कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको २७ औँ कार्यसमितिका लागि २३ चैतमा चुनाव हुने भएको छ । यसका लागि बारले निर्वाचन समितिसमेत गठन गरिसकेको छ ।
केन्द्रीय कार्यसमितिको १७ माघमा बसेको बैठकले २७औँ कार्यसमितिका लागि उक्त निर्वाचन समितिको गठन गरेको हो । बारकी महासचिव अञ्जिता खनालद्वारा जारी सूचनाअनुसार २५ सदस्यीय कार्यसमितिका लागि २३ चैतमा निर्वाचन हुने भएको हो ।
बारले रामकृष्ण निरालालाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ भने वरिष्ठ अधिवक्ताद्वय ताराबहादुर सिटौला र तेजनाथ धमला निर्वाचन अधिकृत छन् । यसैगरी सेवन्तराज निरौला र चन्द्रबहादुर शाहीलाई पनि निर्वाचन अधिकृतमा तोकिएको सूचनामा उल्लेख छ । ०७८ मा भएको चुनावले हालको कार्यसमिति चयन गरेको हो । बारका पदाधिकारीको कार्यकाल तीन वर्षको हुन्छ ।