छठमा स्वदेशी केराको खपत उच्च

शुक्रबार, २३ कार्तिक, २०८१
डिजिटल संस्करण

यस वर्षको छठ पर्वमा केराको खपत बढेपछि स्थानीय कृषक प्रसन्न भएका छन् । बिगतका आयातित केरामा निर्भर हुँदै आएको   बजार स्थानिय केराले पनि लिन थालेको सम्सी गाउँपालिका– ४, गैढा भेटपुरका माँ वैष्णोदेवी कृषि फार्मका सञ्चालक रामध्यान मण्डलले बताए ।

तीन वर्षदेखि तीन बिघा जमिनमा केरा खेती गर्दै आएका उनले एक सिजनमा दुइ सय ५० मेट्रिक टन केरा स्थानीय बजारमा पठाएका छन् । प्रतिबिघा पाँच लाख लगानी गएको केरा खेतीबाट एक सिजनमा करिब नौ लाख आम्दानी भएको उनले बताए । ‘केराले राम्रो आम्दानी दिन थालेपछि विस्तार गरी थप पाँच बिघामा झन्डै १० हजार बोट लगाएको छु,’ उनले भने, ‘सोही बोटले अर्को वर्ष उत्पादन दिन थाल्छ ।’

कृषि ज्ञान केन्द्रले समेत केरालगायतका अन्य फलफूल खेतीमा कृषकलाई सघाउन केही बजेटसमेत छुट्याइएको कृषि ज्ञानकेन्द्र महोत्तरीका निमित कार्यालय प्रमुख मनीष पालले बताए । यस क्षेत्रको जलवायुसमेत अनुकूल भएकाले केराखेती गर्ने कृषक हरेक वर्ष बढ्दै गएको उनको भनाइ छ ।

‘हामीले आफ्नै उत्पादनलाई प्राथमिकता दिनुपर्छ,’ पालले भने, ‘कृषकले उत्पादन गरेको केरालगायतका विभिन्न फलफूल तथा खाद्य सामग्री किनिदिए उनीहरूको हौसला बढ्ने र उत्पादनले बजार पनि पाउँछ ।’ जी–९ जातको केरा गुलियो र रोगमुक्त हुने भएकाले स्थानीयहरूले समेत नेपाली उत्पादन मन पराउन थालेको मण्डललको भनाइ छ ।

See More On

सुझावित समाचार