आइपिएल–२०२५ : मुम्बईको खराब प्रदर्शन जारी, लखनउको दोस्रो जित

शनिबार, २३ चैत, २०८१
डिजिटल संस्करण

 आवेश खानले अन्तिम ओभरमा मात्र सात रन खर्चिएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएलम)मा दोस्रो जित निकालेको छ । शुक्रबार घरेलु मैदानमा लखनउले मुम्बई इन्डियन्सलाई १२ रनले हरायो । पहिलो ब्याटिङ गरेको लखनउले आठ विकेट गुमाउँदै दुई सय एक रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा मुम्बईले पाँच विकेट गुमाउँदा मात्र एक सय ९१ रन बनाएको हो । 

अन्तिम ओभरमा मुम्बईलाई खेल जित्न २२ रन चाहिएको थियो । तर, क्रिजमा रहेका कप्तान हार्दिक पाण्ड्या र मिचल माट्नरले टिमलाई जिताउन सकेनन् । यसअघि तिलक बर्माले २३ बलमा २५ रन मात्रै बनाएपछि क्रिज छाडेका थिए । 
जितपछि लखनउ चार खेलबाट चार अंकसहित छैटौँ स्थानमा छ । मुम्बई चार खेलमा मात्र एक जितसहित सातौँ स्थानमा रह्यो । दुई खेलबाट चार अंकसहित पन्जाब किंग्स शीर्ष स्थानमा छ । यस्तै, दिल्ली, आरसिबी, गुजरात, कोलकाताको समान चार अंक रहेको छ । 

लखनउ पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले पराजित हुँदा दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध पाँच विकेटले विजयी भयो । तेस्रो खेलमा भने लखनउ पन्जाब किंग्ससँग आठ विकेटले पराजित भएको हो । पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग चार विकेट र दोस्रो खेलमा गुजरात टाइटन्ससँग ३६ रनले पराजित मुम्बईले तेस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको थियो । 

लक्ष्य पछ्याएको मुम्बईका लागि दुवै ओपनरले खराब प्रदर्शन गरे । मध्यक्रममा भने मुम्बईले सानदार प्रदर्शन गर्यो । सूर्यकुमार यादवले ६७ रन बनाएपछि मुम्बई जिततर्फ लम्किएको थियो । सूर्र्यकुमारले ४३ बलमा नौ चौका र एक छक्का हिर्काएका थिए । नमन धिरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाएका हुन् । यसअघि ओपनर विल ज्याक्सले पाँच र रायन रिकल्टनले जम्मा १० रन बनाएका थिए । तर, टोली अन्तिम ओभरमा भने चुक्यो । पाड्याले १६ बलमा २८ तथा साटनरले दुई बलमा दुई रन बनाए । लखनउका लागि शार्दूल ठाकुर, आकाश दीप, आभेष र दिगवेश राथीले समान एक विकेट हात पारे । 

यसअघि आइपिएलको १६औँ खेलमा टस हारेर ब्याटिङ गरेको लखनउका लागि ओपनरद्वय मिचल मार्स र ऐडन मारक्रमले अर्धशतक बनाएका थिए । मार्सले ३१ बलमा नौ चौका र दुई छक्कासहित आक्रामक ६० रन बनाए । मारक्रमले पनि ३८ बलमा दुई चौका र चार छक्कासहित ५३ रनको योगदान गरेका हुन् । दुई खेलाडीबिच पहिलो विकेटका लागि ४२ बलमा ७६ रनको साझेदारी भएको थियो । 

चौथो विकेटका लागि मारक्रम र आयुष बदोनीले ५१ रनको साझेदारी गरेका थिए । आयुष ३० रन बनाएर आउट भए । डेभिड मिलरले २७ रन जोडे । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले सर्वाधिक पाँच विकेट लिए । उनले चार ओभरमा ३५ रन खर्चिएका थिए । ट्रेन्ट बोल्ट, अश्वनी कुमार र भिगनेस पाथुरले समान एक विकेट हात पारेका हुन् । शनिबारको खेलमा चेन्नई र दिल्ली तथा पन्जाब र राजस्थान रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

See More On

सुझावित समाचार