वीरगन्ज गोल्डकप : मच्छिन्द्रले सेमिफाइनलमा सहलेसको सामना गर्ने

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

दोस्रोे वीरगन्जमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबले सहलेस सर्लाहीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । आदर्शनगर खेल मैदानमा मंगलबार भएको क्वार्टरफाइनलमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मच्छिन्द्रले अन्तिम चारको स्थान पक्का गरेको हो ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । मच्छिन्द्रको तुलनामा चर्च ब्वाइजले मध्यान्तरअघि गोल अवसर पाएको थियो । तर, स्तरीय फिनिसिङ र फाइनल डर्थमा चुक्दा चर्च ब्वाइजले मौका गुमाएको हो । पहिलो हाफको गल्ती सच्याउँदै मच्छिन्द्रले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो । खेलको ५४औँ मिनेटमा मच्छिन्द्रले १–० को अग्रता लियो । कप्तान रेजिन सुब्बाले डिबक्सभित्र विशाल तामाङको सटिक पासमा गोल गरे । 

खेलको ७६औँ मिनेटमा चर्च ब्वाइजले १–१ को बराबरी गोल फर्काएको थियो । ब्वाइज युनाइटेडका कप्तान डिका सेर्गेले बराबरी गोल गरेका हुन् । खेलको अन्तिम पाँच मिनेटको इन्जुरी समयमा मच्छिन्द्रले विपक्षीको गल्तीमा २–१ को अग्रता लियो । कप्तान रेजिनले डिबक्समा प्राप्त सहज अवसरमा विजयी गोल गरेका हुन् ।

जुनियर खेलाडीले उत्कृष्ट खेले : ज्ञानु क्षेत्री, प्रशिक्षक, मच्छिन्द्र
वीरगन्जमा हामी दोस्रो रोजाइका खेलाडीका साथ आएका हौँ । जुनियरहरूले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सियिनर खेलाडीलाई आराम दिइएको छ । सिनियर खेलाडीहरूले लगातार तेस्रोपटक केपी ओली कप जितेका थिए । यसकारण उनीहरूलाई रेस्टमा राखिएको हो । यद्यपि, टोलीमा केही सिनियर खेलाडी छन् । अर्को खेलदेखि पहिले सेटकै खेलाडी आउनेछन् । विपक्षीको रणनीतिअनुसारै प्रतिस्पर्धा गरौँ ।

खेलाडीबिच तालमेल भएन : ईश्वर घिमिरे, प्रशिक्षक, चर्च ब्वाइज  
सबै मुख्य खेलाडी घाइते छन् । यसले नतिजामा फरक पर्यो । सुरुमा हामीले राम्रो खेल्यो । तर, खेलाडी चोटग्रस्त हुँदै गएपछि हामीले खेलमा गति लिन सकेनौँ । खेलाडीबिच पनि तालमेल हुन नसक्दा पराजित भएको हो । अन्य खेलमा सुधार गरिनेछ । अनुभवी खेलाडी र जुनियरबिच तालमेल मिल्न सकेन । मच्छिन्द्रले हामीविरुद्ध धेरै राम्रो खेलेको हो । उनीहरू जितको हकदार हुन् । 

सुझावित समाचार