राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा संखुवासभाका १० वटा स्थानीय तहमध्ये खाँदबारी नगरपालिका उत्कृष्ट भएको छ । पाँचवटा गाउँपालिका र पाँचवटा नगरपालिका गरी १० वटा स्थानीय तह रहेको संखुवासभाका अन्य नौवटा स्थानीय तहलाई पछाडि पार्दै खाँदबारी नगरपालिका उत्कृष्ट बनेको हो ।
आयोगले प्रकाशित गरेको कार्यसम्पादन मूल्यांकनको नतिजाअनुसार ६७ प्रतिशत अंक हासिल गर्दै खाँदबारी नगरपालिका जिल्लाको पहिलो अर्थात् उत्कृष्ट बनेको हो भने मादी नगरपालिका ४०.८ प्रतिशत अंक मात्रै प्राप्त गरी अन्तिम बनेको छ ।
त्यसैगरी सभापोखरी गाउँपालिका ५९.४ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो बनेकाे छ भने चिचिला गाउँपालिका ५२.१ प्रतिशत अंक प्राप्त गरी तेस्रो बनेकाे छ । त्यसगरी सिलिचोङ गाउँपालिका र धर्मदेवी नगरपालिकाले ५१.७ प्रतिशत बराबर अंक प्राप्त गरी चौथो बने । त्यसैगरी चैनपुर नगरपालिकाले ४७.६ प्रतिशत अंक प्राप्त गरी पाँचौँ र छैटौँ स्थानमा रहेकाे मकालु गाउँपालिका ४५.९ प्रतिशत अंक प्राप्त गरेका छन् । त्यसैगरी पाँचखपन नगरपालिकाले ४५.४ प्रतिशत अंक प्राप्त गरी सातौं बन्याे भने भोटखोला गाउँपालिका ४१.८ प्रतिशत अंक प्राप्त गरी आठौैँ बनेका छन् ।
आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्यांकन गर्ने गर्दछ । ती सूचकहरूमध्ये पालिकाले समयमै सभामा बजेट पेस गरे–नगरेको, पारित गरे–नगरेको, खर्च अवस्था, बेरुजु, लेखापरीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे–नगरेको, राजस्वको विभाजन गरे–नगरेकोलगायत पर्छन् भने स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, ससर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ ।