन् । चैत ०७० मा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको थियो । सो ब्याचका १३१ जना प्रवेश परीक्षामा सहभागी भएकोमा १७ जना मात्र उत्तीर्ण भएका हुन् । त्रिभुवन विश्वविद्यालयले प्रवेश परीक्षा लिएको थियो । गत ११ पुसमा बसेको पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली, २०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश, २०८१ स्वीकृत गरेको थियो । कोर्स १४ महिनाको हुनेछ । त्यसमध्ये १२ महिना आवासीय र दुई महिना थेसिसका लागि छुट्याइएको छ । एक ब्याचका अधिकृतले बढीमा तीनपटकसम्म प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् ।
यो कोर्सप्रति कतिपय प्रहरी अधिकारी असन्तुष्ट छन् । २० जना प्रहरी अधिकृतले कानुनमा नभएको कोर्स सुरु गर्न लागिएको भन्दै सर्वाेच्चमा रिट दायर गरेका थिए । तर, सर्वाेच्चले वृत्ति विकासमा समेट्ने वेला ऐनमा समावेश गरेर कोर्स अघि बढाउन आदेश दिएको थियो । प्रहरीमा २० वर्षदेखि नै स्टाफ कलेज लागू गर्नेबारे छलफल हुँदै आएको थियो । ०७५ देखि त बजेट नै विनियोजन हुँदै आएकोमा प्रहरी नेतृत्वको अनिच्छाका कारण सुरु हुन सकेको थिएन । निवर्तमान प्रहरी महानिरीक्षक वसन्त कुँवरले यसलाई अघि बढाउने पहल गरेका थिए ।
मुख्य नाकामा कुकुरसहितको विशेष चेकजाँच टोली
सशस्त्र प्रहरीले भारतसँगको मुख्य सीमानाकामा तालिमप्राप्त कुकुरसहित विशेष चेकजाँच टोली खटाएको छ । झापाको काँकडभिट्टा, पर्साको वीरगन्ज र रुपन्देहीको बेलहिया नाकामा विशेष टोली परिचालन गरिएको हो । पछिल्लो समय भारत र पाकिस्तानबिच बढेको तनावपछि भारतसँगको सीमामा कडाइ गर्न थालिएको स्रोत बताउँछ । अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा थप सक्रियता बढाइएको सशस्त्रले जनाएको छ । २४सै घण्टा सीमा गस्ती गर्ने र सिमाना भएर आवतजावत गर्नेको अभिलेखीकरण गर्ने कार्यसमेत कडाइका साथ थालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा हुन सक्ने अवैध आवतजावतलाई रोक्न सीमा इलाकाका स्थानीय निकायका प्रमुखसँग पनि सशस्त्र प्रहरीले भेटघाट, छलफल तथा अन्तत्र्रिmया गर्ने कार्यलाई समेत तीव्रता दिएको छ । सीमामा आवतजावत गर्नेसँग आवश्यकताअनुसार कागजपत्र जाँच गर्ने र सोधपुछ पनि कडाइ गरिएको छ । हालै बाहिनीपतिको जिम्मेवारीप्राप्त गरेका सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा उच्च निगरानी बढाउन निर्देशन दिएका थिए । सोहीअनुसार सीमा जोडिएका बाहिनी मुख्यालयले समेत यसलाई उच्च प्राथमिकतामा राखी सबै जिल्लामा सूक्ष्म रूपमा खबर संकलन तथा अप्रेसनल कार्य थालेका छन् । सीमा क्षेत्रमा २४सै घण्टा रहने गरी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा सञ्चालित लामो दूरीको पट्रोललाई निरन्तरता दिइएको छ ।