काठमाडौं महानगरमा कार्यकारी पठाउन सिंहदरबारको अझै आलटाल

सामान्य प्रशासन मन्त्रालयले माग्यो छानबिन समितिको प्रतिवेदन

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकासँग प्रमुख प्रशासकीय अधिकृत निलम्बनसम्बन्धी छानबिन प्रतिवेदन माग गरेको छ । काठमाडौं भ्यु टावरको नक्सापाससम्बन्धी विवादमा तानिएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि महानगरले तयार पारेको प्रतिवेदन अध्ययनपछि मात्रै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन सकिने भन्दै छानबिन समितिको प्रतिवेदन माग गरिएको हो । 

हालसम्म सरकारले महानगरमा प्रमुख प्रशासकीय अधिकृत पठाउनेबारे कुनै निर्णय गरेको छैन । मन्त्रालयले गत बिहीबार नै प्रतिवेदन माग गरेको थियो । ‘महानगरपालिकाले आफूले गरेको छानबिनको प्रतिवेदन पठाएको छैन, यदि प्रतिवेदन आएको भए त्यसको छिनोफानो भइसक्थ्यो,’ मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले भने, ‘त्यहाँ गरेको छानबिन प्रतिवेदन पठाउनू भनेर बिहीबार नै चिठी लेखेका छौँ, तर प्रतिवेदन आएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हामीलाई सो प्रतिवेदन पेस गर्न निर्देश गरेको छ, प्रतिवेदन अध्ययन गरेर बुझाएपछि मात्रै नयाँ पठाउने सम्बन्धमा टुंगो लाग्ला ।’

पराजुलीका अनुसार महानगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत कारबाहीमा तानिएपछि ७ पुसदेखि बिदामा छन् । महानगर प्रमुख बालेन्द्र शाहका स्वकीयसचिव भूपदेव शाहले सामान्य प्रशासन मन्त्रालयले माग गरेको प्रतिवेदन प्रक्रियाअनुसार पठाउने बताए । ‘छानबिन समितिले काम गरिरहेको छ । प्रतिवेदन माग भएअनुसार प्रक्रिया पुर्याएर पठाउँछौँ,’ उनले भने । 

कानुनविपरीत काठमाडौं भ्यु टावरको नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं ७ पुसमा कारबाहीमा परेका थिए । तर, सामान्य प्रशासन मन्त्रालयले साढे दुई महिना पुग्न लाग्दासम्म पनि नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा महानगरका सबै आर्थिक गतिविधि ठप्प अवस्थामा छ । 

कहाँ कति रिक्त ?

  • ६ महानगरमध्ये वीरगन्जमा रिक्त
  • ११ उपमहानगरमध्ये ६ वटामा रिक्त
  • २७६ नगरपालिकामध्ये सयवटामा रिक्त
  • ४६० गाउँपालिकामध्ये ११९ वटामा रिक्त

एक महानगर, ६ उपमहानगर, सय नगरपालिका, ११९ गाउँपालिका निमित्तका भरमा
स्थानीय सरकारलाई केन्द्र सरकारले प्रशासकीय अधिकृत पठाउन सधैँ ढिलो गर्ने गरेको छ । हाल एक महानगर, ६  उपमहानगरपालिका, सय नगरपालिका र ११९ गाउँपालिकामा प्रशासकीय अधिकृत छैनन् । यी सबै पालिकामा निमित्त तोकिएको छ । काठमाडौं महानगरपालिकाबाहेक अन्य पालिकामा आर्थिक अधिकार हस्तान्तरण गरेर त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अवकाश तथा अन्यन्त्र सरुवा भएका छन् । अन्यत्र आर्थिक तथा अन्य प्रशासनिक क्षेत्रमा ठुलो असर नपरे पनि काठमाडौंमा असर परेको छ । 

काठमाडौंमा आफैँ कारबाहीमा परेका सरोज गुरागाईंले आर्थिक अधिकारका लागि निमित्त तोक्न पाएनन् । सोहीकारण महानगरमा भुक्तानीको काम ठप्प छ । खाली भएका उपमहानगरपालिकामा एक सातापछि प्रमुख प्रशासकीय अधिकृत पठाइने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । चार–पाँच दिनपछि ३० नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइने र अन्य नगरपालिकामा अझै एक महिना समय लाग्ने मन्त्रालयका प्रवक्ता पराजुलीले बताए । उनका अनुसार गाउँपालिकामा भने प्रमुख प्रशासकीय अधिकृत पठाउन समय लाग्नेछ । वीरगन्ज महानगरपालिकामा शुक्रबारदेखि प्रशासकीय अधिकृतले अवकाश लिएपछि निमित्त तोकिएको छ । नयाँ प्रशासकीय अधिकृत पठाउनेबारे छलफल नभएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता पराजुलीले बताए । 
 

सुझावित समाचार