उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलन सुधारोन्मुख देखिए पनि चित्तबुझ्दो नभएको बताएका छन् ।
भन्सार विभागले आइतबार आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व संकलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएको बताए । राजस्व संकलनमा गत आर्थिक वर्षको तुलनामा सुधार देखिए पनि चालू आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको उनले उल्लेख गरे ।
राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको बताए ।
भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन विभागले अधिकतम प्रयास गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुकूल व्यावसायिक वातावरण र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताए ।