- १५ सय साधुसन्त, दुई सय नागा बाबा
- भिभिआइपीका सवारीसाधन प्रवेशमा कडाइ, राष्ट्रपति पनि हिँडेरै जाने
- सय स्थानमा सिसिक्यामेरा जडान
- ४० लाखको फूल र १० लाखको बत्तीले सजिँदै पशुपति क्षेत्र
- गाँजा बाँडे कारबाही
शिवरात्रिमा पशुपति क्षेत्रमा सुरक्षा प्रबन्ध र ट्राफिक व्यवस्थापनका लागि साढे चार हजार प्रहरी परिचालन गरिएका छन् । बुधबार (१४ फागुन)मा परेको शिवरात्रिका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट तीन हजार ५११ र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ८९० गरी कुल चार हजार ४०१ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसरमातहत खटिएका सुरक्षाकर्मी मन्दिर दर्शनका लागि आउने दर्शनार्थीको सुरक्षामा खटिनेछन् भने ट्राफिक प्रहरीमातहत खटिएका सुरक्षाकर्मी यातायातका साधन व्यवस्थापनमा केन्द्रित हुनेछन् । ‘महाशिवरात्रिको सुरक्षाको सबै प्रबन्ध पूरा भएको छ । परिसरमातहत सुरक्षामा मात्रै ३५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएका छन् । दर्शनार्थीलाई ढुक्कसँग मन्दिरको दर्शन गर्ने प्रबन्ध गरिएको छ । सुरक्षा व्यवस्था चुस्त पारिएको छ,’ परिसर प्रवक्ता एसपी अपिलराज बोहराले भने, ‘यातायात व्यवस्थापनका लागि ट्राफिकबाट अलग्गै जनशक्ति परिचालन गरिएको छ ।’
प्रहरीका अनुसार पर्वभर बर्दीसहितका र सादा पोसाकका सुरक्षाकर्मी तीन सिफ्टमा परिचालन गरिएका छन् । त्यसबाहेक ‘स्ट्राइकिङ’ र ‘मोबाइल’ टोलीले पनि सुरक्षा दिनेछ । यस प्रयोजनमा मात्रै ७४ प्रहरी खटिएका छन् । त्यस्तै, सम्भावित दुर्घटना रोक्न प्रहरीलाई ‘रिजर्भ’मा पनि राखिएको छ । यस प्रयोजनमा १३५ सुरक्षाकर्मी ‘स्ट्यान्ड बाई’ राखिएको छ । त्यस्तै, सुरक्षा प्रबन्ध चुस्त तुल्याउन ड्रोन र सिसिक्यामेराबाट पनि भिडको निगरानी हुने र यस प्रयोजनमा ६ जनाको विशेष फोटोग्राफर टोली परिचालन गरिएको एसपी बोहराले बताए ।
ट्राफिक प्रहरीले भने पूजाआजा गर्न आउने भक्तजनको आवतजावत तथा दर्शन गर्ने वातावरण मिलाउने जिम्मा लिएको छ । ट्राफिक प्रहरीका अनुसार दर्शनार्थीको सवारीसाधन पार्किङका लागि तिलगंगा आँखा अस्पतालअगाडि, सिफलचौर र गुह्येश्वरीपारि करिडोर सडकमा मिलाइएको छ भने वनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीका ट्यांकरहरू पार्किङ हुनेछन् । त्यस्तै, पशुपति क्षेत्र विकास कोषको कार्यालय र सिफलचौरमा पासबाहक सवारीसाधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारीसाधनहरूलाई पार्किङको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित चल्ने सवारीसाधन नरोक्ने ट्राफिक प्रहरीको योजना छ । तर, दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारीसाधन सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै त्यस क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ । यस्तो अवस्थामा यो रुटमा चल्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गरेर सहज आवागमनको व्यवस्था गर्ने र त्यसका लागि करिडोर तथा भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाइएको घिमिरेले बताए ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारीसाधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने ट्राफिक प्रहरीले जनाएको छ ।
सय स्थानमा सिसिक्यामेरा जडान
शिवरात्रीमा पाशुपत क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिने भएको छ । कोषले नेपाल प्रहरीसँग मिलेर सय स्थानमा सीसी क्यामेरा जडान गर्दैछ भने पाँच हजारभन्दा बढी सुरक्षाकर्मी खटिँदै छन् । विगतका वर्षमा वनकाली तथा विश्वरूपा मन्दिर क्षेत्रमा गाँजा, भागलगायतको सेवन बढेकोले यसपटक त्यसलाइ रोक्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको हो । पशुपति क्षेत्र विकास कोषमा प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार यसपटक प्रविधिको प्रयोगबाट सुरक्षा व्यवस्था कडा पारिँदैछ । सय स्थानमा राखिएको सीसी क्यामेरा काडमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (मेट्रो)ले कन्ट्रोल र निगरानी राख्ने छ । ‘यसपटक सबैतिर सीसी क्यामेरा छ, जंगल, हरेक भवन र खुला ठाउँमा सीसी क्यामेरा जडान भएका छन्, कसैले पनि अनैतिक कार्य गर्न पाउने छैनन्, सीसी क्यामेरा हेरेर गलत गर्नेलाई प्रहरी कारबाही गर्छ,’ उनले भने, ‘जथाभावी गाँजा बाड्ने र दर्शनार्थीलाई अवरोध पुर्याउनेलाई कारबाही हुन्छ।’
कोषका प्रवक्ता अधिकारीका अनुसार सदस्यसचिवको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति गठन गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रहरी र नेपाली सेनालाई शान्ति–सुरक्षाको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी र सेनाले खोजखबर कक्षसमेत स्थापना गर्नेछ । मारवाडी सेवा समिति, नेपाल स्काउट, नेपाल स्वयंसेवक संघले लाइन व्यवस्थापन र भक्तजनको सहजताका लागि काम गर्नेछन् । यसबाहेक कोषले भारतबाट आएका आगन्तुक भक्तजनका लागि धर्मशालामा बसोवास र भोजनको व्यवस्था मिलाएको छ ।
कोषले शिवरात्री पर्वलाई व्यवस्थित बनाउन विभिन्न १० वटा उपसमितिसमेत गठन गरेर जिम्मेवारी बाँडफाँड गरेको छ । कोषले दर्शनका लागि सहज व्यवस्था मिलाएको दाबी गरेको छ । तिलगंगा, गौशाला प्रहरी वृत्त अगाडि, जयबागेश्वरी र एयरपोर्टतर्फका प्वाइन्टबाट भक्तजन लाइनमा बस्नेछन् । वृद्धवृद्धा, फरक क्षमता भएकाले लाइन बस्नुपर्ने छैन । बुधबार बिहान साढे २ बजेदेखि १५ फागुन बिहान ६ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यसरी हुँदैछ सजावट र व्यवस्थापन
शिवरात्रि नजिकिएसँगै पशुपतिनाथ मन्दिर क्षेत्र सौन्दर्यीकरणले तीव्रता पाएको छ । शिवरात्रिलाई लक्षित गरी मन्दिरक्षेत्र सजावट, प्रवेशद्वार र अस्थायी आकासेपुल निर्माण, रंगरोगन, सडक व्यवस्थापन, लाइन व्यवस्थापनका लागि डोरी टाँग्ने, शिवपार्वतीको प्रतिमूर्ति निर्माण, भित्ताहरूमा पेन्टिङ, मासाधुसन्तका लागि बसोवास स्थल निर्माणलगायतका काम धमाधम भइरहेको छ ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार चारवटा प्वाइन्टबाट भक्तजन लाइन लाग्न सक्नेछन् । अत्यधिक भिड हुने भएकाले मन्दिरभित्र धेरै समय लगाएर दर्शन गर्न दिइनेछैन । एक मिनेटमा कम्तीमा एक सयजनाले दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । एकपटकमा नौजनाले मन्दिरको दर्शन गर्न सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । ‘गत वर्षको अनुभवका आधारमा यसपटक अझ व्यवस्थित हुन्छ, यो महापर्व हो, बत्ती र फूलमालाले सिगारिरहेका छौं,’ उनले भने, ‘भक्तजनलाई कठिन नहुने गरी हामीले व्यवस्थापन गरेका छौं, सजावटका लागि मात्रै ५० लाख छुट्याएका छौँ ।’ मन्दिर वरपर मंगलबारदेखि नै फूलका मालाले झकिझकाउ पारिने छ । मन्दिरको मुख्य ढोकामा ५० भन्दा बढी माला लगाइने छ ।
भिभिआइपीका सवारीसाधन प्रवेशमा कडाइ, राष्ट्रपति पनि हिँडेरै जाने
महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि पुग्ने भिभिआइपीको सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गर्न लगाइने छ । सकेसम्म मन्दिरको नजिकतर्फ भिभिआइपी सवारीसाधनलाई लैजान दिइने छैन । कोषका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार दिउँसो दर्शन गर्नेछन् । उनी आउने निश्चित भए पनि प्रधानमन्त्री केपी ओलीले भने निधो गरेका छैनन् ।
४० लाखको फूल र १० लाखको बत्तीले सजिँदै पशुपति क्षेत्र
पशुपति क्षेत्रमा शिवरात्रीको बेला फूल, माला र बत्तीको अत्यधिक प्रयोग हुने गरेको छ । कोषले यसपटक फूल र बत्तीको सजावटका लागि ५० लाख रुपैयाँ छुट्याएको छ । मन्दिरआसपास र गेटमा सजावट गर्न कोषले ४० लाखको फूल प्रयोग हुने आकलन गरेको छ । १० लाख हाराहारीको बत्ती प्रयोग हुनेछ । बिहानैदेखि भक्तजनको भिडभाड हुने भएकाले चहकिला लाइट जडान गरिनेछ ।
गाँजा बाँडे कारबाही
शिवरात्रीको बेला पशुपति परिसरमा खुलेयाम गाँजा सेवन हुने गरेको छ । कोषले कडाइ गर्ने भने पनि हरेक वर्ष लुकिछिपी गाँजा सेवन गर्नेको संख्यामा कमी आएको छैन । यसपटक सीसीटिभी फुटेजका आधारमा गाँजा बाँड्नेलाई कारबाही गरिने कोषका प्रवक्ता अधिकारीले बताए । साधुसन्तले गाँजा बाँडेको फेला परे तत्काल कारबाही हुने उनको भनाइ छ । भारतबाट आएका साधुसन्तलाई गाँजा नबाँड्न कोषले निर्देशन दिएको छ ।
१५ सय साधुसन्त, दुई सय नागा बाबा
शिवरात्रि नजिकिएसँगै साधुसन्त आउने क्रम बढेको छ । यस वर्ष करिब एक हजार पाँच सय साधुसन्त पशुपतिनाथ क्षेत्रमा आउने अनुमान गरिएको छ । दुई सयजना नागा बाबा हुनेछन् । यसपटक भारतमा महाकुम्भ समेत चलिरहेको हुँदा साधुसन्तको संख्या कम हुने अनुमान गरिएको छ ।