महिला प्रदेश सभा सदस्यहरूको गुनासो– महिला भएकै कारण विभेद

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

मधेश प्रदेश सभाका महिला प्रदेश सभा सदस्यहरूले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् । लैंगिक संवेदनशील संसदीय रिपोर्टिङसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेश सभा सदस्यहरूले सदनबाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरूमाथि विभेद हुने गरेको दुखेसो गरेका हुन् ।

मधेश प्रदेश सभाका उपसभामुख बबिता राउत इसरले भनिन्, ‘महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो संघर्षपश्चात् नै राजनीतिमा अवसर पाएकी हुँ ’ उनले महिलाहरूको राजनीतिमा संख्यात्मक उपस्थिति बढे पनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताइन् ।

सो कार्यक्रममा प्रदेश सभा सदस्य किरण साहले प्रदेश सभा सदस्य शाहिदा खातुनमाथि भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताइन् ।

प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जीवछी यादवले महिला प्रदेश सभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भीरतापूर्वक लिन आग्रह गरिन् । उनले महिला प्रदेश सभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाइ नहुने गरेको आरोपसमेत लगाइन् ।

त्यसैगरी, अर्की प्रदेश सभा सदस्य अनिताकुमारी साहले महिला प्रदेश सभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरिन् । कार्यक्रममा प्रदेश सभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायका लागि कुनै पहल नगरेको बताइन् । रासस

सुझावित समाचार