नेपाली आकाशमा थाई एयर एसियाको बलजफ्ती

अनुमति नभएको स्पष्ट हुँदाहुँदै पनि थाई एयर एसिया र उसको नेपालस्थित जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभल्सले करिब डेढ सय यात्रु बोकेको जहाज बैंककबाट जबर्जस्ती काठमाडौं ल्याए, विमान कम्पनीका सम्पूर्ण उडान र जिएसए निलम्बित

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

अनुमतिविना नै यात्रुसहितको जहाज प्रवेश गराएर थाई एयर एसियाले नेपाली आकाशमा बलजफ्ती गरेको छ । उडान सेड्युलको अनुमति नलिई जहाज नेपाल आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरेको छ । 

थाई एयर एसियाको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स कम्पनी हो । यो फ्लाई दुबई, इमिरेट्स र कोरियन एयरको पनि जिएसए हो ।  कोरियन एयरले त टिकेटमा लुट नै मच्चाएको छ । 

आइतबारदेखि सुरु भएको विन्टर सेड्युलमा थाई एयर एसियाले उडान अनुमति पाएको छैन । उसलाई दिइएको ‘समर सिजन’को उडान अनुमति म्याद शनिबार नै सकिएको थियो । विन्टर सिजनमा उडान अनुमति नपाएको थाहा हुँदाहुँदै पनि बलजफ्ती यात्रुसहितको जहाज प्रवेश गराएको हो । डेढ सयभन्दा बढी यात्रु बोकेको जहाज दिउँसो २ बजे नेपाली आकाशमा प्रवेश गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अवतरणका लागि अनुमति नभएको र डाइभर्ट गर्न भनेपछि जहाज आकाशमा करिब पौने घण्टा फन्को मारेको थियो । यात्रुको सुरक्षा र मानवीयताको पक्ष हेरेर अवतरणको अनुमति दिइएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

अर्को निर्णय नभएसम्मका लागि थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरेको भुलले बताए । नियमनकारी निकायबाट अनुमति नै नलिई जहाज नेपालका लागि उड्यो रे भन्ने सूचना पाउँदा आश्चर्यमा परेको उनको भनाइ छ । ‘यसमा यात्रुको दोष थिएन । वायुसेवा कम्पनी र नेपालस्थित जिएसए कम्पनीको दोष थियो,’ उनले भने, ‘यात्रुको बिचल्ली नहोस् भनेरै विशेष उडान भनेर अवतरण अनुमति दिएका हौँ ।’

यो घटनाबाट थाई एयर एसिया र युनिभर्सलले जानाजान नियम उल्लंघन गरेको देखिन्छ । ‘कतिसम्म भने स्वीकृति नभएको स्पष्ट हुँदाहुँदै पनि उनीहरू बैंककबाट उडिसकेपछि काठमाडौंमा स्वीकृति मिलाउन सकिन्छ भन्नेमा ढुक्क भएर आएको देखिन्छ,’ त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले भन्यो, ‘यो त जानाजान नियमको गम्भीर उल्लंघन हो ।’ थाई एयर एसियाले माफी मागेपछि क्यानले आइतबार नै जहाज फिर्ता गरिदिएको छ । काठमाडौंबाट यात्रु बोकेरै जहाज साँझ ७ बजेतिर बैंककतर्फ फर्किएको भुलले बताए । 

युनिभर्सल टुर्स एन्ड ट्राभल्स चार विदेशी वायुसेवा कम्पनीको नेपालका लागि जिएसए हो । यो कम्पनीले कोरियन एयर, इमिरेट्स, फ्लाई दुबई र एयर एसियाको फ्लाइट व्यवस्थापन गर्ने गर्छ । यसबाहेक कम्पनी युनिभर्सल यात्रा, श्रीलंकन एयरलाइन्स कार्गो, एसआर हाउजिङ, युनिभर्सल रेमिट्यान्स, ओएमए नेपाल, दी हिमालयन वाटरलगायत कम्पनीमा आबद्ध छ । 

भैरहवामा साताको चार उडान गर्ने आफ्नै प्रस्ताव थाई एयर एसियाले गरेको थिएन कार्यान्वयन
क्यानले थाई एयर एसियालाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा चार उडान गर्ने गरी काठमाडौंमा सातामा चार उडान गर्न स्वीकृति दिएको थियो । उसले प्रतिबद्धताबमोजिम २७ सेप्टेम्बरदेखि भैरहवामा उडान सुरु गर्नुपर्ने थियो । तर, भैरहवा उडान गर्न सेड्युल पेस नगरेपछि क्यानले काठमाडौं उडानको विन्टर सेड्युल स्वीकृत गरिदिएको थिएन ।

‘हामीले अक्टोबरदेखि भैरहवा उडान गर्छौँ भनेर प्रतिबद्धता जनाएकै कारण त्रिभुवन विमानस्थलमा उडान अनुमति दिएका थियौँ, तर भैरहवा उडान नगरेपछि काठमाडौंमा विन्टर सेड्युल अनुमति पाएको थिएन,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘विनाअनुमति जहाज नेपाली आकाशमा प्रवेश गराएर बलजफ्ती अवतरण गराउन खोजेपछि सम्पूर्ण फ्लाइट र जिएसए निलम्बन गरेका छौँ ।’ थाई एयर एसियाले सरकारकै निर्णयको धज्जी उडाउन खोजेको क्यानको बुझाइ छ । क्यानले थाई एयर एसियाको जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल्सलाई टिकट काट्न रोक लगाएको छ । भैरहवाबाट उडान नगरेसम्म काठमाडौंको तालिका स्वीकृत नगर्ने पक्षमा क्यान थियो । 

 एयर एसियाले यसअघि पनि गरेको थियो नेपालमा बदमासी,यसअघि २७ करोड नतिरेर भएको थियो बेपत्ता 
थाई एयर एसिया मलेसियन एयर एसिया ग्रुपको थाइल्यान्ड बेस्ड सिस्टर कम्पनी हो । यसअघि एयर एसियाले मलेसियाको क्वालालम्पुरबाट काठमाडौंमा उडान गर्ने गथ्र्यो । तर, ०६९ देखि ०७५ सम्म त्रिभुवन विमानस्थललाई बुझाउनुपर्ने साँवा–ब्याजसहित २७ करोड नबुझाई लामो समय बेपत्ता भएको थियो । पछि थाई एयर एसियामार्फत नेपाल उडान गर्न चाहेपछि पुरानो बक्यौता किस्ताबन्दीमा बुझाउने गरी क्यानले अनुमति दिएको थियो ।

एयर एसियाले फेरि पनि नेपालमा विवादास्पद काम दोहोर्‍याएको छ । त्यति ठुलो वायुसेवा कम्पनीले अनुमति नै नलिई प्रवेश गर्न खोज्नु ‘ब्लन्डर मिस्टेक’ भएको हवाईविज्ञ बताउँछन् । ‘एयर एसिया पहिला पनि विवादास्पद थियो, बक्यौता नबुझाई बेपत्ता भएको थियो । अब त सुध्रियो होला भनेको फेरि पुरानै प्रवृत्ति दोहोर्‍याएको छ,’ एक हवाईविज्ञले भने । युनिभर्सल टुर्स एन्ड ट्राभल्स चार विदेशी वायुसेवा कम्पनीको नेपालका लागि जिएसए हो । यो कम्पनीले कोरियन एयर, इमिरेट्स, फ्लाई दुबई र एयर एसियाको फ्लाइट व्यवस्थापन गर्ने गर्छ । यसबाहेक कम्पनी युनिभर्सल यात्रा, एसआर हाउजिङ, युनिभर्सल रेमिट्यान्स, ओएमए नेपाल, दी हिमालयन वाटरलगायत कम्पनीमा आबद्ध छ । 

टिकेटमा लुट मच्चाएको कोरियन एयरको नेपाल एजेन्ट पनि युनिभर्सल ट्राभल्स नै
९ कात्तिकमा नेपालबाट कोरिया जाने साधारण यात्रुहरूका लागि कोरियन एयरको सीधा उडानमा भाडा डेढ लाख रुपैयाँबाट सुरु छ । तर, सोही दिन अन्य एयरको उडानमा बैंकक, दिल्ली, चीनको ग्वाङझाओ, छेन्दु, बेइजिङलगायतमा ट्रान्जिट गरेर कोरिया जाँदा प्रतियात्रु एकतर्फी हवाई भाडा ७० हजार मात्र छ । सो दिनका लागि विभिन्न एयरलाइन्समा प्रतियात्रु ७० हजारदेखि एक लाखसम्म ट्रान्जिट टिकट फालाफाल भेटिन्छन् । 

उडान र अवतरणको अनुमति नै नलिई जहाज नेपाल ल्याउने थाई एयर एसिया र भाडामा लुट मच्चाउने कोरियन एयरको नेपाली जनरल सेल्स एजेन्ट (जिएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स नै हो । जसले कोरिया यात्रामा महँगो टिकट राखेर लुट मच्चाउँदै आएको छ । कोरिया–काठमाडौं उडानमा कोरियन एयरले एकाधिकारको फाइदा उठाउँदै यात्रुसँग महँगो भाडा असुल्दै आएको छ । सरकारले यसमा कुनै नियन्त्रण गर्न सकेको छैन ।

इपिएस र युनिभर्सल ट्राभलबिच भएको सम्झौताबमोजिम इपिएस प्रणालीबाट कोरिया जाने कामदारलाई सस्तो भाडामै उडाउन भनिए पनि कोरियन एयरले प्रतियात्रु एक लाख २० हजार रुपैयाँभन्दा बढी भाडा लिने गरेको छ । इपिएस शाखा र युनिभर्सल ट्राभलबिच भएको सम्झौताका कारण कामदारले अन्य वायुसेवाबाट टिकट काट्न पाउँदैनन् । जसले गर्दा यात्रुले दोब्बरभन्दा महँगो भाडा तिर्नु परिरहेको छ । जब कि लामो समय राखेर ट्रान्जिट टिकट बुकिङ गर्दा ५० हजारमै पनि कोरिया यात्रा गर्न पाइन्छ । तर, कामका लागि कोरिया जाँदा पहिलोपटक कोरियन एयरलाइन्सबाट अनिवार्य टिकट काट्नुपर्ने हुन्छ । अहिले नेपाल–कोरिया सीधा उडान पनि कोरियन एयरको मात्रै छ ।

सातामा चार दिन काठमाडौं उडान गर्दै आएको कोरियन एयरको एकाधिकार तोड्ने नेवानिले कोरियाको सियोल उडानका लागि प्रक्रिया अगाडि बढाएको थियो । तर, नेवानिलाई कोरिया उडानका लागि त्यहाँको भूमि, पूर्वाधार र यातायात मन्त्रालयले आनाकानी गर्दै आइरहेको छ ।

नेवानिले कोरियामा एकतर्फी ८० हजार रुपैयाँ भाडामा यात्रु उडाउन सक्ने बताउँदै आएको छ । ‘हामीले कोरिया उडानका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ, तर अझै अनुमति पाएका छैनौँ,’ नेवानिका एक कर्मचारीले भने, ‘हामी अनुमति पाएको अर्को दिन नै उडान गर्न सक्ने गरी तयारी अवस्थामा छौँ । एकतर्फी ८० हजार रुपैयाँमै यात्रु ओसार्न सक्छौँ ।’ कात्तिक पहिलो साता कोरिया जाने नेपाली कामदारले खुला बजारबाट हवाई टिकट खरिद गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत पाटनमा रिट दायरसमेत गरेका छन् ।

इपिएस र युनिभर्सल ट्राभलबिच भएको सम्झौता कार्यान्वयन नगराई कोरियन एयरलाइन्सको एकाधिकार तोड्नुपर्ने रिटमा माग छ । कोरिया जाने कामदार ले आफूखुसी ट्रान्जिट टिकट लिएर जान पाउनुपर्ने रिटमा उल्लेख छ । इपिएस र युनिभर्सल ट्राभलबिचको सम्झौताले कोरिया जाने यात्रुलाई महँगो भाडामा यात्रा गर्नुपर्ने बाध्यता छ । नेपाल र कोरियन सरकारबिच सन् २००१ मा दुईपक्षीय हवाई सेवा सम्झौता भएकोमा सन् २००४ मा त्यसको परिमार्जन गरिएको थियो ।

उक्त सम्झौतामा नेपाली र कोरियन वायुसेवा कम्पनीले सातामा चार–चारवटा उडान गर्ने उल्लेख छ । तर, सम्झौता उल्लंघन गर्दै कोरियन उड्डयन नियमन गर्ने निकायले नेपाली वायुसेवालाई उडान अनुमति दिन चाहिरहेको छैन । बरु, कोरियाले कहिले नेपालको सेफ्टी अडिट गर्नुपर्ने, कहिले नेवानिको अडिट गर्नुपर्ने, कहिले नियामक निकाय क्यानको अडिट गर्नुपर्ने भन्दै झुलाइरहेको छ । कोरियाले एयर सर्भिस एग्रिमेन्ट पालना नगरी एकाधिकार कायम गर्न खोजेको देखिन्छ । 

 क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुल भन्छन्– नियमनकारी निकायबाट अनुमति नै नलिई जहाज नेपालका लागि उड्यो रे भन्ने सूचना पाउँदा आश्चर्यमा परेका थियौँ । यसमा यात्रुको दोष थिएन । वायुसेवा कम्पनी र नेपालस्थित जिएसए कम्पनीको दोष थियो । यात्रुको बिचल्ली नहोस् भनेरै विशेष उडान भनेर अवतरण अनुमति दिएका हौँ । कारबाहीस्वरूप अर्को निर्णय नभएसम्मका लागि थाई एयर एसियाका सम्पूर्ण उडान र जिएसए इजाजत निलम्बन गरिएको छ ।

सुझावित समाचार