लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

१४ खर्ब ९९ अर्बको अनुमानित लगानीको क्षेत्र पहिचान प्रदेशभित्र पाँच दिन बिदा थप गर्ने सरकारको निर्णय 

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्वीकृत गरेको आवधिक योजनामा प्रदेशको विकासका लागि विभिन्न योजना अघि सारेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । दोस्रो आवधिक योजनाले प्रदेशको भौगोलिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय विशेषतालाई ध्यानमा राखी विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको उनको भनाइ छ । 

आवश्यक वित्तीय स्रोत परिचालनका लागि १४ खर्ब ९९ अर्बको अनुमानित लगानीको क्षेत्र पहिचान गरिएको छ । योजनाको अन्त्यमा कुल गार्हस्थ्य उत्पादन ११ खर्ब ४९ अर्ब पुग्ने, कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (औसत) अनुमान ७ दशमलव ६ प्रतिशत पुग्ने गरिएको छ । योजनाले समृद्ध लुम्बिनी निर्माणका लागि विभिन्न रणनीति अघि सारेको छ । 

कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने, पर्यटन प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरणमार्फत आर्थिक गतिशीलता बढाउने, लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले दिने बिदाका अतिरिक्त प्रदेश सरकारबाट ०८२ सालमा थप पाँच दिन सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ । प्रदेश सरकारले बढीमा ६ दिन अतिरिक्त सार्वजनिक बिदा दिन सकिने व्यवस्था छ । जसअन्तर्गत लुम्बिनी प्रदेशले पाँच दिन सार्वजनिक बिदा दिने प्रस्ताव स्वीकृत गरेको हो ।

०८२ भदौ १० गते हरितालिका तिजमा प्रदेशभर बिदा दिने निर्णय गरिएको छ । त्यस्तै, माघी तथा माघे संक्रान्तिमा माघ २ गते, वसन्त पञ्चमी (श्रीपञ्चमी)मा माघ ९ गते, प्रदेश स्थापना दिवसमा माघ २१ गते, निश्चित पर्व मनाउने समुदायले पाउने बिदा भुम्या पूजा (रोल्पा, रुकुम पूर्व, दाङ), वड्का अत्तवारी (दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिम र भगवती जात्रामा पाल्पा जिल्लामा बिदा दिने निर्णय गरिएको छ । 
 

सुझावित समाचार