कोटेश्वर महादेवस्थानमा भेटियो ढुंगेधारा

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, कोटेश्वर महादेव मन्दिरनजिक रहेको खाली जग्गामा ऐतिहासिक ढुंगेधारा फेला परेको छ । उक्त स्थानमा महानगरले स्वर्णिम योजनाअन्तर्गत भवन बनाउन शिलान्यास गर्न खाल्डो खनिसकेको थियो । यसका लागि महानगरले चालू आर्थिक वर्षमा एक करोड ३८ लाख बजेट विनियोजनसमेत गरेको थियो । तर, एक महिनाअघि सम्पदाप्रेमीहरूले उक्त शिलान्यास कार्य रोकेर पुरातत्व विभागको ध्यानाकर्षण गराएपछि उत्खनन गर्दा हिटी (ढुंगेधारा) भेटिएको हो ।

सम्पदाप्रेमी यादवलाल कायस्थको टोलीले महानगरको काम रोकेर पुरातत्व विभागलाई जानकारी गराएको थियो । १५ दिनअघि विभागले उत्खनन थालेको थियो । तर, आफूले चार वर्ष अघिदेखि नै उक्त ठाउँमा ढुंगेधारा रहेको जानकारी गराए पनि महानगरले नसुनेको कायस्थको गुनासो छ । 
‘मैले चार वर्ष अघिदेखि नै त्यहाँ ढुंगेधारा छ, अन्य महत्वपूर्ण वस्तुहरू छन् भनेको थिएँ, तर महानगरले सुनेन, शिलान्यास हुन लागेको दिन पनि गएर भनेपछि बल्ल रोकियो,’ कायस्थले भने, ‘त्यहाँ भवन बनाउने भनेर महानगरका मेयर बालेन शाह आफैँ पुगेर हेर्नुभएको थियो, तर हिटी भएको पत्तो पाउनुभएन ।’

सम्पदाप्रेमीहरूले ध्यानाकर्षण गराएपछि विभागले उत्खननका लागि पुरातत्वविद् उद्धव आचार्यलाई खटाएको छ । आचार्यले केही भाग उत्खनन गरिसक्दा त्यहाँ ढुंगेधारा भएको पुष्टि भइसकेको छ भने अन्य ऐतिहासिक वस्तुहरूको पनि खोजी भइरहेको आचार्यले बताए ।

‘ढुंगेधारा छ भन्ने निश्चित भइसकेको छ, अझै उत्खनन भइरहेको छ, उत्तरपूर्वमा ढुंगेधाराको एउटा भाग भेटिएको छ, तर महानगरको टोलीले उत्खननको माटो फाल्न सहयोग गरेको छैन,’ उनले भने, ‘यो ढुंगेधारा भएको दायाँबायाँ सडक भएकाले कसरी उत्खनन गर्ने भन्ने चुनौती छ ।’

महानगरपालिकाले स्वर्णिम गौरवको योजनाअन्तर्गत ढुंगेधारा भएको क्षेत्रमा भवन बनाउन खोजेको थियो । उक्त भवन बनाउनुपूर्व पुरातत्व विभागसँग समेत राय–सुझाव लिएको थियो । विभागका महानिर्देशक सौभाग्य प्रधानांगले त्यस क्षेत्रमा ऐतिहासिक वस्तु भेटिएकाले भवन बनाउन नदिने बताइन् । ‘त्यहाँ ढुंगेधारा रहेको पुष्टि भएको छ, ऐतिहासिक धारा भएको ठाउँमा भवन बनाउने कुरै भएन,’ उनले भनिन्, ‘हामीले विज्ञ खटाएर उत्खनन गरिरहेका छौँ ।’

विभाग र सम्पदाप्रेमीहरूको विरोधपछि महानगरपालिका पछि हटेको छ । सुरुमा ढुंधेधाराको अस्तित्व नै मेटाउने गरी भवन बनाउन लागेको महानगरपालिकाले अहिले आफैँले ढुंगेधारा उत्खनन गरेको प्रचारबाजी गर्दै आएको भन्दै सम्पदाप्रेमीहरू महानगरसँग असन्तुष्ट छन् ।

‘सुरुमा कैयौँपटक हामीले जानकारी गराउँदा नसुन्ने, जब ऐतिहासिक कुरा देखियो, त्यसपछि आफूले खोजेजसरी नै प्रचार गरियो, महानगरपालिकाले सम्पदा मास्न खोजेको थियो,’ कायस्थले भने, ‘फन्डा गरेर सम्पदाको संरक्षण हुँदैन ।’ हाल सो ढुंगेधारा कसरी उत्खनन गर्ने र त्यसलाई कसरी बनाउने भन्नेबारे बजेटको अभाव छ । विभागले उत्खननमा विज्ञ खटाए पनि उक्त ढुंगेधारा तत्काल संरक्षणका लागि बजेट नभएको बताउँदै आएको छ । काठमाडौं महानगरपालिकाले पनि विभागसँग आवश्यक समन्वय गरेको छैन ।

महानगरका सम्पदा संयोजक आशामान संगतले महानगरपालिकाले गल्ती स्वीकार गरेर अघि बढेको बताए । ‘त्यहाँ ढुंगेधारा रहेकोबारे सम्पदाप्रेमीले ध्यानाकर्षण गराएपछि हामी पछि हटेका हौँ, हामी गल्ती स्वीकार गरी संरक्षणमा लागेका छौँ,’ उनले भने, ‘अब ढुंगेधारा संरक्षण गर्ने दायित्व महानगरको हो, अब उक्त सामुदायिक भवन अर्को ठाउँमा बनाउँछौँ ।’ प्रारम्भिक अध्ययनअनुसार उक्त ढुंगेधारा १७औँ शताब्दीको रहेको बुझिएको छ । त्यस्तै, काठमाडौं महानगरले ०३६ सालमा तयार पारेको अभिलेखअनुसार पनि त्यतिवेलादेखि नै यो धारामा पानी भने आउन छाडेको थियो । त्यसपछि ढुंगेधारा पुरेर अन्य संरचना बनाइएको बुझिएको छ । अब भने पुरानो ढुंगेधारा ब्युँताउने विषय अघि बढेको छ ।

यसअघि भद्रकालीको ऐतिहासिक भवन निर्माण गर्दा पनि विभागसँग महानगरले समन्वय नगरेपछि विवाद निम्तिएको थियो । विभागले पत्र काटेरै महानगरको काम रोकेको थियो । विभागका महानिर्देशक प्रधानांगले महानगरले समन्वय नगर्दा समस्या भइरहेको बताइन् ।

सुझावित समाचार