तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव ६ चैतदेखि, महोत्सव निर्देशक दयाहाङ राई

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)को तेस्रो संस्करण ६ चैतदेखि हुने भएको छ। मण्डला थिएटरको आयोजनामा हुने निटफेस्ट– २०२५ विश्व रंगमञ्च दिवस (मार्च २७) चैत १४ गतेसम्म चल्नेछ।

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च : रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सवको निर्देशक रंगकर्मी, निर्देशक, कलाकार दयाहाङ राई रहने जनाएको छ। मण्डला थिएटर नेपाल तथा निटफेस्ट संयोजन समूहले कलाकार दयाहाङ राईलाई महोत्सव निर्देशकको रुपमा जिम्मेवारी दिइएको हो। महोत्सव संयोजकको रूपमा रंगकर्मी केदार श्रेष्ठ हुनेछन्।

यसअघि २०२२ मा ‘विविधताको उत्सव’ भन्ने नारासहित दोस्रो संस्करण  सम्पन्न भएको थियो। महोत्सव संयोजक केदार श्रेष्ठका अनुसार यस वर्षको निटफेस्ट काठमाडौंको मण्डला थिएटरसँगै काठमाडौंबाहिर पनि विभिन्न सहरमा हुने गरी तयारी भइरहेको छ।

महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आह्वान गरिएको थियो। निटफेस्टको विस्तृत नाटक तथा कार्यक्रम तालिका छिट्टै सार्वजनिक हुने बताइएकाे छ।

सुझावित समाचार