विश्वकप छनोटबाट बाहिरिए मेसी

बुधबार, ६ चैत, २०८१
डिजिटल संस्करण

चोटका कारण लियोनल मेसीले उरुग्वे र ब्राजिलविरुद्धको महत्वपूर्ण खेल गुमाउने

इन्टर मियामीका स्ट्राइकर लियोनल मेसीले दक्षिण अमेरिकी विश्वकप छनोट खेल गुमाएका छन् । विश्वकपको साबिक विजेता अर्जेन्टिनाले उरुग्वे र ब्राजिलविरुद्धको महत्वपूर्ण छनोट खेलबाट मेसीलाई बाहिर राखेको हो । अर्जेन्टिनाले मंगलबार बिहान दुई कठिन प्रतिद्वन्द्वीविरुद्ध खेलाडी घोषणा गर्दा मेसीलाई समावेश गरेन । अर्जेन्टिनी फुटबल संघले चोटका कारण कप्तानलाई टोलीमा समावेश नगरेको जनाएको छ । 

गत आइतबार मेजर सकर लिगमा मियामीले एटलान्टा युनाइटेडविरुद्ध जित निकाल्दा मेसीले प्रतिस्पर्धा गरेका थिए । ३७ वर्षीय मेसीले सोही खेलमा चोटग्रस्त भए । ‘आठपटकको बालोन डियर विजेता खेलाडीलाई चोट लागेको छ,’ मियामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अहिले हामीले उसलाई आराम दिएका छौँ ।’ गत साता कान्काफ च्याम्पियनसिप कपमा मेसी सुरुवातमा बेन्चमा थिए । दोस्रो हाफमा मैदानमा फर्कँदै उनले मियामीका लागि गोलसमेत गरे । यसअघि उनले चोटकै कारण तीन खेलमा विश्राम पाएका थिए । 

विश्वकप छनोट खेल गुमाएपछि मेसीले सोसल मिडियामा समर्थकसँग माफी मागेका छन् । ‘अहिले मैदानमा जान सक्ने अवस्था छैन, सबै अर्जेन्टिनी समर्थकसँग माफी माग्न चाहन्छु,’ उनले भनेका छन्, ‘अर्जेन्टिनाको नजरमा उरुग्वे र ब्राजिलविरुद्धको खेल निकै महत्वपूर्ण हो, जुन खेल मैले गुमाउन बाध्य भएको छु ।’  

शीर्ष स्थानमा अर्जेन्टिना
दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनी शीर्ष स्थानमा छ । अर्जेन्टिनाले १२ खेलमा २५ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २० अंक जोडेको छ । अर्जेन्टिनाले उरुग्वेमाथि पाँच अंकको अग्रता लिएको छ । पाँचपटकको विश्वकप विजेता ब्राजिल १८ अंकका साथ पाँचौँ स्थानमा छ । दक्षिण अमेरिकाबाट शीर्ष ६ टोली विश्वकपमा पुग्नेछन् । यस क्षेत्रमा १० टोलीबिच प्रतिस्पर्धा भइरहेको छ । अर्जेन्टिनाले ब्राजिललाई सात अंकले पछाडि राखेको छ । अहिले विश्वकप छनोटमा ६ खेल बाँकी छ ।

See More On

सुझावित समाचार