देशभर एक लाख ४२ हजार होटेल तथा रेस्टुरेन्ट

तलबभत्तामा साढे २० अर्बभन्दा बढी खर्च

बिहिबार, १८ पुष, २०८१
डिजिटल संस्करण

देशभर सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टको संख्या करिब डेढ लाख पुगेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार प्रकाशित गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०८०’मा देशभर एक लाख ४२ हजार २२३ होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको देखाएको हो ।

सर्वेक्षणअनुसार होटेल तथा रेस्टुरेन्टहरूमा रोजगार व्यक्तिहरूको संख्या एक लाख ६ हजार चार सय ५९ छन् । नेपालमा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान (होटेल, लज, रिसोर्ट, होमस्टे, अतिथिगृह, सेवा सदन, छात्रावास, होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ, पार्टी प्यालेस)को विस्तृत विवरण संकलनका लागि तथ्यांक कार्यालयले सम्पन्न गरेको राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०८० ले यस्तो देखाएको हो । कार्यालयले यसअघि होटेल तथा लज सर्वेक्षण २०६० सञ्चालन गरेको थियो ।

होटेल तथा लज सर्वेक्षण २०६० मा आवास तथा भोजन व्यवसायसँग सम्बन्धित प्रतिष्ठान तारे होटेल, रिसोर्ट, र गैरतारे होटेललाई मात्र सर्वेक्षणको दायरामा समेटिएको थियो । यस राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण, २०८० मा सर्वेक्षणको दायरालाई फराकिलो पारिएको कार्यालयले जानकारी दिएको छ ।

यस सर्वेक्षणमा नेपालस्तरीय औद्योगिक वर्गीकरणअन्तर्गत पर्ने अल्पकालीन आवास सुविधा प्रदान गर्ने र भोजन सेवा उपलब्ध गराउने सबै प्रकारका प्रतिष्ठानलाई समेटिएको छ । आवास सेवा प्रदान गर्ने तारे होटल, गैरतारे होटेल, रिसोर्ट, लज, होमस्टे, अतिथिगृह, छात्रावास र भोजन सेवा प्रदान गर्ने सबै प्रकारका रेस्टुरेन्ट तथा क्याटरिङ पार्टी प्यालेस यस सर्वेक्षणको दायराभित्र पर्दछन् ।

आर्थिक वर्ष ०७९/८० को समयमा गरिएको सर्वेक्षणमा शिक्षण संस्था (स्कुल, कलेज आदि)बाट सञ्चालित छात्रावास तथा कार्यालयभित्रका आवासगृह, मठमन्दिर, गुम्बापरिसरमा सञ्चालन भएका धर्मशाला तथा सामूहिक आवासगृह र सडकपेटी वा खुला स्थानमा सञ्चालन भएका भोजन सेवासम्बन्धी क्रियाकलाप नपर्ने कार्यालयले जनाएको छ ।

सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले कार्यरत तलबी कामदारका लागि तलब र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख रहेको छ । 

सन्दर्भ अवधिको अन्त्यसम्ममा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्यबराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ । 

कार्यालयअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या भन्नाले प्रतिष्ठानमा सक्रिय रूपले कार्यरत व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिलाई बुझ्नुपर्छ । सर्वेक्षणको नतिजाअनुसार प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या तीन लाख ८७ हजार सात सय ४७ छ । 

नतिजाअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको संख्या एक लाख ६ हजार पाँच सय ५९ रहेको छ । आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा रोजगार व्यक्तिको संख्या भन्नाले प्रतिष्ठानबाट नियमित रूपले तलब लिने गरी कार्यरत कर्मचारी तथा कामदार व्यक्तिलाई बुझ्नुपर्ने कार्यालयले जनाएको छ । 

सर्वेक्षणको नतिजाअनुसार सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले कार्यरत तलबी कामदारका लागि तलब र सुविधामा गरेको जम्मा खर्च करिब २० अर्ब ६१ करोड ५० लाख छ ।

आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्यबराबरको रकम लागतको रूपमा खर्च गरी करिब रु तीन खर्ब २६ अर्ब एक करोड चार लाख मूल्यबराबरको सेवा उत्पादन गरेको देखिन्छ । यस हिसाबले सन्दर्भ अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाखबराबरको मूल्य अभिवृद्धि गरेको सर्वेक्षणले देखाएको छ । आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएको देखिन्छ । ७१.६ प्रतिशत प्रतिष्ठानको ऋण नलिएको देखिएको छ । 

See More On

सुझावित समाचार