न्यून बजेट खर्च भएको लुम्बिनी प्रदेशमा विकासका योजनाहरूको भने चाङ नै थुप्रिएको छ । चालू आवमा गर्नुपर्ने १० लाखभन्दा कम बजेटका आयोजना मात्रै लुम्बिनीमा आठ हजार दुई सय ६ वटा रहेका छन् ।
त्यस्तै, पाँच लाखभन्दा कम बजेटका आयोजनाको संख्या चार हजार तीन सय ९२ रहेका छन् । प्रदेश सरकारले चालू आवको आठ महिनामा बजेट खर्च भने जम्मा ३१ दशमलव ५७ प्रतिशत मात्रै गरको छ ।
जसमा पुँजीगततर्फ २९ दशमलव ८२ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनीले जनाएको छ । समीक्षा अवधिमा चालूतर्फ ३४ दशमलव ५७ प्रतिशत बजेट खर्च भएको छ । बजेट कार्यान्वयन फितलो रहेको लुम्बिनीमा पुँजीगत र चालू गरी फागुन मसान्तसम्म ३१ दशमलव ५७ प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश सरकारको चालू आवका लागि ३८ अर्ब ९७ करोडको बजेट रहेको छ । त्यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख छुट्याइएको छ । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार ३२ अर्बभन्दा बढी रकमको ठेक्का पुस मसान्तसम्ममा लागिसकेको छ । अधुरा आयोजना धेरै हुँदा र आयोजना प्राथमिकीकरण कमजोर रहेका कारण यस्तो समस्या देखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
लुम्बिनी प्रदेश सभाका भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले प्रदेशमा योजनाको चाङ हुँदा अनुगमन पनि प्रभावकारी हुन नसकेको बताए । १० जिल्लाका विकास आयोजनाहरूको समितिले अनुगमन गरेको, तर टुक्रे योजना धेरै भएका कारण सबै योजना अनुगमन गर्न कठिन भएको बताए ।
‘१३ हजार योजना छन्, छनोट नहुँदा योजनाको चाङ छ, ठुला योजनाको बजेट कम छ, साना टुक्रे योजना धेरै छन्, सबैको अनुगमन गर्न समस्या छ,’ उनले भने । सरकारका समयमा धेरै योजना अगाडि बढेको र ठुला योजनामा बजेट कम विनियोजन भएको पाइएको उनले बताए । आवश्यकताका आधारमा नभई मागका आधारमा कतै–कतै योजना अगाडि बढेको पनि पाइएको उनले बताए ।