रवि लामिछानेप्रति राज्यले पक्षपात गर्‍यो : थापा

बिहिबार, ४ पुष, २०८१
डिजिटल संस्करण

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति राज्यले पक्षपात गरेको बताएका छन् । रविलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा भेटेपछि थापाले पक्षपात ढंगबाट व्यक्तिविशेषमा केन्द्रित भएर अनुसन्धान लम्ब्याउँदै लैजानु र मानसिक तनाव दिने काम गर्नु उपयुक्त नरहेको बताए । 

‘जो व्यक्ति भए पनि अनुसन्धानको दायरामा आउँछ र त्यसको छिनोफानो हुन्छ भन्ने लागेको थियो । तर, हाल जुन प्रकारले अलि प्रक्षपात ढंगबाट व्यक्तिविशेषमा केन्द्रित भएर अनुसन्धान लम्ब्याउँदै लैजानु, मानसिक तनाव दिने काम गर्नु उपयुक्त भएन,’ थापाले भने, ‘अरू पनि विभिन्न मुद्दाका आरोपित छन्, सत्तारूढ दलका केही नेतालाई उन्मुक्ति दिएको भन्ने आशंका आइहरेका छन्, त्यसले सरकारप्रति मात्र होइन न्याय प्रणालीमाथि नै जनताको विश्वास घट्ने काम हुन्छ र भइरहेको छ । सबैलाई समान ढंगबाट छानबिन हुनुपर्छ र कानुनबमोजिम कारबाही हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

थापाले अब रास्वपा सभापति लामिछानेले न्यायिक प्रक्रियामा सहयोग गर्नुपर्ने बताए । ‘अनुसन्धानको नाममा रातारात लैजाने–ल्याउने, एक जिल्लापछि अर्को जिल्ला लगियो, यसले गर्दा आशंका गर्ने ठाउँ छ । लामिछानेजीप्रति पार्टीको सद्भाव छ,’ उनले भने, ‘निर्दाेष हुनुहुन्छ भने सफाइ पाउनुपर्छ, अदालतले उहाँमाथि न्याय गर्छ भन्ने लाग्छ ।’ 

बुधबार नै पार्टी सभापति रवि लामिछानेलाई भेटेका रास्वपा उपभापति डिपी अर्यालले न्यायालयप्रति आफूहरूको विश्वास रहेको बताए । ‘राज्यले त्यसमा पनि दुई ठुला दलले प्रतिशोध साँधेको स्पष्ट छ । प्रहरीले तीन शीर्षकमा अनुसन्धान गरेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन नै अन्तिम होइन,’ अर्यालले भने, ‘अदालतमा कुन–कुन मुद्दा जान्छ । न्यायालयप्रति पार्टीको विश्वास छ । न्यायालयको निर्णय पर्खन्छौँ ।’

अर्यालले पार्टीमा कार्यवाहक नहुँदा कुनै समस्या नभएको बताए । ‘पार्टी सभापतिले कार्यवाहकको आवश्यकता जहिले देख्नुहुन्छ, त्यतिवेला नै कार्यवाहक पाउँछौ, यसमा कुनै समस्या छैन, आउँदो ३० वर्षपछि मात्र पार्टीमा सभापतिको लडाइँ होला, ३० वर्षसम्म होलाजस्तो लाग्दैन,’ उनले भने ।

सुझावित समाचार