ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की वार्ता तनावपूर्ण

करिब ५० मिनेट लामो प्रत्यक्ष प्रसारणको अन्तिम दश मिनेट चर्काचर्की, खनिज सम्झौता भएन, अपमानित भएर निस्किए जेलेन्स्की

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण
ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की वार्ता तनावपूर्ण

ह्वाइट हाउस वार्तामा राष्ट्रपति ट्रम्प, समकक्षी जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्स

  • ह्वाइट हाउसमा तनावपछि के–के भए ?
  • जेलेन्स्कीद्वारा खेद प्रकट, ट्रम्प प्रशासनद्वारा माफीको माग
  • विभाजित युरोप स्लोभाकिया र हंगेरी ट्रम्पको पक्षमा, बेलायतसहित युरोपका देश युक्रेनको पक्षमा
  • रुसले भन्यो– अमेरिकाले जेलेन्स्कीलाई उनको यथार्थता बताइदियो
  • युरोपेली देशका नेताहरूसँग वार्ता गर्न जेलेन्स्की लन्डनमा, शान्तिको पक्षमा रहेको प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबिच शुक्रबार ह्वाइट हाउसमा भएको वार्ता तनावपूर्ण रूपमा टुंगिएको छ । महत्वपूर्ण सम्झौता गर्ने अपेक्षासहित अमेरिका पुगेका जेलेन्स्की र रुस–युक्रेन युद्ध रोक्न पहल थालेका ट्रम्पबिच चर्काचर्की भएपछि वार्ता निष्कर्षविहीन टुंगिएको हो । वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहभागी थिए । ट्रम्प–जेलेन्स्की असफल वार्तालाई लिएर विश्वभरका नेताहरूले प्रतिक्रिया जनाएका छन् । 

रुससँग जित्न नसक्ने लडाइँमा सम्झौता गर्न आनकानी गरेर जेलेन्स्कीले तेस्रो विश्वयुद्धतर्फ धकेल्न खोजेको राष्ट्रपति ट्रम्पले आरोप लगाएपछि वातावरण तनावपूर्ण बन्दै गएको थियो । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्वाभिमान र सार्वभौमिकतामा सम्झौता गर्न नसकिने बताएका थिए । सहज रूपमा वार्ता नटुंगिएपछि संयुक्त प्रेस सम्मेलन रद्द गरियो र जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर जान भनिएको थियो । अमेरिकी मिडियामा आएको समाचारअनुसार ट्रम्प र उनका अन्य अधिकारीले भेटवार्तामा सवालजवाफमा उत्रिने जेलेन्स्कीको व्यवहारबाट अपमानित महसुस गरे । त्यसैले ट्रम्पसँगको भेटघाटका लागि अलग कोठामा बसिरहेका जेलेन्स्कीसँग थप संवाद नहुने भन्दै ह्वाइट हाउसबाट बाहिरिन सन्देश पठाएको ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले फक्स न्युजलाई बताए । ट्रम्प प्रशासनको यस्तो सन्देशलगत्तै जेलेन्स्की ह्वाइट हाउसबाट निस्किए । परिणामस्वरूप ट्रम्प र जेलेन्स्कीबिच पूर्वनिर्धारित पत्रकार सम्मेलन रद्द हुन पुग्यो ।

ट्रम्प–जेलेन्स्की वार्ताको परिदृश्य हेरिरहेका विश्वभरका कूटनीतिज्ञलाई यो घटनाले आश्चर्यचकित पारेको छ भने अमेरिका–युक्रेन सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ । यसबाहेक रुस–युक्रेन युद्धको अनिश्चितता बढाएको छ । अमेरिकी सहयोगमा रुससँग लडाइँ गरिरहेको युक्रेनमाथि दबाब बढेको छ । ह्वाइट हाउसको असफल वार्तापछि लन्डन पुगेका जेलेन्स्कीलाई युरोपियन देशले समर्थन र सहयोग गर्ने बताएका छन् । 

रुस–युद्ध युद्धविरामको विषयमा असहमतिका कारण अमेरिकी राष्ट्रपतिले सार्वजनिक रूपमा अपमान गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएका थिए । ह्वाइट हाउसको ओभल अफिसमा भएको चर्काचर्कीपूर्ण बैठकमा डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई सार्वजनिक अपमान गरेको भन्दै युरोपेली नेता र विपक्षी डेमोक्र्याटिक सांसदहरूले भने जेलेन्स्कीको बचाउ गरेका छन् । 

अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीलाई ‘तेस्रो विश्वयुद्धसँग जुवा खेलेको’ आरोप लगाएका थिए भने उपराष्ट्रपति भान्सले युक्रेनी नेता ‘कृतघ्न’सम्म भने । चर्काचर्की बढेसँगै रुसले तीन वर्षअघि युक्रेनमा आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रक्रिया सुरु गर्ने उद्देश्यले गरिएको भेटवार्ता विनासहमति टुंगियो । 

जेलेन्स्की अमेरिकासँगको दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर नगरी ह्वाइट हाउसबाट बाहिरिए । ट्रम्पले युद्धविराम सम्झौताका लागि खनिज सम्झौता पहिलो कदम हुने बताएका छन् । 

उता ओभल अफिसमा ट्रम्प–भान्स र जेलेन्स्कीबिचको चर्काचकीलाई विपक्षी डेमोक्र्याटका सांसदले एक स्वरमा विरोध जनाएका छन् । तिनले ट्रम्प–भान्सले युक्रेनी नेतासँग ‘लज्जास्पद’ र ‘घृणीत’ व्यवहार गरेको भन्दै निन्दा गरेका छन् र जेलेन्स्कीको पनि बचाउ गरेका छन् । 

जेलेन्स्कीले अमेरिकी सहयोगका लागि कृतज्ञता व्यक्त नगरेको भान्सको आरोपतर्फ संकेत गर्दै डेलावेयरका डेमोक्र्याटिक सिनेटर क्रिस कुन्सले एक्समा लेखेका छन्, ‘हरेकपटक राष्ट्रपति जेलेन्स्कीसँग भेट हुँदा, हाम्रो बलियो समर्थनका लागि उनले अमेरिकी जनतालाई धन्यवाद दिन्छन्,’ उनले थप अगाडि लेखेका छन्, ‘हामीले उनलाई लोकतन्त्रको अग्रपंक्तिमा लडिरहेको राष्ट्रको नेतृत्व गरेकोमा आभार दिनुपर्छ, ह्वाइट हाउसमा बोलाएर सार्वजनिक गाली होइन ।’

क्यालिफोर्नियाका सिनेटर एडम सिफले पनि ट्रम्पको आलोचना र जेलेन्स्कीको प्रशंसा गरेका छन् । ‘आज ओभल अफिसमा एक नायक र एक कायर भेटिरहेका छन् । बैठक सकिएपछि नायक युक्रेन घर फर्कनेछन् ।’ कनेक्टिकटका डेमोक्र्याटिक सिनेटर क्रिस मर्फीले जेलेन्स्कीको अपमान भएकोप्रति दुःख व्यक्त गर्दै भने, ‘अमेरिकाका लागि अति लाजमर्दो कुरा । पूर्णत दुःखद दृश्य ।’

एरिजोनाका सिनेटर रुबेन ग्यालेगोले ओभल अफिसको घटनालाई लज्जास्पदको संज्ञा दिए । त्यस्तै मेरिल्यान्डका सिनेटर क्रिस भ्यान होलेनले पनि दृश्यहरूलाई ‘अत्यन्तै लज्जास्पद’का रूपमा वर्णन गरे । इलिनोइसका सिनेटर डिक डर्बिनले युक्रेनका जनता र राष्ट्रपति जेलेन्स्कीसँग माफी माग्नुपर्ने बताउँदै भने, ‘ट्रम्प र भान्सले जेलेन्स्कीलाई गाली गरेर झुट र गलत सूचनाको प्रदर्शन गरे, जसले पुटिनलाई खुसी बनाउनेछ । यो अमेरिकाका लागि लज्जास्पद र हाम्रा सहयोगीप्रतिको विश्वासघात हो ।’

सिनेट डेमोक्र्याटिक नेता चक सुमरले ट्रम्प–जेलेन्स्की बैठकपछि ट्रम्पको विरोध गर्दै आफ्नो पार्टी ‘स्वतन्त्रता र लोकतन्त्रको संघर्षमा कहिल्यै नरोकिने’ बताए । रोड आइल्यान्डका डेमोक्र्याटिक सिनेटर सेल्डन ह्वाइट हाउसले ट्रम्प र भान्सलाई ‘पुटिनका लागि कठपुतलीजस्तो भएको’ आरोप पनि लगाए ।

डेमोक्र्याटिक सांसदहरूले जेलेन्स्कीको बचाउ गर्दा रिपब्लिकन सिनेटर भने ट्रम्पको बचाउमा उभिएका छन् । राष्ट्रपति ट्रम्पको जेलेन्स्कीसँगको चर्काचर्कीलाई तिनले ‘अमेरिकालाई पहिलो स्थानमा राखेको’ प्रमाणका रूपमा वर्णन गर्ने प्रयास गरेका छन् । उताहका रिपब्लिकन सिनेटर माइक लीले ट्रम्प र भान्सलाई ‘हाम्रो देशको पक्षमा उभिएका र अमेरिकालाई पहिलो स्थानमा राखेकोमा’ धन्यवाद दिए । 

इन्डियाना रिपब्लिकन सिनेटर जिम बैंक्सले पनि ट्रम्पलाई ‘अमेरिकाको पक्षमा उभिनुभएकोमा’ धन्यवाद दिए । ‘(जेलेन्स्की) कृतघ्न रूपमा हामीबाट आर्थिक सहयोग लिने र युद्ध लम्बाइरहने अपेक्षा गर्छन्, त्यो पनि राष्ट्रपतिको अनादर गरेर,’ बैंक्सले समाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यस्तो व्यवहार अमेरिकीका लागि अपमानजनक छ ।’

जेलेन्स्कीप्रति ट्रम्पको हप्तौँदेखिको निराशाको विस्फोट
यस विषयसँग जानकार स्रोतहरूलाई औँल्याउँदै रोयटर्सले लेखेअनुसार ट्रम्प र उनका वरिष्ठ सहयोगी युद्ध छिट्टै अन्त्य गरेर मस्कोसँग सम्बन्ध पुनस्र्थापित गर्ने र युक्रेनको खनिजलाई लिएर आकर्षक सम्झौता गर्ने लक्ष्यमा जेलेन्स्की अवरोधका रूपमा रहेको बुझाइले यो अवस्था आएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पको जेलेन्स्की तथा युक्रेनविरोधी अडान लामो समयदेखि परिचित विषय हो । तर, जेलेन्स्की र ट्रम्पबिचको सम्बन्ध पछिल्लो साता झन् तिक्त बन्दै गएको थियो । युक्रेनको प्राकृतिक स्रोतहरूको संयुक्त विकास गर्ने खनिज सम्झौतालाई लिएर वार्ता अघि बढ्न नसकेपछि ट्रम्प रुष्ट थिए ।

शुक्रबार टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखिएको असाधारण संवादले पुनः वासिंटनको मस्कोसँगको सम्बन्धको यु–टर्नलाई पुनः जोड दिएको छ । हालैका साता ट्रम्पले दशकौँदेखिको अमेरिकी विदेश नीतिलाई बेवास्ता गर्दै सार्वजनिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्ष लिन थालेका छन् । उनी पुटिनको जिम्मेवारी लिएझैँ युद्ध अन्त्य गर्ने विषयमा उनी इमानदार रहेकोसम्म भन्न पछि पर्दैनन् । भलै प्रायः पश्चिमी अधिकारी, गुप्तचर अधिकारी यस मतमा सहमत छैनन् । 

शुक्रबार ओभल अफिसमा भएको कुराकानी सामान्य शुभकामनासहित सुरु भयो । तर, करिब ५० मिनेट लामो प्रत्यक्ष प्रसारणको अन्तिम दश मिनेट चर्काचर्कीमा परिणत भयो । उपराष्ट्रपति भान्सले जेलेन्स्कीलाई अमेरिकी समर्थनप्रति कृतघ्न भएको आरोप लगाएपछि छलफल तिक्त बनेको देखियो । 

ह्वाइट हाउसका दुई अधिकारीलाई उद्धृत गर्दै रोयर्टसले लेखेअनुसार जेलेन्स्कीविरुद्ध आक्रमणको कुनै पूर्वयोजना थिएन । खासमा शुक्रबारको भेटघाट ट्रम्पका लागि जितमा परिणत हुने र जेलेन्स्कीले खनिज सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा थियो । तथापि, ट्रम्प–भान्सको आक्रोश आवेशमा अचानक नआएको पनि यस विषयका जानकार तीनजनालाई उद्धृत गर्दै रोयटर्सले भनेको छ । 

स्रोतहरूका अनुसार पछिल्लो साता ह्वाइट हाउसभित्र जेलेन्स्कीप्रति निराशा बढेको थियो । विशेष गरी ट्रम्पका अधिकारीहरूले युक्रेनसँग खनिज सम्झौतामा वार्ता गर्ने प्रयास गरेपछि तनाव बढ्यो । ह्वाइट हाउसका अधिकारीमाझ बढ्दो असन्तुष्टिबिच जेलेन्स्कीको भ्रमण नै रोकिने जोखिमसमेत उठेको चर्चा थियो । युक्रेनी राष्ट्रपति सम्झौतालाई लिएर हिच्किचाइरहँदा उनलाई ह्वाइट हाउस भ्रमणको निमन्त्रणा गर्ने विषयमै अन्योलमा थियो । 

पछि जेलेन्स्कीलाई संयुक्त राज्य अमेरिका भ्रमणको निम्तो दिने सहमति भयो । उता निमन्त्रण दिइसकिएको थियो, यता ट्रम्पका अन्य निराशा अझै थिए । ट्रम्पले आफ्ना निकटतम् सल्लाहकारलाई जेलेन्स्कीले युक्रेनका लागि अमेरिकी समर्थन बढाउने प्रयास गर्ने तरिका मन नपर्ने बताउन थालेका थिए । विशेष मिडिया र कंग्रेसबाट समर्थन हासिल गर्न उनले गर्ने गरेको प्रयासप्रति उनको संकेत थियो । पछिल्ला समय उनले आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग जेलेन्स्कीको कार्यकालको भविष्यबारे पनि कुरा गर्न थालेका थिए । 

ट्रम्पले सार्वजनिक रूपमै युक्रेनमा चुनाव सम्पन्न गर्न भइरहेको ढिलाइप्रति खुलेआम असन्तुष्टि जनाइसकेका छन् । सन् २०२४ मा आफ्नो आधिकारिक पाँचवर्षे कार्यकाल सकिएपछि चुनाव नगरेकोमा गत साता ट्रम्पले जेलेन्स्कीलाई ‘तानासाह’समेत भनेका थिए । रुसले पनि विगतमा यो कुरा उठाएर उनलाई अवैध नेता भएको दाबी गरेको थियो । युक्रेनी कानुनले ‘मार्सल ल’ लागेको समयमा चुनाव गर्न निषेध गर्दछ, जुन युक्रेनले फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेको दिनदेखि लागू गरेको छ । 

ट्रम्प, जेलेन्स्की र भान्सबिचको चर्काचर्कीमा कसले के भनेका थिए

दुनियाँभरका टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबिच भएको संवाद :

जेडी भान्स : चार वर्षसम्म संयुक्त राज्य अमेरिकाका एक राष्ट्रपतिले पत्रकार सम्मेलनमा उभिएर भ्लादिमिर पुटिनविरुद्ध कठोर भाषा प्रयोग गरे । त्यसले पुटिनलाई युक्रेनमाथि आक्रमण गर्न रोकेन । उनले आक्रमणमार्फत युक्रेनको एक महत्वपूर्ण भाग ध्वस्त पारे । त्यसैले शान्ति स्थापना र समृद्धितर्फको यात्राका लागि सायद कूटनीतिमा संलग्न हुनुपर्छ । हामी जो बाइडेनको बाटो पनि हिँड्यौँ । त्यसवेला हामीले छाती ठोक्ने र अमेरिकाका राष्ट्रपतिको शब्द उनका कदमभन्दा बढी महत्वपूर्ण रहेको बहाना गरिरह्यौँ । अमेरिका राम्रो देश किन छ भने यो देश कूटनीतिमा संलग्न हुन्छ । राष्ट्रपति ट्रम्पले अहिले त्यही गर्न खोजेका हुन् ।

भोलोदिमिर जेलेन्स्की : उनले (पुटिनले) सन् २०१४ मा युक्रेनका विभिन्न भाग कब्जा गरे । त्यसवेला राष्ट्रपति ओबामा थिए । त्यसपछि राष्ट्रपति ट्रम्प भए । अनि राष्ट्रपति बाइडेन आए र अहिले पुनः राष्ट्रपति ट्रम्प फर्किएका छन् । उनले (ट्रम्पले) पुटिनलाई रोक्नेछन् । तर, सन् २०१४ मा उनलाई कसैले रोकेनन् । उनी विनाअवरोध भूमि कब्जा गरेर त्यसमाथि अधिकार जमाउन सफल भए । यस क्रममा मान्छे मारे । सन् २०१४ देखि २०२२ सम्म अवस्था उस्तै थियो– मानिसहरू सम्पर्क लाइनमा मरिरहेका थिए र कसैले पनि उनलाई रोकेनन् । 

हामीले उनीसँग धेरैपटक कुराकानी गर्‍यौँ । द्विपक्षीय कुराकानी पनि भए । सन् २०१९ मा राष्ट्रपति बनेपछि उनीसँग म्याक्रोन र मर्केलसँगै युद्धविराम सम्झौतामा हस्ताक्षर गरेँ । भन्न त मलाई सबैले यति गरे पनि उनले छाड्ने छैनन् भनेका थिए । हामीले ग्यास सम्झौतामा पनि हस्ताक्षर गर्‍यौँ । तर, यति सबैपछि पनि उनले युद्धविराम तोडे । उनले हाम्रा मानिसहरूलाई मारे । सम्झौताअनुरूप कैदीहरू आदानप्रदान गरेनन् । त्यसैले जेडी (भान्स) तपाईं कस्तो प्रकारको कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ? तपाईंले भन्न खोजेको के हो ?

भान्स : म त्यस्तो कूटनीतिबारे कुरा गर्दै छु, जसले तपाईंको देशको विनाशलाई अन्त्य गर्नेछ । (जेलेन्स्की केही भन्न खोज्दै थिए, तर भान्स बोलिरहे) मिस्टर प्रेसिडेन्ट (जेलेन्स्की), म आदरका साथ भन्दै छु, तपाईंले यहाँ ओभल अफिसमा (ह्वाइट हाउसभित्रको अमेरिकी राष्ट्रपतिको कार्यालय) आएर अमेरिकी मिडियाको अगाडि यस विषयमा बयानबाजी गर्ने प्रयास गर्नु अनादरपूर्ण छ । अहिले, तपाईंहरू जनशक्तिको समस्या (अभाव) झेलिरहनुभएकाले देशभर गएर नयाँ भर्ती भएकालाई अग्रमोर्चामा लड्न बाध्य पार्दै हुनुहुन्छ । खासमा तपाईंले यो द्वन्द्वको अन्त्य गर्ने प्रयास गरेकोमा राष्ट्रपति (ट्रम्प)लाई धन्यवाद दिनुपर्छ ।

जेलेन्स्की : हाम्रा समस्या के हुन् भनेर हेर्न तपाईं कहिल्यै युक्रेनमा जानुभएको छ ? एकपटक आउनुस् ।

भान्स : यसबारे धेरै समाचार देखेको र हेरेको छु । त्यहाँ के भइरहेको छ भन्ने थाहा छ, तपाईं मानिसहरूलाई प्रोपागान्ड टुरमा लानुहुन्छ । के तपाईं आफ्नो सेनामा नयाँ भर्तीमा समस्या रहेकोमा असहमत हुनुहुन्छ ? अनि, जुन अमेरिकी राष्ट्रपतिले तपाईंको देशको विनाश रोक्ने प्रयास गरिरहेको छ, उनैको कार्यालयमा आएर उनैको प्रशासनविरुद्ध आक्रमण गर्नु सम्मानजनक काम हो जस्तो लाग्छ, तपाईंलाई ?

जेलेन्स्की : सर्वप्रथम, युद्धको समयमा सबैका समस्या हुन्छन् । तपाईंहरू पनि अछुतो हुनुहुन्न । तर, तपाईंसँग राम्रो समुद्र छ र अहिले (समस्या) महसुस गर्नुभएको छैन । तर, तपाईंले भविष्यमा यो महसुस गर्नुहुनेछ ।

डोनाल्ड ट्रम्प : त्यसबारे तपाईंलाई (केही) थाहा छैन ?

जेलेन्स्की : भगवान्को कृपाले, तपाईंहरूको युद्ध नहोस् ।

ट्रम्प : हामी के महसुस गर्नेछौँ भनेर नबताउनुस् । हामी त समस्या समाधान गर्न खोजिरहेका छौँ ।

जेलेन्स्की : मैले त्यसो भन्न खोजेको होइन । म त प्रश्नको जवाफ दिइरहेको थिएँ कि...

ट्रम्प : हामी के महसुस गर्नेछौँ भनेर तपाईं निर्देशन दिन सक्ने स्थितिमा हुनुहुन्न । हामी धेरै राम्रो महसुस गर्नेछौँ ।

जेलेन्स्की : तपाईं पनि प्रभावित महसुस गर्नुहुनेछ...

ट्रम्प : हामी धेरै राम्रो र सबल महसुस गर्नेछौँ । तपाईं अहिले धेरै राम्रो स्थितिमा हुनुहुन्न । यो अति खराब अवस्था आउन तपाईंले नै दिएको हो । तपाईंसँग अहिले हामीलाई लिएर त्यति विकल्प छैनन् । (जेलेन्स्की बोल्न प्रयास गर्छन्) तपाईं लाखौँ मानिसको जीवनसँग खेलबाड गरिरहनुभएको छ । तपाईं तेस्रो विश्वयुद्धको जोखिम उठाउँदै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जोखिम उठाउँदै हुनुहुन्छ । तपाईं जे गर्दै हुनुहुन्छ, त्यो यस देशका लागि अन्त्यन्त अपमानजक छ । धेरै मानिसका अनुसार यो देशले तपाईंहरूलाई गर्नुपर्नेभन्दा धेरै साथ–सहयोग दिएको छ ।

भान्स : के तपाईंले (यस सहयोगका लागि) एकपटक पनि धन्यवाद भन्नुभयो ? 
जेलेन्स्की : धेरैपटक (भनिसकेँ) ।

भान्स : होइन । यो सम्पूर्ण बैठक (अवधि)मा तपाईंले धन्यवाद भन्नुभयो ? तपाईं (गत वर्ष) अक्टोबरमा पेन्सिलभेनिया जानुभयो र विपक्षी (दल)को पक्षमा (चुनावी) प्रचार गर्नुभयो । संयुक्त राज्य अमेरिका र तपाईंको देश बचाउन प्रयास गर्ने राष्ट्रपति (ट्रम्प)का लागि आभारका केही शब्द व्यक्त त गर्नुहोस् ।

जेलेन्स्की : तपाईंलाई लाग्छ कि धेरै ठूलो स्वरमा बोल्दैमा...

ट्रम्प : उनी ठुलो स्वरमा बोलिरहेका छैनन् । तपाईंको देश ठुलो समस्यामा छ ।

जेलेन्स्की : मलाई थाहा छ । के म सोध्न सक्छु...

ट्रम्प : होइन, होइन, तपाईंले धेरै बोलिसक्नुभयो । तपाईंको देश ठुलो समस्यामा छ ।

जेलेन्स्की : मलाई थाहा छ ।

ट्रम्प : तपाईं यो (युद्ध) जित्नुहुन्न । हाम्रो कारणले तपाईंलाई अहिले सही–सलामत बाहिर निस्कने राम्रो मौका छ ।

जेलेन्स्की : मिस्टर प्रेसिडेन्ट, हामी हाम्रो देशमा डटेर टिकेका छौँ । युद्धको एकदम सुरुवातदेखि नै हामी एक्लै छौँ र हामी आभारी छौँ । म यो क्याबिनेटलाई धन्यवाद भन्छु । 

ट्रम्प : तपाईंलाई ती मूर्ख राष्ट्रपति (पूर्वराष्ट्रपति बाइडेनतर्फ संकेत गर्दै)मार्फत ३५० अर्ब डलर दियौँ । तपाईंलाई सैन्य उपकरण दियौँ । तपाईंका जनता बहादुर छन्, तर तिनले लड्न हाम्रो सैन्य उपकरण प्रयोग गरेका छन् । यदि तपाईंसँग हाम्रो सैन्य उपकरण नभएको भए, यो युद्ध दुई हप्तामा समाप्त भइसक्थ्यो ।

जेलेन्स्की : हो, तीन दिनमा । पुटिनले त्यस्तो भनेको मैले सुनेको थिएँ ।

ट्रम्प : यसरी लेनदेन गर्न धेरै गाह्रो हुनेछ ।

भान्स : एकपटक धन्यवाद त भन्नुस् ।

जेलेन्स्की : मैले धन्यवाद भनेँ– म अमेरिकी जनतालाई धन्यवाद भन्छु ।

भान्स : असहमति छन् भनेर स्वीकार गर्नुहोस् । यी अहसमतिमा छलफल गर्‍यौँ, आफू गलत हुँदा अमेरिकी मिडियामा लड्न छाडिदिनुस् । हामीलाई थाहा छ कि तपाईं गलत हुनुहुन्छ ।

ट्रम्प : हेर्नुहोस्, यहाँ जे भइरहेको छ त्यो अमेरिकी जनताले हेर्नु उचित हुन्छ भन्ने मलाई लाग्छ । मेरो विचारमा यो धेरै महत्वपूर्ण छ । त्यसैले मैले यो (बहस) यति लामो समयसम्म जारी राखेँ । तपाईं आभारी हुनुपर्छ । तपाईंको हातमा विकल्प छैनन् । तपाईं समस्यामा हुनुहुन्छ र तपाईंहरूको मान्छे मरिरहेका छन् । तपाईंहरूको सैनिक घट्दै गएको छ । सुन्नुस्, तपाईंहरूको सैनिक घट्दै गएको छ । 

अनि, तपाईं हामीलाई भन्नुहुन्छ कि ‘म युद्धविराम चाहन्नँ । म युद्धविराम चाहन्नँ ।’ यदि तपाईं अहिले नै युद्धविराम गर्न सक्नुहुन्छ भने म त तपाईंलाई भन्छु यसलाई स्वीकार गर्नुहोस् । ताकि गोलीबारी बन्द होस् र तपाईंका मानिस मारिन रोकियोस् । 

जेलेन्स्की : हो, अवश्य पनि युद्ध रोक्न चाहन्छु । तर, मैले तपाईंलाई भनेझैँ ग्यारेन्टीसहित (युद्ध रोक्न चाहन्छौँ) । युद्धविरामबारे हाम्रा मानिसलाई सोध्नुहोस्, तिनीहरू के सोच्छन् भनेर ।

ट्रम्प : त्यस्तो काम म गर्दिनँ । त्यो बाइडेन नामको मान्छेसँग हुन्थ्यो, जो चलाख मानिस होइनन् । अनि, ती ओबामा थिए, जसले तपाईंहरूलाई पाल दिएर टारे । मैले तपाईंहरूलाई ज्याभलिन (तोपलाई नष्ट गर्ने हातैमा बोक्न सकिने अमेरिकी प्रतिरक्षा प्रणाली, जसको युक्रेनलाई बिक्री ट्रम्पले अघिल्लो प्रशासनकालमा खुलाएका थिए) दिएँ । मैले तिनका तोपहरू नष्ट गर्न तपाईंलाई ज्याभलिन दिएँ । ओबामाले तपाईंलाई पाल दिएका थिए । हो, यसलाई यसरी भन्न सकिन्छ, ओबामाले पालहरू दिँदा ट्रम्पले ज्याभलिन दिए । तपाईं त झन् आभारी हुनुपर्छ । म तपाईंलाई भन्न चाहन्छु, तपाईंसँग विकल्प छैनन् । हामीसँग रहँदा तपाईंका विकल्प देखिन्छन्, तर हामीविना तपाईंसँग कुनै विकल्प छैनन् । यो सम्झौता गर्न कठिन हुनेछ, किनकि यसका लागि मनोवृत्ति परिवर्तन गर्नुपर्नेछ ।

(एजेन्सीकाे सहयाेगमा)

सुझावित समाचार