शुक्रबारदेखि खुम्बुमा व्यावसायिक उडान थालिने

मंगलबार, २९ माघ, २०८१
डिजिटल संस्करण
  • स्थानीय र हेलिकोप्टर व्यवसायीको वार्ता अझै निष्कर्षमा पुग्न सकेन, सरकारसँग सुरक्षा मागेर नियमित उडान थाल्ने व्यवसायीको गृहकार्य  

स्थानीयको अवरोधकै बिच हेलिकोप्टर व्यवसायीहरूले शुक्रबारदेखि सगरमाथा (खुम्बु) क्षेत्रमा व्यावसायिक प्रयोजनको हेलिकोप्टर उडान नियमित गर्ने भएका छन् । हेलिकोप्टर व्यवसायीले सरकारसँग सुरक्षा मागेर ४० दिनपछि खुम्बु क्षेत्रमा हुने सबै प्रकारका उडानलाई पहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरेका हुन् । 

खुम्बु क्षेत्रमा रोकिएको व्यावसायिक हेलिकोप्टर उडान २ फागुनदेखि सुरु गर्न लागेको नेपाल वायुसेवा सञ्चालक संघका प्रथम उपाध्यक्ष प्रतापजंग पाण्डेले जानकारी दिए । पटक–पटक भएको स्थानीयसँगको वार्ता निचोडमा नपुगेपछि हेलिकोप्टर सञ्चालकले स्थानीय प्रशासनसँग सुरक्षा मागेर उडान नियमित गर्ने निष्कर्षमा पुगेको उनले बताए । खुम्बु क्षेत्रमा जथाभावी कमर्सियल उडान गर्न नदिने भन्दै स्थानीयले हेलिप्याडमा झन्डा गाडेर विरोध गरेपछि २१ पुसदेखि उडान ठप्प छ ।

जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुको संयोजकत्वमा केही समयअघि बसेको बैठकमा स्थानीयले हेलिप्याडमा गाडेको झन्डा हटाएपछि १५ माघदेखि उद्धार उडान सुरु गरिएको थियो । अर्को एक हप्ताभित्र वार्ता निष्कर्षमा पुग्ने र व्यावसायिक उडान पनि नियमित हुने भद्र सहमति थियो । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोजकुमार घिमिरे पनि हप्ताभित्र समस्या समाधान हुनेमा विश्वस्त थिए । तर, स्थानीय र हेलिकोप्टर सञ्चालकको आआफ्नै अडान कायम भएकाले सहमति हुन सकेको छैन ।

‘अझै वार्ता निष्कर्षमा पुगेको छैन । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले उद्धार, माउन्टेन फ्लाइट र कार्गोबाहेकका अन्य कमर्सियल प्रयोजनमा उडान गर्न नदिने अडान रोखेको छ,’ सोलुखुम्बुका प्रजिअ घिमिरले भने, ‘हामीले समस्या समाधानका लागि थप पहल गरिरहेका छौँ, जतिसक्दो चाँडो समस्या समाधान हुनेमा विश्वस्त छौँ ।’ 

पर्यटनको सिजन सुरु हुन लागेकाले लामो समय हेलिकोप्टर थन्क्याएर राख्न नसकिने कैलाश हेलिकोप्टरका सञ्चालकसमेत रहेका पाण्डेले बताए । ‘शुक्रबारदेखि उडान पूर्ववत् अवस्थामै गर्ने हो, नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अनुमति लिएर सरकारसँग सुरक्षा मागेर उडान नियमित गर्छौँ,’ उनले भने । सोलुखुम्बु प्रशासनले पनि हेलिकोप्टर उडानमा अवरोध गर्नेलाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।  
 

सुझावित समाचार